प्यूठान । नेपाली कांग्रेस प्यूठानले वडा हुँदै पालिका अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया सम्पन्न गर्दा पार्टीका तर्फबाट निर्वाचित केहि जनप्रतिनिधिदेखि जिम्मेवार नेता नै अधिबेशन प्रक्रियामा सहभागी नभएको पाइएको छ ।
प्यूठानका ६४ वटै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने जिल्लाका नौवटै पालिकामा समेत अधिवेशन तथा नेतृत्व चयनको प्रक्रिया पूरा भएको छ । क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला जिल्ला, प्रदेश, पालिका तथा भ्रातृ संस्थामा जिम्मेवारी सम्हालेका केही नेता अधिवेशनमा उपस्थित नभएको विवरण प्राप्त भएको छ ।
प्यूठान प्रदेशसभा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रोज राणा अधिवेशन प्रक्रियामा सहभागी नभएको पाइएको छ ।
अधिवेशनमा सहभागी नभएका नेताहरूमा नेपाली कांग्रेस प्यूठानका जिल्ला उपसभापति ईश्वरसिंह बिष्ट, जिल्ला उपसभापति तथा प्यूठान नगरपालिका उपप्रमुख देबेन्द्र बर्मा, जिल्ला कोषाध्यक्ष दिपक केसी र जिल्ला सहसचिव तथा झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल रहनुभएको छ ।
प्यूठान नगर सभापति एवं प्यूठान नगरपालिका–७ का वडाध्यक्ष नेत्र केसी, मल्लरानी गाउँपालिका-४ का वडाध्यक्ष कुमार श्रेष्ठ, मल्लरानी गाउँपालिका-५ का वडाध्यक्ष गोपाल थापा कांग्रेसको अधिबेशन प्रक्रियामा सहभागी हुनुभएन ।
त्यस्तै, महाधिवेशन प्रतिनिधि तथा नौबहिनी गाउँपालिका पार्टी सभापति देविराम पुन, महाधिवेशन प्रतिनिधि खिमानसिंह रायमाझी तथा जिल्ला सदस्यद्वय खगेश्वर थापा र मित्र मल्ल, कांग्रेसको युवा संगठन नेपाल तरुण दल प्यूठानका जिल्ला अध्यक्ष कृष्णप्रसाद बस्याल पनि अधिवेशनमा सहभागी नभएको प्राप्त विवरणमा उल्लेख छ ।
पार्टीको आन्तरिक नेतृत्व चयनका लागि हुने अधिवेशनमा जिल्ला तथा स्थानीय तहका जिम्मेवार पदाधिकारी, महाधिवेशन प्रतिनिधि र निर्वाचित जनप्रतिनिधिको सहभागिता महत्वपूर्ण मानिन्छ । तर, यसपटक प्यूठानमा पार्टीका केही जिम्मेवार नेता तथा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि नै अधिवेशन प्रक्रियामा सहभागी नभएको विषय चर्चामा आएको छ ।
पार्टी पुर्व सभापति शेरबहादुर देउवा पक्षले छुट्टै निर्वाचन तालिका सार्बजनिक गर्दै पार्टीका उपसभापति ईश्वर बिष्टलाई केन्द्रिय प्रतिनिधिको जिम्मेवारी तोकेको छ । बिष्ट र नौबहिनी गाउँंपालिका सभापति देबीराम पुनले अहिले चलेको अधिबेशनमा सहभागी नहुन सार्बजनिक आव्हान गर्नुभएको थियो ।
तर अन्य नेताहरु अधिवेशनमा सहभागी नहुनुको कारण भने सार्वजनिक रूपमा स्पष्ट भएको छैन ।





