समाज

शिक्षकहरूका लागि स्टिम अवधारणा सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न

प्यूठान । ऐरावती गाउँपालिकाका माध्यमिक तथा आधारभूत तहका शिक्षकहरूका लागि विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) मा आधारित एकीकृत सिकाइ अवधारणासम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम प्यूठानको जुम्रीमा सम्पन्न भएको छ ।

कालिका विकास केन्द्र नेपाल र स्ट्रोम फाउन्डेसनको साझेदारी तथा ऐरावती गाउँपालिकाको समन्वयमा सञ्चालित ‘विलिफ’ कार्यक्रम अन्तर्गत आसोज ३ र ४ गते अभिमुखीकरण सञ्चालन गरिएको हो । कार्यक्रममा ऐरावती गाउँपालिका–२, ४, ५ र ६ मा रहेका विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षक डिलाराम खनालले सहजीकरण गर्नुभएको कार्यक्रममा स्टिम शिक्षाको अवधारणा, अर्थ, इतिहास, विकास, विस्तार तथा यसको औचित्यबारे जानकारी गराइएको थियो। साथै, शिक्षा नीति २०७६ मा समेटिएका विषयवस्तु, विद्यालयमा स्टिम शिक्षाको आवश्यकता तथा यस माध्यमबाट विद्यार्थीहरूमा विकास हुने प्रमुख सीपबारे छलफल गरिएको थियो ।

अभिमुखीकरणका क्रममा शिक्षकहरूलाई कक्षा कोठामा स्टिम शिक्षाको प्रयोग र अभ्यासका साथै सम्बन्धित भिडियो सामग्रीमार्फत सिकाइका विभिन्न विधिबारे जानकारी दिइएको थियो । आलोचनात्मक तथा समालोचनात्मक सोचको विकास, प्रभावकारी पाठयोजना निर्माण र कक्षाकोठामा त्यसको प्रयोगसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो ।

कार्यक्रममा सहभागी शिक्षकहरूले विज्ञान, गणित र अङ्ग्रेजी विषयका विभिन्न एकाइ छनोट गरी समूहमा काम गरेका थिए । समूहगत अभ्यासपछि शिक्षकहरूले तयार गरेका योजना तथा सिकाइ गतिविधिहरूको प्रस्तुतीकरणसमेत गरेका थिए ।

अभिमुखीकरणमा परियोजनामा आधारित सिकाइ (Project Based Learning–PBL) का अवधारणा, विशेषता तथा विभिन्न मोडलका बारेमा समेत अभ्यास गराइएको थियो। प्रविधिको प्रयोग, सूचना खोजी तथा स्थानीय स्रोत–साधनको उपयोग गरी न्यून लागतमा प्रभावकारी सिकाइ सामग्री निर्माण गर्ने तरिकाबारे पनि प्रशिक्षण दिइएको थियो ।

त्यसैगरी सहभागी शिक्षकहरूले आ–आफ्ना विद्यालयमा स्टिम शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कार्ययोजना तयार गरेका थिए ।

अभिमुखीकरणले शिक्षकहरूको शिक्षण–सिकाइ क्षमता अभिवृद्धि गर्नुका साथै कक्षाकोठामा प्रयोगात्मक, सिर्जनात्मक र प्रविधिमैत्री सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक बिनोद पोख्रेलले बताउनुभयो । यसबाट विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, समस्या समाधान, आलोचनात्मक सोच, सिर्जनशीलता तथा सहकार्यजस्ता आधुनिक सीप विकासमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

Related Articles

Back to top button