> साहित्य सृजना > कथा : हेल्लो प्रनिल !


कथा : हेल्लो प्रनिल !

सुजल श्रेष्ठ
मैले हेल्लो लेख्ना बित्तिकै ऊ अफलाईन भयो । कस्तो संयोग धेरैपछि अनलाईनमा भेटिएको थियो तर हाईपनि नभनी अफ लाईन भयो । म प्रायजसो अनलाईनमै हुन्छु । दिनभर अफिस टाईम र साँझ विहान पनि फेसबुकमा अपडेट भइरहन्छु । उसले मेरो म्यासेज देखेर अफलाईन भएको हो वा यस्तै संयोग परेको हो (सीन लेखिएको थियो) म मनमनै सोंच्न थाले ।
……
प्रनिल हो उसको नाम । उसलाई मैले चिनेपनि भेटाउने माध्यम भनेको फेसबुक हो । जब पहिलो पटक उसलाई मैले टियुमा देखेको थिए त्यतिवेलादेखि नै ऊ मलाई मन परेको हो । एकतर्फी रुपमा मैले उसलाई आफ्नो बनाईसकेको थिए । साथीहरुसँग कक्षामा बस्दा, घुम्दा म जतिवेला पनि उसलाई केयर गरिरहेको हुन्थे तर उसले थाहा नपाउने गरि । उसको मुहार मेरो आँखामा बसिसकेको थियो तर थाहा थिएन उसको नाम । त्यो नाम थाहा पाउन मैले अझ बढी चासो दिए ।
सेमेस्टर शुरु हुनुभन्दाको हामी अघिल्लो ब्याज हौं मास्टर डिग्रीका त्यो पनि सोसोलोजी डिपार्टको । सवैभन्दा धेरै विद्यार्थी भर्ना हुने र सवैभन्दा थोरै विद्यार्थी सहभागी हुने डिपार्ट नै सोसोलोजी हो भनेर लेक्चरहरुले व्यंग्य हान्ने गर्नुहुन्थ्यो । त्यही भिडमा म पनि थिए । सोसोलोजी डिपार्टका केही साथीहरुले क्लासका सवै साथीहरुको नाम, नम्वर र इमेल आईडी संकलन गर्न थाले की एउटा फेसबुक पेज बनाउने र साथीहरुलाई आवश्यक डकुमेन्ट सहजै पठाउनका लागि । केही साथीहरुको सक्रियतामा त्यो काम गरिएको थियो । त्यो काम मेरो लागि भने मैले मन पराउने केटाको नाम पत्ता लगाउन काम आयो ।
सवैले नाम, नम्वर र इमेल आईडी लेख्दै गए । म भन्दा अगाडी पाँच नम्वरमा ऊ उभिएको थियो । उसले आफ्नो डिटेल लेख्यो । त्यो लेखिरहँदा म मा भने छटपटी बढीरहेको थियो उसको नाम के होला भनेर ? विस्तारै मेरो पालो आयो । मेलै आफ्नो डिटेल लेख्न भन्दा उसले डिटेल दिमागमा टिप्न थाले । त्यसको लागि केहिवेर ढिला भएपछि साथीहरुले मलाई छिटो गर न भन्दै गाली गर्दै थिए । मैले उसको डिटेल दिमागमा टिपे र आफ्नो डिटेल भरे ।
प्रनिल शर्मा उसको नाम । मैले साँझ किर्तिपुर कोठामा गएर फेसबुकमा उसको नाम सर्च गरे तर अह भेटिएन । उसको मेल आइडीबाट सर्च गरे र पनि भेटिएन । एचबलष्,ि एबचलष्,ि भतअ‘ थुपै्र पटक प्रयास गर्दा पनि ऊ फेसबुकमा भेटिएन । र सर्च गर्न छोडिदिए बरु गित सुन्दै सुते एकै नजरमा मायाँ बस्यो है…. लुकीछिपी हेरिदिनाले…..
कलेज नियमित चलिरहेको थियो । क्लासमा ऊ सवैभन्दा राम्रो विद्यार्थी देख्दामा पनि पढाईमा पनि । ऊसँग बस्नका लागि धेरैले नजानिदो पाराले प्रयास गरेका हुन्थे । म भने उसको अपोजिट बस्ने प्रयास गर्थे किनभने उसलाई जतिबेला पनि हेर्न सकियोस् । मेरो चाहना ऊप्रति दिनप्रतिदिन बढ्दै गइरहेको थियो । तर उसको चाहना के थियो थाहा भएन ।
मंसिरदेखि शुरु भएको क्लास करिव एक महिनापछि जाडो विदाका लागि बन्द हुने सूचना डिपार्टमा टाँसिएको थियो । त्यो देखेर अरु साथीहरु धेरै खुसी भए । घर जाने, घुम्न जाने लगायतका आ आफ्ना योजना बनाउदै सुनाउँदै थिए । तर म भने छुट्टी भएकोमा खुशी नभएर उल्टो दुःखी भएको थिए । अब प्रनिलसँग भेट नहुने भयो । मलाई बानी परिसकेको थियो की उसलाई हेरेर मात्र मेरो मनले शान्ति पाउँथ्यो । म उसलाई केहिबेर हेरौं भनेर नै कोठाबाट छिटो कलेज पुग्ने गर्थे तर ऊ भने सधै आफ्नै टाईमा आउथ्यो । म ऊ आउने बाटो हेरेर बसिरहन्थे ।
कलेट विदा भयो १५ दिनका लागि । मलाई पनि घरबाट बोलाउनुभयो । म घर गए । घरमा बुवा, आमा, दाजु हुनुहुन्थ्यो । घरपरिवार, आफन्त र साथीहरुसँग रमाईलो गरेपनि मनभित्र भने प्रनिलकै कुरा खेलिरहन्थ्यो । कहाँ होला उसको घर ? के गर्दै होला ? कहिलेकाहीँ त टोलाउने गर्थे जसलाई साथीहरुले जिस्काउने बाहाना पनि बनाउथे ।
मैले घरमा गएर पनि उसलाई खोज्न धेरै प्रयास गरे तर फेसबुकमा प्रनिल शर्मा नाम गरेका थुप्रै भेटिए पनि उसको अनुहार भएको मान्छे भेटिएन । म सँग उसको मोवाईल नम्वर पनि थियो तर कसरी फोन गर्ने ? के भन्ने ? आफै भित्र डराएको पनि छु । आँट गरेर फोन गरे । उसले भन्यो, हेल्लो ! म एकछिन चुप बसे । फेरी बोल्यो हेल्लो को बोल्नुभएको ? मैले यतिबेला हिम्मत जुटाएर भने म तिम्रो साथी रमा । उसले बोलिहाल्यो रमा ? रमा नाम गरेको मेरो साथी त छैन त ! मैले उसलाई मेरो डिटेल दिए । उसले बल्ल भन्यो, ए, कसरी मेरो नम्वर पायौ त ? मैले भने, चाहना भयो भने जे पनि गर्न सकिन्छ रे ! उसले हाँस्दै भन्यो, ए । अनि मैले उसको फेसबुक आईडी पाए । भन्दै थियो, खासै म फेसबुकमा अपडेट हुँदिन । मैले भने, अब अपडेट हुनु ल ।
कलेज विदा सकियो । म फेरी काठमाण्डौ फर्किए । रातभरीको नाइट बसको यात्राले गर्दा जिउ भारी भएको थियो तर कतिबेला कलेज पुगौं र प्रनिललाई भेटौ भन्ने मनमा भइरहेको थियो । छिटोछिटो तयार भएर म पुरानै समयमा कलेज पुगें । उस्तै पाराले प्रनिल आउने बाटो कुरेर बसेको थिए । म धेरै खुशी थिए अब त उसले पनि चिन्छ । सँगै बस्न पाइन्छ । कुरा गर्न पाइन्छ भनेर सोंचेर बसिरहेको थिए । तर प्रनिल कलेज आएन । आउला भनेर म क्लासमा गए ।
पहिलो क्लास सकियो । २ घण्टा लामो क्लास सकिँदासम्म ऊ आएन । मनमा धेरै कुराहरु आए । ऊ आज नआएको होला भन्ने लाग्यो । अर्को दिन पनि ऊ आएन । त्यो दिन पक्कै आउँछ भनेर मैले विश्वास लिएको थिए । तर अव मलाई आफैलाई विश्वास लाग्न छोडिसकेको थियो । म भित्र भित्रै जलिरहेको थिए । तर आफ्नो कुरा सेयर गर्ने क्लोज केटी साथी पनि थिएन । नयाँ नयाँ विद्यार्थी थिए सवै । पढाइ भएको एक महिना नहुँदै छुट्टी भएकाले पनि त्यति घुलमिल हुन पाएका थिएनौं । त्यसैगरि दिनहरु बिते । फोन गर्ने प्रयास पनि गरेकी थिए तर अह फोन अफ थियो । फेसबुकमा त उ कहिल्यै देखा परेन ।
पहिलो वर्षको परीक्षा आयो । ऊ परीक्षा दिन आउँछ होला भन्ने लागेको थियो तर आएन । दोस्रो वर्षको परीक्षा पनि सकियो । मेरो दिमागमा पनि प्रनिलको ह्यांगओभर विस्तारै कम हुँदै गयो । राम्रो अंक सहित मास्टर्स सकियो । र अहिले एउटा आइएनजिओमा काठमाण्डौमै काम गरिरहेको छु । कहिलेकाँही फेसबुकमा उसलाई अनलाईन भेटाउँछु र कुरा गर्न खोज्छु तर आज जस्तै म अनलाईन आउनासाथ ऊ अफलाईन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!