प्यूठान । गौमुखी गाउँपालिका वडा नं. ३ रजबाराका भविराम घर्तिमगरको घर रजबाराको दहबसेमा पर्छ । तर हरेक वर्षको फागुनदेखि मंसिर महिनासम्म घरदेखि टाढा रजबाराकै मेलवासमा बस्नुहुन्छ । १० महिना यहाँ बस्नुको एक मात्र उदेश्य हो, पशुपालन ।
उहाँको भेडीगोठमा एक सयको हाराहारीमा भेडाबाख्रा छन् । गोठबाटै विक्री हुने भएकाले ग्राहक खोज्न समेत बजार जानु नपर्ने उहाँको भनाई छ । अहिले विद्यालय बन्द भएपछि गोठमा नाति समेत बस्दै आएका छन् ।
भविराम मात्र होइन, उत्तरी प्यूठानको स्याउलिवाङ, अर्खा, रजबाराका स्थानीय घरभन्दा टाढा गोठ बनाएर पशुपालन गर्ने गर्छन् । स्थानीय भाषामा यस्तो गोठलाई `भेडिगोठ’ भनिन्छ । पुस-माघमा धेरै चिसो हुने भएकाले दुई महिना भने पशुचौपाया घर ल्याउने गर्छन् ।
घाँसको सहजताका लागि जंगल छेऊमा गोठ बनाएर पशुपालन गर्ने गरेको भविरामले बताउनुभयो । घरमा राख्दा बालीनाली खाईदिने भएकाले जंगल छेऊमा भेडा बाख्रा पाल्न सजिलो हुन्छ ।
यहाँका स्थानीयले पुस्तौदेखि भेडिगोठमा सयौंको संख्यामा भेडा, बाख्रा, खसिबोका, गाई, भैंसी पाल्ने गरेका छन् । कति परिवार पशुपालनमा आश्रित छन् भन्ने एकिन तथ्यांक नभएपनि यहाँका अधिकांस किसान पशुपालनका लागि भेडिगोठ राख्ने गरेका छन् । उनीहरुको जिविकोपार्जन मुख्य आय श्रोत नै, यहि पशुपालन हो ।
पशुपालनमा आधुनिकिकरणका चर्चा शहर बजारमा हुने गरे पनि ग्रामीण क्षेत्रका पशुपालक किसान परापुर्वकाल देखिनै यसरी पशुपालन गर्दै आएका छन् । जंगल छेऊको भेडिगोठको सुरक्षाका लागि कुकुर राख्ने गर्दछन् । कुकुरले जंगली जनावर(चितुवा लगायत)को आक्रमणबाट पशुचौपायालाई जोगाउने काम गर्छ ।

कृषि तथा पशुपालन क्षेत्रमा सरकारले विभिन्न सेवा सुविधाहरु दिने गरे पनि ग्रामीण क्षेत्रका पशुपालक किसानहरु त्यसबाट भने अहिलेसम्म बन्चित छन् । उनीहरुले अनुदानका सूचनाहरु समेत थाहा पाउँदैनन् । पशुपालनमा अनुदान पाईन्छ भन्ने नै थाहा छैन । पशु विरामी हुँदा यहाँका किसान अहिले पनि घरेलु उपचार मै निर्भर छन् ।
भेडिगोठ बनाई सयौंको संख्यामा पशुपालन गर्ने किसानलाई लक्षित गरि सेवा प्रदान गर्ने सरकारी योजना नै छैन । सरकारी अनुदानका कार्यक्रम पहुँचवालामा सिमित हुने गरेको उनीहरुको गुनासो छ । ग्रामीण क्षेत्रका किसान अनुदान कार्यक्रमबारे अनविज्ञ छन् ।
प्यूठानमा रहेका भेडिगोठहरुलाई व्यवस्थित गर्न सकेमा खसिबोकामा जिल्ला आत्मनिर्भर बन्ने सम्भावना छ । व्यवस्थित गोठहरु निर्माण, उन्नत जातका बाख्रा तथा विऊ बोका सहयोग, औषधि उपचारमा मात्र सहयोग पुगेमा जिल्लाबाट निर्यात समेत गर्न सकिन्छ ।

