स्थानीय सरकार

विद्यार्थीलाई कानुन बुझाउँदै उपप्रमुख वर्मा

प्यार अलि खान
प्यूठान । प्यूठान नगरपालिकाका उपप्रमुख तथा स्थानीय न्यायिक समिति संयोजक देवेन्द्र वर्माले विद्यालयस्तरमै कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिरहेको कानुनी शिक्षा अभियानलाई निरन्तरता दिदै आउनुभएको छ ।

अभियान अन्तर्गत उहाँले नगरभित्रका विभिन्न माध्यमिक विद्यालयमा पुगेर कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गर्दै कानुन सम्बन्धी प्रशिक्षण दिँदै आउनुभएको छ ।

यसैक्रममा मंगलबार बाल विद्या माध्यमिक विद्यालय, मरन्ठाना मजुवामा आयोजित कार्यक्रममा उपप्रमुख वर्माले विद्यार्थीलाई नेपालको संविधान, राज्यको संरचना, नागरिक अधिकार तथा कर्तव्य, स्थानीय न्यायिक समितिको भूमिका, बालअधिकार, लैङ्गिक समानता, साइबर अपराध, लागूऔषध दुव्र्यसन नियन्त्रण तथा सामाजिक अनुशासनसँग सम्बन्धित विषयमा प्रशिक्षण दिनुभयो ।

उहाँले कानुनलाई केवल अदालत, वकिल र सजायसँग मात्र जोडेर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक रहेको बताउँदै विद्यार्थी अवस्थादेखि नै कानुनी चेतना विकास हुनुपर्नेमा जोड दिनुभयो । ‘कानुन बुझ्नु भनेको डर सिर्जना गर्नु होइन, आफ्ना अधिकार, कर्तव्य र सामाजिक जिम्मेवारीबारे सचेत हुनु हो’ वर्माले भन्नुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार उपप्रमुख स्थानीय न्यायिक समितिको संयोजक हुने व्यवस्था छ । स्थानीय तहमा उत्पन्न हुने विभिन्न विवादको निरूपण तथा मेलमिलाप प्रक्रियाको नेतृत्व गर्ने जिम्मेवारीसमेत न्यायिक समितिमार्फत उपप्रमुखकै हुने भएकाले विद्यालयस्तरमै कानुनी चेतना विस्तार गर्ने अभियानलाई उहाँको जिम्मेवारीसँग जोडिएको व्यवहारिक पहलका रूपमा हेरिएको छ । कानुनी जानकारीको अभावमा उत्पन्न हुन सक्ने सामाजिक तथा कानुनी समस्यालाई न्यूनीकरण गर्न विद्यार्थी अवस्थादेखि नै सचेतना आवश्यक रहेको उहाँको जिकिर छ ।

कार्यक्रममा कानुनी विषयवस्तु विद्यार्थीमैत्री र सरल भाषामा प्रस्तुत गरिएको थियो । प्रत्यक्ष अन्तरक्रिया मार्फत विद्यार्थीहरूले दैनिक जीवनमा देखिने विवाद, सामाजिक सञ्जालको प्रयोग, हिंसा तथा दुर्व्यवहार, न्याय र अन्यायका विषयलाई कानुनी दृष्टिकोणबाट बुझ्ने अवसर पाएको विद्यालयका प्रधानाध्यापक केशु गिरीले बताउनुभयो ।

विद्यालयस्तरमै कानुनी सचेतन विस्तार गर्ने उपप्रमुख वर्माको अभियान समयसापेक्ष, व्यवहारिक र प्रभावकारी रहेको वडा नं ९ का वडा अध्यक्ष विकास केसीको भनाई छ । ‘विद्यार्थीलाई सानै उमेरदेखि कानुन, अधिकार र कर्तव्यबारे जानकारी दिन सके भविष्यमा जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण टेवा पुग्छ।’ उहाँले भन्नुभयो । स्थानीय न्यायिक समिति संयोजकको भूमिका अनुरूप विद्यालयमा पुगेर कानुनी शिक्षा दिनु सकारात्मक तथा अनुकरणीय अभ्यास भएको केसीले बताउनुभयो ।

विद्यालयमै पुगेर सञ्चालन गरिएको यस्तो कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञानसँग जोड्न मद्दत पुगेको सहभागीहरूको भनाई छ । स्थानीय तहबाट विद्यालयस्तरमै कानुनी शिक्षा र नागरिक सचेतना विस्तार गर्ने यो अभियानलाई उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ ।

नगरपालिकाले सञ्चालन गरेको यस अभियानले कानुनी रूपमा सचेत, जिम्मेवार र सामाजिक उत्तरदायित्वबोध भएका नागरिक निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

Related Articles

Back to top button