प्यूठान, ८ साउन । आठ वर्ष अघि एचआईभी सङ्क्रमणले घर चलाउने श्रीमान्को ज्यान गएपछि मल्लरानी गाउँपालिका वडा नं. १ स्यानिलेक प्यूठानकी मसली वि.क.लाई अहिले परिवार चलाउनै सास्ती भएको छ । आफुपनि संक्रमित मसली, दुई बालबच्चाको पालनपोषणको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
३५ वर्षीय वि.क.लाई अहिले रोगले मात्र सताएको छैन । रोगसँगै भोक र चुहिने घरको चिन्ताले सताईरहेको छ । वि.क.को सानो परिवार ढुङ्गाले छाएको घरमा बस्दै आएको छ । तर चार वर्षदेखि त्यो घर निरन्तर चुहिन थालेको छ ।
१३ वर्षको छोरा ७ कक्षामा पढ्छन् । ११ वर्षकी छोरी ५ कक्षामा । गाउँमा अरुको घरमा काम गरेर दुई÷चार पैसा कमाएर आफू र छोराछोरीको छाक टार्दै आउनुभएको छ ।
मसलीले जिविकोपार्जनका लागि गाउँमा घर निर्माणको काम हुँदा ढुङ्गा बोक्ने, माटो बोक्ने, पानी बोक्ने, मेलापात गर्ने काम गर्नुहुन्छ । साधारण मानिसले जस्तो काम गर्न पनि सक्नुहुँदैन । सङ्क्रमणका कारण स्वास्थ्यका लागि पोषक तत्व आवश्यक पर्ने भएपनि छाक टार्नै समस्या हुने गरेको छ ।
चार वर्षदेखि नियमित औषधी खाइरहेको भन्दै उहाँले औषधी निःशुल्क पाइरहेपनि औषधी लिनजान पनि समस्या हुने गरेको बताउनुभयो ।
चुहिने घरको पीडा पनि सँगै छ । प्रदेश सरकार, स्थानीय सरकारहरुले खरको छाना विस्थापित गर्ने अभियान चलाएकाले आफ्नो घरको छानो पनि फेरिने आसामा उहाँ हुनुहुन्छ ।
स्थानीय तह हुनुभन्दा पहिले तत्कालिन चँुजा गाविसबाट बार्षिक १५ हजार रुपियाँसम्म आर्थिक सहयोग पाउँदै आएकोमा अहिले त्यो रकम पनि पाउन छाडेको उहाँका छिमेकी बताउँछन् । स्थानीय छिमेकी राधा वि.क.ले मसलीको परिवारको अवस्था दयनीय भएको बताउनुभयो । कतैबाट सरसहयोग भए राहत पुग्ने भन्दै उहाँले घरमा टिन लगाईदिए बास जोगिने बताउनुभयो ।
अरुले जस्तो काम पनि गर्न नसक्ने भएकाले कहिलेकाँही छरछिमेकीले समेत सहयोग गर्दैछन् । बालबालिकालाई पठनपाठनमा सहयोग मिले मसलीको परिवारको उद्धार हुने छिमेकीहरु बताउँछन ।
