प्यूठान । सरुमारानी गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम सार्वजनिक सुनुवाई गरेको छ ।
शुक्रबार सरुमारानी गाउँपालिका वडा नं. ४ स्थित सभाहलमा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत सरोकारवालाबीच चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरि सार्वजनिक गरिएको हो ।
सार्वजनिक सुनुवाईमा गाउँपालिकाका विभिन्न गतिविधिमा विभिन्न सवाल उठेका छन् । सार्वजनिक सुनुवाई गर्नुअघि संकलन गरिएको बर्हिगमन अभिमत, नागरिक प्रतिवेदन पत्र, प्रत्यक्ष रुपमा कार्यक्रममा सहभागी भएका राजनीतिक दलबाट विभिन्न सवाल उठेको हो ।
यस्ता छन् सवाल
गाउँपालिकाको बेरुजु रकम शुन्यमा झार्नुपर्ने ।
कृषि अनुदान तथा लक्षित वर्गको कार्यक्रम प्रभावकारी बनाउनुपर्ने ।
गुणस्तरीय सडक निर्माण गर्नुपर्ने
सडक, सिंचाई, खानेपानीका अधुरा आयोजना पुरा गर्नुपर्ने ।
सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउनुपर्ने
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले स्पष्ट पार्दै गाउँपालिकाले समग्र सरुमारानीको समृद्धिका लागि काम गर्दै आएको बताउनुभयो । उहाँले कतिपय विकास योजना निर्माण पुरा भएको र कतिपय योजना पुरा हुने क्रममा रहेको जानकारी गराउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले प्रगति प्रतिवेदनमा तथा उठेका जिज्ञासाको जवाफ दिँदै गाउँपालिकाको ८ करोड बेरुजु मध्ये ७ करोड बेरुजु फछ्र्यौट भइसकेको बताउनुभयो । उहाँले बाँकी रह्को १ करोड बेरुजुलाई क्रमश फछ्यौट गर्ने क्रममा रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष बसन्त बहादुर जिसीले गाउँपालिका तथा वडा पालिका सँग सम्वन्धित विषयमा तत्कालै सुझाव दिने वानीको विकास हुनुपर्ने बताउनुभयो । जसले कार्यसम्पादन गर्न सहज हुने उहाँको भनाई छ । सार्वजनिक सुनुवाई, समिक्षामा मात्र प्रस्तुत गर्दा ढिला पनि भएको हुनसक्ने भएकाले तत्कालै सल्लाह सुझाव दिन सकिने उहाँको भनाई छ ।