झिमरुक । प्युठानको झिमरुक गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
बिहिवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि पुर्णखोप सुनिश्चितता घोषणा कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो ।
झिमरुक गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको उत्कृष्ट कार्यको प्रसंशा गर्दै स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले यो अभियान सबैको भएकोले महाअभियानको रुपमा गाउँ गाउँ सम्म पुर्याउनुपर्ने बताउनुभयो ।
प्युठान जिल्लालाई २०७२ मा पुर्ण खोप जिल्ला घोषणा गरिएपनि गाउँ गाउँ सम्म आफ्ना नानिबाबुलाई खोप लगाउन अनिवार्य भएको कुरामा जागरुक गराउन सबै मिलेर अभियानकै रुपमा लैजानु पर्नेमा जोड दिनुभयो ।
‘अभियानको उदेश्य भनेको कुनैपनी नानिबाबु खोप लगाउनबाट नछुटुन भन्ने हो,’ उहाँले भन्नुभयो,’राज्यले एक बच्चालाई खोप लागाउन करिब ४० हजार खर्च गर्छ ।’ खोप संगै गाउँ आगनमै पुगेर सुत्केरी जाच गर्ने र सबै बच्चा अस्पतालमा जन्माउने अभियान समेत संगसंगै लैजान पहल थाल्नुपर्ने पाण्डेले बताउनुभयो । त्यसका लागी स्थानीय सरकारले बिद्यालय आमा समुहमा गएर स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम चलाउनुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री स्वास्थ्य क्षेत्रमा सुखद र उपलब्धि हासिल गर्न सबैको सहकार्य र मेहनतबाट सम्भव भएको बताउनुभयो । अब ल्याउने नीति र कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता दिएर अगाडि बढ्ने बताउनुभयो ।
झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले खोप कार्यक्रमलाई अझै राम्रो बनाउन सबैको एकमना एकताका साथ लाग्नुपर्ने बताउनुभयो । झिमरुकलाई जिल्ला हुँदै प्रदेश र देशभरको अब्बल र उत्कृष्ट बनाउन थप अभियान लैजानुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख बिकास केसीका अनुसार २३ महिना सम्मका बालबालिकाहरुलाई १२ वटा रोगको विरुद्ध गाउँपालिका भित्र रहेका २८ वटा खोप केन्द्र्बाट हरेक महिनाको २ देखि ६ गते सम्म स्वास्थ्यकर्मीबाट खोप लगाउने ब्यवस्था गरिएको छ ।
पुर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा सम्मान
गाउँपालिका पुर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा नियमित खोप कार्यक्रममा लामो समय देखि कार्यरत रहि योगदान गरेको भन्दै ४ जना स्वास्थ्यकर्मी लाई सम्मान गरेको छ । सम्मान हुनेमा तोरवाङ स्वास्थ्य चौकीका सिअहेब राम बहादुर केसी, सिअनमी बिमला पोख्रेल, बादिकोट स्वास्थ्य चौकीकी सिअनमी मुना एमसी र तुषारा स्वास्थ्य चौकिकी सिअनमी दुर्गा जिसीलाई सम्मान गरिएको छ ।
गाउँपालिका भित्रका सबै वडामा पुर्ण खोप सुनिश्चितता भएकोले जिल्ला खोप समन्वय समितिले झिमरुक गाउँ पालिकालाई पुर्णखोप पालिका घोषणा प्रसंशापत्र स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले गाउँपालिका अध्यक्षलाई प्रदान गर्नुभएको छ । त्यस्तै पालिका खोप समन्वय समितीले गाउँपालिका भित्रका ८ वटै वडालाई पुर्ण खोप सुनिश्चितता दिगोपना गरेको भन्दै वडा खोप घोषणा प्रमाणपत्र स्वास्थ्य चौकी प्रमुख र वडा अध्यक्षलाई संयुक्तरुपमा प्रदान गरिएको थियो ।
