> स्थानीय सरकार > हामीले गरेका प्रतिवद्धता धेरै सम्वोधन भएका छन् ।


हामीले गरेका प्रतिवद्धता धेरै सम्वोधन भएका छन् ।

नविल विक्रम शाह
अध्यक्ष
ऐरावती गाउँपालिका
प्युठान जिल्लाका ९ स्थानीय तह मध्येको एक गाउँपालिका हो ऐरावती गाउँपालिका। यस गाउँपालिकाको नाम माडि नदि र झिम्रुक नदीको संगम स्थलमा रहेको धार्मिक क्षेत्र ऐरावतीको नामबाट राखिएको हो। प्युठान जिल्लाको सदरमुकाम देखि पुर्व दक्षिण दिशामा पर्ने यो गाउँपालिकाको केन्द्र सम्म आइपुग्न करिव ३९ किलोमिटरको सडक यात्रा गर्नुपर्छ। साविकका ६ वटा गाउँ विकास समितिहरु बरौंला, पकला, दाङबाङ, धुवाङ, रस्पुरकोट तथा बिजुली लाई समेटेर बनाइएको यो गाउँपालिकामा ६ वार्डहरु रहेका छन। साविक धुवाङ गा वि स का वडा नं ७ र ८ तथा रस्पुरकोट गा वि सका ६,७,८ र ९ नं वडाहरु भने क्रमशः सरुमारानी र मल्लरानी गाउँपालिकामा समाहित भएका छन। पुर्वमा अर्घाखाँची जिल्ला पश्चिममा सरुमारानी र माण्डवी गाउँपालिका उत्तरमा मल्लरानी र माण्डवी गाउँपालिका र दक्षिणमा सरुमारानी र अर्घाखाँची पर्ने यो गाउँपालिकाको केन्द्र ऐरावती-२ ददेरीपाटामा  रहेको छ । ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट नविल विक्रम शाह अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँसँग गाउँपालिकाको विकास निर्माण लगायतका विषयमा गरिएको कुराकानीको सार संक्षेप ः

ऐरावती गाउँपालिकामा कस्ता योजना प्राथमिकतामा अगाडी बढेका छन् ?
शुरुदेखि नै हामीले स्वास्थ्य, शिक्षा र कृषिमा बढी प्राथमिकता दियौं । पहिलो वर्ष शु्रुवात गरेका बाटो सम्पन्न गर्ने, स्तरोन्नती गर्नेतिर लागिरहेका छौं । सम्पन्न नभएकालाई सम्पन्न गर्ने तर नयाँ ट्रयाक खोलेका छैनौं । कहिँ कतै कृषि सामाग्री ढुवानीका लागि अत्यावश्यक परेको ठाउँमा साना तिना बाटो खुलेका छन् । बाँकी हामीले शिक्षा, कृषि, स्वास्थ्यमा बढी केन्द्रित भएको अवस्था हो ।

 

पालिकामा कतिपय वडा दुर्गम पनि छन् ती क्षेत्रमा कसरी काम गर्नुभएको छ ?
ऐरावतीको दुर्गम वडा दाङवाङ हो । पहिले देखि नै हामीले सुन्दै आएका थियौं, जिल्लामा दाङवाङ, कोचिवाङ, स्याउलिवाङ हाम्रा दुर्गम गाविस हुन् । कम्तीमा दाङवाङलाई पालिकाको बरौला, धुवाङ क्षेत्र सरह गर्नका लागि हामीले एक तिहाई बढी बजेट विनियोजन गर्ने गरेका छौं । अहिले सवै वस्तीमा गाडीको पहुँच पुगेको छ ।

 

निर्वाचनका बेला तपाईले गर्नुभएका प्रतिवद्धता हालसम्म कति पुरा भए ?
हामीले घोषणा पत्रमा लेखेका कुरा सवै सम्पन्न नभइसकेपनि सम्वोधन सवै भएका छन् । ५० प्रतिशत भन्दा बढी सम्पन्न पनि भइसकेका छन् । गुणस्तरीय शिक्षाका लागि भवन मात्र बनाएर हुँदैन अभिभावकको भूमिका, शिक्षकको क्षमता विकास गर्ने काम हामीले गर्दै आएका छौं ।
हाम्रो कतिपय वस्तीमा ७ घण्टासम्म हिडेर सिटामोल लिनुपर्ने अवस्था थियो तर अहिले सामुदायिक स्वास्थ्य इकाईको अवधारणा ल्याएर १ डेढ घण्टाको दुरीमा झारेका छौं । पालिकामा ६ वटा स्वास्थ्य संस्था र ४ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिसकेका छौं । त्यसमध्ये ३ ठाउँमा आफ्नै भवन र एक ठाउँमा जग्गा प्राप्त भएको छ र भवन बनाउनका लागि बजेट विनियोजन गर्दैछौं ।
विद्यालयहरुमा पनि भौतिक पूर्वाधारको विकासका काम भइरहेका छन् । त्यो खालले योजना अगाडी बढाएका छौं । एकै पटक सवै चाहेर पनि गर्न नसकिदो रहेछ । हामीले गरेको काममा हामी सन्तुष्ट छौं ।

 

ऐरावती गाउँपालिकाले जलीय जैविक संरक्षण ऐन बनाएर स्थानीयलाई नदी संरक्षणको जिम्मा पनि दिनुभएको थियो । त्यसले कस्तो प्रभाव पारेको छ ?
हामीले जलीय जैविक विविधता संरक्षण ऐन बनाएका छौं । त्यसका लागि प्राविधिक सहयोग मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले गरेको छ । सामुदायीयक वन उपभोक्ता समिति जस्तै हामीले दुई वटा समुहलाई नदी संरक्षणको जिम्मा दिएका छौं ।
संरक्षण गर्न थालिएपछि लोप हुन थालेका जलीय जीवहरु देखिन थालेका छन् । माछा मारेरै आश्रीत घरहरु पनि थिए । पहिले २/३ किलो माछा मार्नेले अहिले आधा किलो पनि माछा मार्न नसकेको गुनासो पनि आउने गथ्र्यो । हाम्रो १ र २ वडामा त्यस्ता समुदाय हुनुहुन्छ । उहाँहरु अहिले हामीले गरेको संरक्षणको कामबाट पनि खुशी हुनुहुन्छ ।
हामीले अप्राकृतिक तरिकाले करेन्ट, विषादी, बमको प्रयोग नगरेपछि स्वतः संरक्षण हुदो रहेछ भनेर सवैले महशुस गर्नुभएको छ । हामीले नीति बनाएर जिम्मा दिएपछि समुदायबाटै संरक्षणको काम भएको छ । यसको रिजल्ट पनि राम्रै आउनेछ । अरु नदी खण्ड पनि हामी हस्तान्तरण गर्ने प्रक्रियामा छौं ।

 

गाउँपालिकामा भौतिक अवस्था र जनशक्तिको अवस्था कस्तो छ ?
पालिकाको भौतिक पूर्वाधार निर्माणका लागि स्थानीयले जग्गा दान गर्नभएको छ । कभर्ड हल, सभाहल, प्रशासनिक भवनका लागि आवश्यक जग्गा स्थानीयले दिनुभएको हो । कभर्ड हल र सभाहल निर्माण सम्पन्न भइ प्रयोग भइरहेको छ । प्रशासनिक भवनको पनि ग्राउण्ड फ्लोरको ढलान भएको छ । अर्को वर्षदेखि हामी त्यहा कार्यालय सञ्चालन गर्न सक्छौं । अहिले हामी भाडामा कार्यालय सञ्चालन गरिरहेका छौं ।
वडाको भवन ३, ४ र ५ को सम्पन्न भएको छ । ६ नम्वर वडाको लागि जग्गाको समस्या भयो । १ नम्वरको निर्माणको प्रक्रियामा छ । अरु वडामा भवन छन् । स्वास्थ्यको पनि ६ नम्वर वडामा बाहेक सवैमा भवन छ ।
कर्मचारीको अभाव अझै पनि छ । पालिका भित्रका ६ वटा स्वास्थ्य संस्थामा ५० प्रतिशत कर्मचारी हुनुहुन्थ्यो । त्यसबाट सेवा प्रवाह गर्न समस्या थियो । त्यसैले मन्त्रालयबाट पदपुर्तिका लागि अनुमति लिएर दुई महिना अघि स्वास्थ्यका कर्मचारी पुर्ति गरेका छौं । पालिका भित्रका विभिन्न शाखामा पनि पदपुर्ति हुन सकेको छैन । ६ नम्वर वडामा प्राविधिक सहायकले सचिवको काम गर्नुभएको छ । पहिले भन्दा सुधार छ तर दरबन्दी अनुसारको कर्मचारी छैन । जसले काम गर्दा असहज अवस्था हुने गरेको छ ।

 

स्थानीय तह सञ्चालन गर्दाको अनुभव कस्तो पाउनुभयो ?
स्रोत साधन सिमित र जनताको इच्छा आकांक्षा धेरै छन् । एउटा योजना पुरा भएपछि अर्को योजना चाहिन्छ । गाउँपालिकामा ठूलो चुनौती भनेको खानेपानीको छ । जिल्लामा खुल्ला दिशामुक्त घोषणा गरिएपनि खानेपानीको एकदमै अभाव छ । १/२ रुपियाँ प्रतिलिटर बोकेर पानी खाइरहेको अवस्था पनि छ ।
विजुली लिफ्ट खानेपानी योजना ठूलो योजना हो । त्यसको टेक्निकल समस्या भएर समाधानको प्रयास गरिरहेका छौं । वडा नम्वर ३ र ४ को तिल्केनी चुत्रेनीमा संघ मार्फत ठूलो योजना बन्दैछ । त्यसको पनि टेण्डर भइसकेको छ । पालिका र प्रदेश सरकारको म्याचिङमा दाङवाङ खानेपानी योजनाको काम भइरहेको छ ।
अन्य सतही खानेपानी योजना एक वर्ष सञ्चालन गर्‍यो । अर्को वर्ष मुल सुक्ने समस्या हुन्छ । त्यसलाई नियमित गर्ने कि नगर्ने भन्ने समस्या पनि देखा परेको छ । जसले गर्दा लिफ्ट सिस्टममा बढी केन्द्रित हुन परेको छ । यो पनि चुनौतीको रुपमा रहेको छ ।