प्यूठान । गुणस्तरीय तथा सुरक्षित प्रजनन् स्वास्थ्य सेवामा बालविवाह प्रमुख बाधक रहेको सरोकारवालाहरूले बताएका छन् । कम उमेरमा विवाह र गर्भधारणका कारण मातृ तथा शिशु स्वास्थ्यमा जोखिम बढ्नुका साथै मातृमृत्युको अवस्था समेत चिन्ताजनक रहेको उनीहरूको भनाइ छ ।
स्वास्थ्य कार्यालय प्यूठानले बिहीबार आयोजना गरेको प्रजनन् स्वास्थ्य समन्वय समितिको बैठकमा सहभागी सरोकारवालाहरूले बालविवाह न्यूनीकरणलाई प्रजनन् स्वास्थ्य सुधारको महत्वपूर्ण आधारका रूपमा लिनुपर्नेमा जोड दिएका हुन् ।
माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले कम उमेरमा हुने विवाह र गर्भधारणका कारण मातृ स्वास्थ्यमा जोखिम बढिरहेको बताउनुभयो । गाउँपालिकाले विद्यालय तथा समुदायस्तरमा बाल विवाह विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि कम उमेरमै गर्भवती हुनेको संख्या अपेक्षित रूपमा घट्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।
स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा मातृमृत्युको संख्या अघिल्ला वर्षको तुलनामा बढेको छ । उहाँका अनुसार उक्त आर्थिक वर्षमा पाँच जना गर्भवती महिलाले ज्यान गुमाएका छन् ।
“गतवर्ष पाँच जना गर्भवतीले ज्यान गुमाउनु परेको थियो” ,श्रेष्ठले भन्नुभयो, “नौबहिनी, ऐरावती र माण्डवी गाउँपालिकामा एक/एक जना तथा सरुमारानी गाउँपालिकामा दुई जनाको मृत्यु भएको हो ।”
चालु आर्थिक वर्षमा प्रजनन् स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मातृमृत्यु न्यूनीकरण, सुरक्षित मातृत्व, गर्भपतन सेवा, परिवार योजना तथा किशोरकिशोरीमैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवामा विशेष ध्यान दिइने श्रेष्ठले बताउनुभयो । त्यसैगरी सुरक्षित मातृत्व सेवा अन्तर्गत भिडियो एक्स–रे सेवाको पहुँच विस्तारमा समेत जोड दिइने उहाँको भनाइ छ ।
स्वास्थ्य कार्यालयको अगुवाइमा स्थानीय तहहरू मार्फत पाठेघरको मुखको क्यान्सर, फिस्टुला तथा पाठेघर खस्ने समस्या न्यूनीकरण, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन तथा गर्भवती महिलाको रेफरल प्रणालीलाई अनलाइनमार्फत व्यवस्थित गर्ने कार्यक्रम अघि बढाइने श्रेष्ठले जानकारी दिनुभयो ।
प्यूठान अस्पतालकी नर्सिङ अधिकृत राधा केसीले बालविवाह न्यूनीकरणका लागि बालबालिका र अभिभावकलाई एकैसाथ सचेत गराउनुपर्ने बताउनुभयो । बालबालिका र अभिभावकलाई संयुक्त रूपमा चेतनामूलक कक्षा सञ्चालन गरी बालविवाह नगर्ने प्रतिबद्धता गराउन सके प्रभावकारी हुने उहाँको भनाइ छ । “स्वास्थ्यकर्मीले समुदायमा सञ्चालन गर्ने सचेतनामूलक कार्यक्रमले बालविवाह न्यूनीकरणमा सकारात्मक प्रभाव पार्न सक्छ” ,केसीले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले स्थानीय पाठ्यक्रममा सीपयुक्त शिक्षासँगै स्वास्थ्य सम्बन्धी विषयलाई समेत प्राथमिकताका साथ समेट्नुपर्ने बताउनुभयो । विद्यालय तहदेखि नै किशोरकिशोरीलाई प्रजनन् स्वास्थ्य, बालविवाहका असर तथा स्वास्थ्य अधिकारबारे जानकारी दिन सके बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम जिसीले सामाजिक सवालका विषयमा प्रभावकारी अभियान सञ्चालन गर्न सरोकारवाला निकाय बीच समन्वय आवश्यक रहेको बताउनुभयो । गुणस्तरीय र सुरक्षित प्रजनन् स्वास्थ्य सेवा सुनिश्चित गर्न स्पष्ट कार्ययोजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।





