> साहित्य सृजना > लकडाउन डायरी : मैले यहीँ समयमा थुप्रै कविता, गजल र मुक्तक पनि रचना गरें


लकडाउन डायरी : मैले यहीँ समयमा थुप्रै कविता, गजल र मुक्तक पनि रचना गरें

स्नातक तेस्रो वर्षको फाइनल परिक्षा नजिकि सकेको थियो । कोर्स अझै सकिएको थिएन्, त्यसले हामीले एक्सट्रा क्लासको व्यवस्था गर्नको लागि डिपार्टमेन्ट प्रमुख सरलाई पत्र पठाएका थियौं । सरले पनि केहि दिनमा सबै प्रवन्ध मिलाउने कुरा जनाउनु भएको थियो । हामी परीक्षा कै तयारीमा थियौं ।

यसैबीच कोभिड-१९ अर्थात कोरोना भाइरस सुरू भो चाइनामा । म जान्ने भएदेखी कुनै पनि यस्ता भाइसहरुको हल्ला सुनिएको थिएन् नेपालमा, त्यसैले हामीले यसलाई मजाक कै रुपमा लिएका थियौं । तर समय बित्दै गयो, भाइरस लाग्ने मात्र होइन । लागेर मर्नेहरूको समाचार बाहिरिएसँगै अन्य देशमा पनि फैलिएर यसले पारेको प्रभावका समाचारहरू पनि आउन थाले । छिमेकी राष्ट्र भारतमै पनि संक्रमितको संख्या ह्वात्तै बढ्यो । हिजो-अस्ति सम्म मजाक गर्दै हासोको विषयवस्तु बनाएको कोरोनलाई मेरा साथिहरू पनि सिरियसली लिन थाले, अनि स्वयम म पनि ।

हामी यति सम्म सिरियसली लिन थालेछौं कि!! हाम्रो मनमा अनेकौ डर पैदा हुन थाल्यो । यसै त कोरोनाको डर अझ सरकारले गरेको “लगडाउन”को कुराले झन डर पैदा गर्यो । सरकारको निर्णय मनासिब थियो । तर हामी बाहिरबाट आएर काठमाडौंमा बस्नेहरूको लागि खान बस्न समस्या हुने ठानेर प्यूठान फर्किएँ ।

लामो समयदेखि अध्ययन र अन्य कामको बहानामा घरभन्दा बाहिर नै बितेका थिए दिनहरू । चाडपर्वको बेला घर आएपनि फर्कन उस्तै हतार हुने । धन्न इन्टरनेट छ, नत्र त गाउँमा भएका नयाँ गतिविधि सँग बेखबर हुुनुपर्थ्यो ।

अहिले गाउँघरमा गहुँ भित्र्याउने, मकै छर्ने काम चलिरहेको छ । म पनि यीनै काममा परिवारलाई सघाउँछु ।यो परिस्थितिले हामीलाई एउटा सुनौलो मौका पनि दिएको छ । आफ्नो समय सिर्जनात्मक काममा खर्चने र आफूलाई सिर्जनशील बनाउने । म पनि यसलाई सकारात्मक तरिकाले उपयोग गर्दै छु । मैले यहीँ समयमा थुप्रै कविता, गजल र मुक्तक पनि रचना गरें । यसको बारेमा थप अध्ययन गर्ने मौका मिलेको छ । त्यसैले अझै सरल भएको छ । बेला-बेला अनलाइन प्रतियोगिता पनि हुन्छ । जसमा सक्दो सहभागी हुन्छु । थुप्रै साहित्यिक संस्था तथा मिडियाले लाइभ प्रोग्राम चलाउँछन् । जसमा सुनेर, हेरेर दिन बिताउछु ।

यसबाहेक आफ्नो कोर्स बुकहरू पढ्ने त छदैछ । बाकी समय चलचित्र हेरेर बित्छ । बिहानैदेखि कलेज, बाकी समय कलेजकै जब, अनलाइन यस्तै कुरामा प्रायः व्यस्त हुने हुनाले आफन्त र साथिहरूसँग दुरी बढ्दै गएको थयो । कतिपय त तिमीले भुल्यौ भनेर रिसाउनु पनि हुन्थ्यो । तर अहिले डकडाउनेले सबैसँग बोल्ने मौका दिएको छ । आफन्त र साथिहरुसँग कुराकानी गरेर सम्बन्ध सुमधुर बनाउन पाइएको छ । वास्तवमा कोरोनाले हामीलाई एउटा राम्रो लेसन पनि दिएको छ ।

प्रकोपले कुनै पनि आधारमा कसैलाई पनि विभेद गर्दैन; जात,धर्म,वर्ण,धन वा बल । त्यसैले सक्षम भनिनेले असक्षमलाई हेप्ने-चेप्ने होइन् । सबैमा समता भावको बिकास हुने संकेत पनि देखिन्छ । तर यसैबिच माक्स, चामल, नून, तेल लुकाउने जनप्रतिनिधि र राजनीतिक पार्टीको कर्तुतका समाचारहरूले फेरी मानिसको तुच्छताको सिमा छर्लङ्ग पार्छ । यस्तो महामारीको बेलामा पनि मित्र राष्ट्र भनिने भारतले नेपाली भुमीमा गरेको सडक निर्माण र चाइनाले ट्विटर मार्फत सार्वजनिक गरेको सगरमाथा सम्बन्धि समाचारले अझै मन दुखाउँछ ।

आफ्नो भूमी र हाम्रा गौरवका विषयहरूमा बिदेशीले हस्तक्षेप गरिरहदा, सरकार आन्तरिक भागबन्डामै ब्यस्त छ । कस्ले पो हेरोस् सिमाना, सगरमाथा र लिपुलेक !! यतिबेला विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रत्यक्ष प्रभाव नेपालमा पनि फैलिन थालेको छ । आज लकडाउको पचासौं दिन, संक्रमितको संख्या २०८ पुगेको छ भने निको हुनेको संख्या ३३ पुगेको छ । अहिले सम्म कोरोनाको कारणले देशमा कसैको मृत्यु नभए पनि, रोजगारी तथा अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा रहेका नेपालीको मृत्युको खवरले अत्यन्तै स्तब्ध तुल्याउँछ । मलाई “लकडाउन डायरी” लेख्ने अनुमति थियो । तर लेख्दा-लेख्दै अलिक बढि नै लेख्न भ्याए छु । तसर्थ सम्पादक ज्यु समक्ष क्षमा माग्दै, पुनः सबैको स्वस्थ अनि सिर्जनात्मक कार्यमा व्यस्त जीवनको कामना गर्दै, यी शब्द रफ्तार यहीँ बन्द गर्छु । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!