प्यूठान, २५ पुस । प्यूठानको स्वर्गद्वारी नगरपालिका ६ बेल्बास प्यूठानमा सिचाइको सुबिधा नहुदा कृषकहरूको हजारौं रोपनी खेतीयोग्य जमिन उब्जनी बिहिन छ । मलिलो माटो र खेतिको लागि एकदम उपयुक्त भएको झण्डै १ हजार १ सय रोपनी खेतियोग्य जमीन खेतिपातीको लागि आकाशे पानीमै निर्भर रहनु पर्ने बाध्यात्मक परिस्थिति रहेको कुरा कृषकहरूको ठूलो चिन्ताको विषय छ ।
सिचाईको लागि प्रयास नभएको पनि होइन । बि.स.२०५६ सालमा गाउँका भद्र भलाद्मी , बुद्धिजीवी वर्ग , किसान लगाएतका नागरिकले सिचाइ गरेर बेल्वासलाई हराभरा बनाउने र कृषि क्षेत्रबाट बस्तीलाई आत्मनिर्भर बनाउने मनसायले सिचाईको योजना सुरू पनि गरे । गाउँका बुद्धिजीवी डिलाराम कालाथोकीको अध्यक्षतामा उपभोक्ता समितिको गठन गरेर योजनाको सुरूवात गाउँलेकै सक्रियतामा भयो ।
गाउँका नागरिकबाट रोपनीको हिसाबले आर्थिक संकलन गरि , स्वदेश तथा विदेशमा रहेका गाउँका नागरिकबाट चन्दा स्वरूप आर्थिक संकलन गरेर र तात्कालिन बेल्बास गा.बि.स.को कार्यालयबाट एक लाख असी हजार बजेट बिनियोजन गरेर गाउँदेखि करिब ८ किलोमीटर टाढा रहेको दगण खोलाको शिर नेवारेबाट गाउँसम्म कुलो निर्माण गरि सिचाई गर्ने योजना सुरू भएको उपभोक्ता समितिका अध्यक्ष डिलाराम कालाथोकीले बताउनुभयो। ६ लाखमा ठेक्का दिएर काम पनि सम्पन्न भयो गाउँसम्म कुलो अनि पानी पनि आयो । तर त्यसले दीर्घकालीन रूप लिन भने सकेन ।
वर्षैपिच्छे कुलो मर्मत गरि ३ वर्षसम्म त गाउँका आंशिक जग्गा पनि सिचाइ भए तर यसले निरन्तरता पाउन निकै कठिन भयो । कच्ची कुलोले गाउलेलाई सास्ती नै दिएको कालाथोकीले बताउनुभयो । त्यस पश्चात ठूलो बजेटको माग गर्नको लागि जिल्ला बिकास समिति प्यूठान पनि धाए बजेट पनि पर्यो अनि लाख त्यतिबेला डोलीडोर संस्थाले जिम्मा लिएर त्यही संस्थाले जिबिससङ्गको समन्वयमा सर्वे गरेपछि जिबिसको मातहतमा टेण्डरको आह्वान भएको कालाथोकीले बताउनुभयो ।
रोल्पा सिर्पका जनक खड्काले ६९ लाख ६० हजार ४ सय ३५ रुपैयाँमा टेण्डर पारेर कुलोको काम गर्दा आएको सानो पानी पनि गाउँमा आउन छोड्यो । गाउलेको परिश्रमाबाट निर्माण गरिएको कच्ची कुलोमा पक्की कुलो बनाउने भनेर करिब १ किलोमीटर कुलो पक्की भयो तर त्यसमा परेका गुणस्तरहिन मालसामानले गर्दा पानी पक्कीभर पनि नआएर त्यही सोसेर हराएको कालाथोकीले बताउनुभयो ।
उपभोक्ता समितिलाई रेखदेख गर्न दिईएता पनि योजनामा सहकार्य गर्न नदिएपछि समस्या निम्तिएको समितिले जनाएको छ । अहिले २५ लाखको निर्माण संरचनाको त नाम निसाननै छैन भन्दै कालाथोकीले बाकी अरू बजेटले निर्माण गरेको केही संरचनाको अवशेष रहेको कालाथोकीको जिकिर छ ।
यसरी जनश्रमदान सहित करिब ८ लाखमा गाउँसम्म पानी ल्याउन सफल भएका गाउलेहरू थप झण्डै ७० लाख बजेटले त्यही कुलो पनि मास्सिएर अहिले गाउँ आकाशे पानीमा निर्भर छ ।
हजारौं रोपनी खेतीयोग्य जमिनमा सिचाईको अभाव हुँदा चिन्तित बनेका किसानहरूलाई धेरै राजनीति दल तथा राजनीति कर्मीहरूले सिचाइको सुबिधा बनाईदिने आश्वासन दिए तर वर्षौं देखि समस्या उस्तै छ । चुनावी एजेन्डा बनाउदै चुनाव जित्ने र फर्केर नहेर्ने समस्याले नागरिक आजित छन । अहिले स्थानीय तहका सरकारले यो योजनाको डिपिआर गरि स्थानीय सरकारको पहुँचले नभ्याउने भन्दै केन्द्रसम्म फाइल पठाईदिएको भन्दै डिलारामले केही आशा पलाएको बताउनुभयो । उहाँले भने संघीयता आएर स्थानीय सरकार बनेपछि पनि पटकपटक यो योजनाको माग राख्दा स्थानीय सरकारको बजेटले नभ्याउने भनेर स्थानीय सरकारले ध्यान दिन नसकेको होकी भन्ने कालाथोकीको बुझाई छ । अहिले यो योजनाको फाइल केन्द्रसम्म पुगेको छ ।
फेरि यो चुनावी एजेन्डा मात्र नबनोस गाउँमा सिचाईको सुबिधा हओस भन्ने आम कृषकहरूको ठूलो इच्छा छ । यदि बेल्बासमा सिचाईको सुबिधा हुन सकेपछि निकै ठूलो सम्भावना हुने बताउदै डिलारामले यहाँको खेतियोग्य जमिनको उचित सदुपयोग हुने र कृषकहरू आत्मनिर्भर बन्न सक्ने कालाथोकीले बताउनुभयो । अहिले हजारौं रोपनी जग्गामा वर्षाको समयमा राम्रो मकै खेती हुने तर हिउँदमा केही लाभ लिन नसकेको किसानहरूको चिन्ता छ ।
