> आर्थिक/बिकास > भारतको मजदुरी छाडेर आफ्नै गाउँमा तरकारी फलाउँदै


भारतको मजदुरी छाडेर आफ्नै गाउँमा तरकारी फलाउँदै

जुमानसिंह केसी
प्यूठान, २९ जेठ । गौमुखी गाउँपालिका–४ का हेरम बहादुर खत्रीलाई १८ वर्ष भारतमा मजदुरी गर्न जाँदा परिवार र समाजबाट टाढा बनायो ।

रोजगारीका लागि भारतमा जानुपर्दा आफू परिवारबाट मात्र होइन गाउँ समाजबाटै टाढिएको महशुस खत्रीले गर्नुभयो । तरपनि ४५ वर्षको उमेरसम्म उहाँले भारतमै मजदुरी गरिरहनुभयो ।

घरपरिवारसँगै बसेर गाउँमै आयआर्जनको बाटो रोज्ने क्रममा उहाँको नजर तरकारी खेती तर्फ गयो । तरकारी खेती शुरु गर्दा सकारात्मक भन्दा नकारात्मक टिप्पणी उहाँले धेरैबाट सुन्नुप¥यो । ‘शुरुशुरुमा कोहि कतैबाट हौसला आएन,’ उहाँले भन्नुभयो, ‘बरु उल्टै नकारात्मक टिकाटिप्पणी सुन्नु प¥यो ।’

व्यावसायिक कृषि खेतीलाई आम्दानीको स्रोत बनाउने खत्रीको योजनालाई नकारात्मक टिप्पणीले असर गरेन । बरु उल्टै सफल बनाउन सघायो र अहिले उहाँले सञ्चालन गरेको कृषि फर्म ६ वर्ष पुगिसकेको छ ।

२०७२ सालमा पुँजाको लामाबारीमा शुरु गरेको हेरम कृषि फर्मबाट उहाँले मौसमी तथा बेमौसमी रुपमा नियमित टमाटर, काक्रा, खुर्सानी लगायत विभिन्न तरकारी उत्पादन गर्दै आइरहनुभएको छ ।

‘आफ्नै बारीमा खेती गरेको छु’ उहाँले भन्नुभयो, ‘५० हजार लगानीबाट व्यवसाय शुरु गरेको हो ।’ सधै भरि अर्काको देशमा मजदुरी गर्न नसकिने अनुभव खत्री सँग छ । ५१ वर्ष उमेर पुगिसक्नुभएका खत्रीलाई गाउँघरमै सञ्चालन गरेको कृषि फर्मले परिवार र गाउँसमाजमा ल्याएको छ भने आयआर्जनको बाटो समेत दिलाएको छ ।

फोटो : जुमानसिंह के सी

व्यवसाय सञ्चालनका लागि खत्रीलाई परिवारको सहयोग छ । कृषि फार्मको आम्दानीले घरखर्च धान्न र छोराछोरीलाई उच्च तथा प्राविधिक शिक्षा पढाउन सहज भएको उहाँको भनाई छ । चार जनाको परिवार कृषि फर्मबाट चलेको उहाँले बताउनुभयो ।

उत्पादन गरेको तरकारी गाउँमा विक्री हुन्छ । त्यससँगै ठुलाबेसी, बाग्दुला बजारमा पु¥याउने गर्नुहुन्छ । यस पटक भने असिना पानीले गर्दा टमाटर लगायत अन्य तरकारीमा क्षति पुगेको छ ।

खत्रीलाई गौमुखी गाँउपालिकाले सिँचाईको लागि २०७४ सालमा २० हजार रुपियाँ र वडा कार्यालयले एउटा टनेल सहयोग गरेको थियो । फार्ममा अहिले ३ वटा टनेल छन् । किसान–२ परियोजनाले समेत प्राविधिक ज्ञान प्रदान गरेको उहाँले बताउनुभयो ।

खत्रीलाई अझै पनि व्यवसाय राम्रो बनाउनका लागि सिँचाई पोखरीको आवश्यकता छ । ‘सिँचाई पोखरी भए सजिलो हुने थियो,’ उहाँले भन्नुभयो, ‘पानीको समस्या छ ।’ त्यसको साथै थप कृषि तालिम समेत आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

फोटो: जुमानसिंह के सी

हाल फर्ममा टमाटर सात सय बोट, खुर्सानी पाँच सय बोट काक्रा तीन सय बोट, भाण्टा चार सय बोट, सिम्लामिर्च दुई सय बोट र काउली नौ सय बोट छन् । ‘व्यापारका लागि बजार पनि ठिकै छ,’ उहाँले भन्नुभयो, ‘दुई वटा टनेल थप्ने साँेच बनाएको छु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *