प्यूठान । झिमरुक गाउँपालिकामा गठबन्धनका दलहरुबीच सहमति नभएपछि गठबन्धन भित्रकै कांग्रेस र माओवादीबीच सम्झौता भयो । माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने गरि सम्झौता भएको केहि दिनपछि पुन: गठबन्धनको अर्को निर्णय सार्वजनिक भयो ।
गठबन्धनको उक्त निर्णय थियो, मित्रवत व्यवहार गर्दै चुनावमा जाने । गठबन्धनबीच कुरा मिल्न नसकेपछि उक्त निर्णय गरिएको हो ।
पुन: झिमरुक गाउँपालिकाको विषयमा अहिले अर्को निर्णय भएको छ । गठबन्धनको प्रदेश स्तरीय समितिले नयाँ निर्णय सार्वजनिक गरेको छ । उक्त निर्णय कार्यान्वयन गर्न परिपत्र गरेको छ ।
निर्णय अनुसार राष्ट्रिय जनमोर्चालाई पालिका अध्यक्ष सहित ४ वडा, माओवादीलाई उपाध्यक्ष सहित १ वडा, कांग्रेसलाई ३ वडा दिने भएको छ ।
यसअघि कांग्रेसले संयोजन गर्दै आएको बैठकको जिम्मेवारी समेत जनमोर्चाले गर्ने गरि संयोजनको जिम्मा दिएको छ ।
पटक पटकको फरक परक निर्णय र सम्झौताले भने स्थानीय कार्यकर्ता अलमलमा परेका छन् । प्रदेशले गरेको निर्णय पनि गठबन्धनका दलहरुले नमान्ने संकेत गरेका छन् ।