प्यूठान । अन्नबालीमा मात्र सिमित हुँदै आएका प्यूठानको गौमुखी गाउँपालिकाका स्थानीयहरुले पछिल्लो समय घरघरमा कसेराबारी निर्माण गर्न थालेका छन् । करेसाबारीमा विभिन्न प्रकारका तरकारी र फलपूmल खेति शुरु गरेका हुन् । जसले तरकारीको जोहो त टरेको छ नै पोषणयुक्त र ताजा तरकारीका लागि समेत लाभदायी भएको छ । घरायसी दैनिकी खर्च टार्ने यो अभियान निर्वाहमुखीसँगै व्यवसायिक खेतीको रुपमा अघि बढाउने गाउँपालिकाले योजना बनाएको छ ।
मकैं, कोदो, धान, गहुँ जस्ता अन्नवालीको खेतिपातिमा व्यस्त हुने गौमुखी गाउँपालिका प्यूठानका स्थानीयहरु पछिल्लो समय करेसावारी निर्माण गरी तरकारी उत्पादनमा लागेका छन् । गाउँपालिकाले दिगो घरबारी बगैंचा कार्यक्रमका लागि सहभागी संस्थासँगको सहकार्यमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम संचालन गरेपछि यहाँका स्थानीय तरकारी र फलपूmल खेतीमा लागेका हुन् ।
दैनिक आवश्यक पर्ने तरकारीको जोहो पनि हुने, पोषणको दृष्टिकोणले समेत उत्कृष्ठ हुने भएकाले यसको महत्व बुझाउँदै करेसावारी निर्माणलाई अभियानको रुपमा अघि बढाइएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । ‘करेसावारीको उत्पादनले घरमा तरकारी जोहो र पोषण स्थितिमा सुधार ल्याउने अपेक्षा गरेका छौं ।’ ,उहाँले भन्नुभयो, ‘निर्वाहमुखी हुँदै व्यवसायिक बनाउन सकेमा यसले स्थानीयको आम्दानीमा समेत टेवा पुग्नेछ ।’
मौषमी तथा वेमौषमी तरकारी खेती हुन थालेपछि तरकारीको चिन्ता हटेको स्थानीय बताउँछन् । हिउँदको समयका लागि सिंकी, सुकासाग बनाएर राख्नुपर्ने, मौषमी तरकारी खोज्न जंगल जानुपर्ने बाध्यता करेसावारी बनेपछि हटेको थालेको गौमुखी गाउँपालिका–५ का स्थानीय ढालबहादुर मल्लले बताउनुभयो । कुनै समय अैंचो–पैंचोले तरकारीको छाक टार्ने गरेका यहाँका स्थानीयहरु अहिले तरकार विक्रिबाट आम्दानी समेत गर्न थालेको उहाँले बताउनुभयो ।
गाउँपालिकामा २०८१ असारदेखि दिगो घरबारी बगौंचा कार्यक्रम शुरु भई करेसाबारी निर्माण शुरु भएको हो । पहिलो वर्ष ३९८ घरधुरी र दोश्रो वर्ष ४४६ घरधुरीमा गरी हालसम्म ८४४ घरधुरीमा यो कार्यक्रम संचालनमा छ । अभियान अन्तरगत प्रत्यक घरमा कम्तिमा ५ प्रकारका तरकारी बाली, ५ प्रकारका फलपूmल बाली र डाँले घाँस खेति गरिएको कार्यक्रम संयोजक निशान खत्रीले बताउनुभयो । ‘कार्यक्रमबाट प्रत्येक घरधुरीमा सिजन अनुसारको विऊ विजन वितरण, प्राङ्गारिक मल उत्पादनका लागि आवश्यक सामाग्री र उत्पादन बारे प्रशिक्षण दिने गरेका छौं ।’ ,उहाँले भन्नुभयो, ‘मल बनाउने र खेति प्रणाली बारे तालिम पनि दिएका छौं ।’
प्रयाप्त पानी सुविधा नभएका घरधुरीमा समेत हातमुख धुने पानी, भाडा सफा गरेको पानीको प्रयोगले करेसाबारीमा तरकारी उत्पादन गर्न सकिने भएपछि स्थानीय दंग छन् । ‘एक घर, एक करेसाबारी’ अभियान प्रभावकारी र उपयोगी देखिएकोले यसलाई विस्तार गर्दै गाउँपालिकाका सबै घरधुरीमा पु¥याउने गाउँपालिकाले योजना बनाएको छ ।






