> विचार > आग्रह पुर्वाग्रह नराखी साझा सत्रु कोरोना विरुद्ध लडौं


आग्रह पुर्वाग्रह नराखी साझा सत्रु कोरोना विरुद्ध लडौं

तिलक जिसी
अध्यक्ष
झिमरुक गाउँपालिका, प्यूठान

हामी बजारबाट मात्रै निर्भर हुने अवस्था होइन । घरमा खानेकुरा सवैजसोकोमा छ । सामान्यतया औषधि उपचारमा परेको समस्यालाई प्रशासनसँग समन्वय गरेर अस्पताल पठाउने वातावरण मिलाएका छौं ।

१) सरकारले लक डाउनलाई थप कडाई गरेको छ ? त्यसका लागि झिमरुक गाउँसरकारले कसरी काम गर्दैछ ?
सरकारले शुरुमा लकडाउन घोषणा गर्दा आम जनताले त्यसको परिभाषा बुझ्न सकेनन । त्यसैले शुरुमा हामीले लकडाउन के हो ? किन यस्तो घोषणा भयो ? किन पालना गर्नुपर्छ भनेर बुझाउन हामीले कर्मचारी, शिक्षक, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, आमा समुह लगायत सवै सर्वसाधारणलाई हामीले जानकारी गरायौं । लकडाउनको बारेमा गाउँगाउँमा सूचना गर्ने काम गर्यौ । शुरु शुरुमा मानिसहरुले त्यसको त्यति वास्ता गरेनन् । प्रहरी प्रशासन, प्रचार प्रसार गरेर हामीले लकडाउन कार्यान्वयनलाई अघि बढायौ । कोरोनाबाट बच्ने उपाय नै लकडाउन रहेछ भनेर बुझेपछि अहिले सर्वसाधारणले पालना गरिरहेका छन् ।

२) लक डाउनकै कारण समस्यामा परेका ज्यालादारी श्रमिक, असहायको पहिचान र राहत वितरण के कसरी हुँदैछ ?
हामीले हाम्रा वडाका जनप्रतिनिधिलाई शुरुमै त्यस खालका ज्याला मजदुरी गर्ने कति हुनुहुन्छ भनेर त्यस्ता व्यक्ति पहिचान गरेर लगत लिन भन्यौ । उहाँहरुले त्यो तथ्यांक पनि ल्याउनुभयो । शुरुमा हामी गरीवी तिर प्रवेश गर्यौ । तर अहिले तुरुन्त राहत दिने भनेको विपन्न र असहायलाई हो, जसले खानै पाएका छैनन त्यस्ता मान्छेहरुका लागि दिने भनेपछि त्यसका लागि पालिका स्तरीय सर्वदलिय बैठक राख्यौं । कार्यविधि भित्र हामीले छलफल गर्यौ । वडाहरुमा पनि सर्वदलिय बैठक राखेर त्यस्ता मान्छेहरुको पहिचान गरी लगत ल्याउने निर्णय गरियो । अहिले त्यो लगत प्राप्त भएको छ । अब केहि प्याकेज बनाएर राहत वितरण गर्ने योजनामा छौं । अब छिट्टै बाँड्दै छौं ।

३) क्वारेन्टाइनको अवस्था के हो ? बाहिरबाट आएका कति हुन ? कति बसेका छन ? किन बस्न मानेनन ?
पहिले सरकारले होम क्वारेन्टाइनलाई नै प्राथमिकता दियो । त्यो स्वभाविकै पनि थियो, ठिक थियो । हामीले त्यसै अनुसार इण्डियाबाट आएका र विदेशबाट आएका मानिसहरुलाई १४ दिनसम्म गाउँमा , परिवारमा घुलमिल नगरी कोठामै शुद्ध तरिकाले बस्न आग्रह गर्यौ । धेरे जसो बस्नुभयो पनि । र अहिलेसम्म त्यस्तो खालको कुनै लक्षणहरु देखा परेको छैन । पछि इण्डियाको नाका बन्द भइसकेपछि आउने मान्छेहरुको हकमा हाम्रो झिमरुक गाउँपालिकामा आएका छैनन । हामीले ५ वटा बेडको क्वारेन्टाइन बनाएका थियौँ । अहिलेसम्म त्यो प्रयोगमा आएको छैन । भारत र तेस्रो मुलकबाट गरि झिमरुक गाउँपालिकामा १३६ जना व्यक्ति आएको तथ्यांक छ । उहाँहरु होम क्वारेन्टाइनमा बस्छौ भनेकाले हामीले बनाएकोमा नबस्नु भएको हो ।

४) अहिलेको महामारीमा जनताले स्थानीय सरकारको अनुभुती गर्न पाए त ? कसरी ।
अवश्य पाए । किनभने स्थानीय सरकार नजिक भएकाले सवैलाई सूचना दिने, रोगको बारेमा जानकारी गराउने, सचेत रहन आग्रह गर्ने काम गरिरहेको अवस्था भएको हुनाले उहाँहरुलाई त्यो अनुभुति हुनुपर्छ भन्ने लागेको छ ।
शहरको जस्तो समस्या यो गाउँमा होइन किनभने घरहरु पनि टाढाटाढा भएको अवस्था हो । जनसंख्या पनि कम भएको अवस्था हो । हाम्रो खेतिवारी भएको अवस्था हो । हामी बजारबाट मात्रै निर्भर हुने अवस्था होइन । घरमा खानेकुरा सवैजसो मान्छेकोमा छन् । त्यसो भएकाले त्यति अप्ठ्यारो महशुस स्थानीयलाई भएको छैन । सामान्यतया औषधि उपचारको समस्या परेको छ त्यसलाई हामीले प्रशासन सँग समन्वय गरेर अस्पताल पठाउने वातावरण मिलाएका छौं । खाद्यान्न अभाव भएको अवस्थामा खाद्य ढुवानीको व्यवस्था मिलाएका छौं । गाउँमा पनि मान्छेहरु सामान्य आफ्नो दिनचर्या गरेका छन् । गाइभैसीलाई घाँस काटेको छ, खेतिवारी गरेको छ । त्यति अप्ठ्यारो महशुस गरेका छैनन । हामीलाई पनि व्यवस्थापनका लागि त्यति समस्या परेको छैन ।

५) यो महामारी नियन्त्रणका लागि स्थानीय तहलाई के सहयोग आवश्यक छ ?
हामीलाई समस्या भनेको स्वास्थ्य उपकरण नै हो । स्वास्थ्यकर्मीको सुरक्षाका लागि सामाग्री हामीले धेरे ठाउँमा खोज्दा पनि सहज रुपमा पाएनौं । पछिल्लो दिनमा केहि सामानहरु पाएका छौं । जसले गर्दा स्वास्थ्यकर्मीले शुरुशुरुमा ज्वरो आएको, रुघा लागेको मान्छेलाई छुन पनि डराउने, ज्वरो नाप्न पनि डराउने जस्ता समस्याहरु पनि आए । त्यसकारण हामीले ती सुरक्षा सामाग्री खोज्न धेरे प्रयत्न गर्यौं । लामो समयसम्म पाएनौ । केहि सामाग्री हामीले उपलब्ध गराएका छौं ।
अन्त्यमा सवैलाई राजनीतिक आग्रह पुर्वाग्रह नराखी हाम्रो साझा सत्रु कोरोना विरुद्ध लड्न आग्रह गर्दछु । त्यसका लागि सवैले कर्तव्य पालना गर्नुपर्छ । अहिले के पनि चलन देखिएको छ भने राहतको नाममा , अन्य कामको बहानामा पानी धमिलो बनाएर माछा मार्न खोज्ने पनि देखिन्छ । त्यसैले देशको अर्थतन्त्रलाई बचाएर मितव्ययी तरिकाले काम गर्नु पर्छ । त्यसो गर्न सकियो भने हाम्रो देश लामो समयसम्म आर्थिक समस्यामा फस्न पाउँदैन । नत्र देश आर्थिक समस्यामा फस्छ ।

प्रस्तुती : बासुदेव गिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *