- सुरेशकुमार पाण्डे
जब भरपेट पाईदैन खान दाल भात यँहा,
ठूला भनौदाले नै बिर्सिन्छन औकात यँहा ।
लाम लस्कर लाग्दैछ फेरी परदेश जानेको,
हेर्न आउन नपत्याए जनताको वर्षात यँहा ।
तिम्रो मिठो खान्की एसिमा बसी लेखेको,
सबै जसो बिचार नै हुन थाले वाईहात यँहा ।
देख्छौ यूवा फर्केपछि बिकासका सपना,
खै कसरी बित्छ भोको पेट दिन रात यँहा ।
कति हुन्छन समस्या मजदुर ज्यामीहरुका,
पैतालाबाट सिरसम्म दुःखका खात यँहा ।
पेट भरी खाएर मिठो निन्द्राबाट उठेपछि,
धेरैका आउने गर्छन क्रान्तिकारी बात यँहा ।
भन त भोकै नाङ्गै कति सम्म बस्न सक्छौ,
यो धर्तिमै जन्मिएका मान्छेका जात यँहा ।
तैयार थिए यूवाहरु आफ्नै देशभित्र बाँच्न,
बाध्यताले दिएछ देश भक्त लाई मात यँहा ।
