आर्थिक/बिकासराष्ट्रिय

झिमरुक जलविद्युत केन्द्रमा हरित हाइड्रोजन उत्पादन शुरु

प्यूठान । प्यूठानमा हरित हाइड्रोजन पलान्ट संचालनमा ल्याइएको छ । बुटवल पावर कम्पनी लिमिटेडले झिमरुक जलविद्युत केन्द्र दारिमचौरमा डाइड्रोजन उत्पादन शुरु गरेको हो ।
नवीकरणीय जलविद्युत ऊर्जाको प्रयोग गरी विद्युत अपघटन प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन शुरु गरिएको हो । १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा स्थापना गरिएको हरित हाइड्रोजन पलान्ट ५० किलोवाट क्षमताको रहेको छ । पलान्टको मंगलबार एक कार्यक्रमका वीच लुम्बिनी प्रदेश सांसद तुल्सीराम शर्माले उद्घाटन गर्नुभयो ।
विश्व बैंकको प्राविधिक सहयोग तथा संयुक्त अधिराज्य सरकार अन्तर्गतको विदेश, राष्ट्र‌मण्डल तथा विकास कार्यालय मार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा पलान्ट स्थापन गरिएको हो ।
हरित हाइड्रोजनलाई विश्वव्यापी रूपमा न्यून कार्बन ऊर्जा प्रणालीतर्फको संक्रमणमा महत्वपूर्ण ऊर्जा वाहकका रूपमा हेरिएको कम्पनीका प्रतिनिधि प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।
नवीकरणीय स्रोतबाट उत्पादित विजुली प्रयोग गरी पानीलाई विद्युत अपघटन प्रक्रियामार्फत विभाजन गरेर हरित हाइड्रोजन उत्पादन गरिन्छ । यसरी उत्पादन गरिएको हरित हाइड्रोजनले यातायात, उ‌द्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारण सहित प्रत्यक्ष विद्युतिकरण कठिन हुन सक्ने क्षेत्रहरूमा कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गरिएको छ ।
अल्कालाइन इलेक्ट्रोलाइजर प्रणाली जडान गरिएको छ यहाँबाट ९९ दशमलव ९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन हुन्छ । उत्पादित हाइड्रोजनलाई १५० बार प्रेसरमा कम्प्रेस गरि सिलिण्डरहरूमा भण्डारण गरिनेछ ।
चिनियाँ ठेकेदार कम्पनी सिपियु हाइड्रोजन पावर टेक्नोलोजी कर्पोरेसन लिमिटेडले निर्माण गरिएको यस पलान्टबाट गत चैत्र ३० गते पहिलो हाइड्रोजन सिलिन्डर भरेर सफलतापुर्बक परिक्षण गरिएको कम्पनीले जनाएको छ ।
यस पाइलट परियोजनाबाट हाइड्रोजन उत्पादन, सङ्कुचन, भण्डारण, सुरक्षा, सञ्चालन, प्राविधिक कार्यसम्पादन, आर्थिक व्यवहार्यता तथा नेपालमा सम्भावित प्रयोगका क्षेत्रहरू सम्बन्धी महत्वपूर्ण अनुभव तथा सिकाइ प्राप्त हुने अपेक्षा गरिएको छ।
प्रचुर जलविद्युत सम्भावना भएको नेपालले अतिरिक्त नवीकरणीय विद्युत हरित हाइड्रोजनमा रुपान्तरण गरी घरेलु उपयोग, औ‌द्योगिक प्रयोजन, यातायात, दीर्घकालीन ऊर्जा भण्डारण तथा सम्भावित क्षेत्रीय बजारका अवसरहरूमा उपयोग गर्न सक्ने सम्भावना रहेको छ । नेपाल सरकारले समेत हेटौँडामा २.५ मेगावाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाएको छ ।
यस पाइलट परियोजनाबाट प्राप्त अनुभव तथा सिकाइहरुले भविष्यमा परियोजनाको विस्तार, व्यवसायिक सम्भाव्यता, सुरक्षा मापदण्ड, नियामकीय व्यवस्था तथा नेपालको स्वच्छ ऊर्जा मिश्रणमा हाइड्रोजनको एकीकरण सम्बन्धी नीतिगत तथा व्यवसायिक निर्णयहरूमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
जलवि‌द्युत विकास तथा ऊर्जा नवप्रवर्तन क्षेत्रमा करिब छ दशकको अनुभव बोकेको बुटवल पावर कम्पनीले भरपर्दो, स्वच्छ तथा दूरदर्शी ऊर्जा समाधान मार्फत नेपालको दिगो ऊर्जा भविष्य निर्माणमा निरन्तर योगदान पुऱ्याउँदै आएको कम्पनीको दावी छ ।

Related Articles

Back to top button