> राष्ट्रिय > यी हुन् प्रदेश ५ का घुम्नै पर्ने पर्यटकीय स्थल


यी हुन् प्रदेश ५ का घुम्नै पर्ने पर्यटकीय स्थल

सी. पी. खनाल

प्रदेश नम्बर ५ लाई मिनीनेपालको स्वरुप भनिन्छ । हावापानी, भौगोलिक बनोट, बसोबासजस्ता कुराले यो प्रदेश सम्पूर्ण नेपालको एउटा प्रतिनिधिमूलक अंश जस्तो छ । यहाँ चर्को गर्मी हुने तराईदेखि चिसो हिमालसम्मको भूभाग छ । पूर्व–पश्चिम फैलिएको यो प्रदेशमा त्यस्तै विविधता भएका पर्यटकीय स्थलहरु छन् ।

तराईका समथर भूभागमा रहेका धार्मिक र ऐतिहासिक स्थल हुन् वा हिमाल पहाडको काखमा रहेका मनोरम दृश्य, सहज गन्तव्य र ध्यान तान्नसक्ने कला प्रस्तुत गर्नसके यहाँ सजिलै पर्यटक आउँछन् ।

बुद्ध जन्मेको लुम्बिनी, हुर्केको तिलौराकोट, मावली र ससुराली थलो देवदह वा अस्तु धातु रहेको रामग्राम, यहाँको प्रचार हुन सके सजिलै पर्यटक आउँछन् । क्रकुच्छन्द बुद्धको नगरी गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवाको अध्ययन, अनुसन्धान हुनै बाँकी छ ।

बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी, पाल्पाको रानीमहल, बाँकेको बागेश्वरी, बाह्रकुने दह, जुंगे महादेव, सिस्ने हिमाल, जनयुद्ध प्रारम्भ भएको रुकुम–रोल्पाका गाउँहरु पनि यहाँका प्रमुख पर्यटकीय क्षेत्र हुन् । नेपालगञ्ज पर्यटकका लागि ट्रान्जिट प्वाइन्ट बनेको छ ।

मानसरोवर जाने पर्यटकहरु नेपालगञ्ज भएर जाने गर्छन् । यतिमात्रै हैन, मानवपुर्खाको इतिहास भेटिएको बुटवलको रामापिथेकस, अंग्रेज फौजलाई हराएको जितगढी किल्ला, गुल्मीको रेसुङ्गा, रुरुक्षेत्र, अर्घाखाँचीको पाणिनी तपोभूमि, अर्घादरबारसहितका दर्जनौँ पर्यटकीय स्थल ओझेलमै छन् ।

समग्रमा, प्रदेश ५ घुम्नलायक प्रदेशमा पर्छ । आउनुस् घुमौँ प्रदेश ५ का घुम्नलायक ठाउँ ।

रुपन्देहीको लुम्बिनीः शान्ति पनि घुमघाम पनि

शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि हो लुम्बिनी । ईसापूर्व ६२३ मा यहाँको बगैँचामा मायादेवीको कोखबाट बौद्ध प्रणेता गौतमबुद्धको जन्म भएको हो । यो भूमि संसारभरका बौद्धमार्गी र शान्तिप्रेमीहरुका लागि विश्व शान्तिको रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्वसम्पदा सूचिमा समावेश छ ।

नेपाल भ्रमण वर्षका अवसरमा यो स्थलमा हरेक दिन बुद्धको जीवनी र बुद्ध शिक्षासम्बन्धी सन्ध्याकालीन वृत्तचित्र प्रदर्शन गर्ने योजना प्रदेश सरकारको छ । लुम्बिनी–ढोरपाटन–डोल्पाको दुनै बजार हुँदै उपल्लो डोल्पासम्मको पदयात्रा अनुसन्धान, पहिचान र प्याकेज कार्यकम समेत तयार पार्ने योजना सरकारको छ । यसका कारण पर्यटकहरुको बसाई अवधि एक रात भएपनि लम्बाउन सकिने प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरी बताउँछन् ।

लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी भ्रमण वर्षका अवसरमा समेत विभिन्न गतिविधि सञ्चालन गरिएको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार वार्षिक १६ लाख स्वदेशी तथा विदेशी पर्यटक लुम्बिनी घुम्न आउँछन् । आर्थिक वर्ष २०७६ लाई प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरि पर्यटन प्रवर्द्धनका कार्यक्रम गरेपछि यो संख्या बढ्ने अपेक्षा छ । तर भौतिक पूर्वाधार निर्माणको कामले गर्दा अपेक्षा गरिए जति पर्यटक लुम्बिनी आएका छैनन् । भैरहवादेखि लुम्बिनीको सडक निर्माणको क्रममा रहेकाले पर्यटकलाई आवत जावतमा समस्या भएपछि सोचेअनुरुप पर्यटक आउन नसकेको होटल संघ लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।

कपिलवस्तुको तिलौराकोट, गोटिहवा र निग्लिहवा : खुला इतिहास पढ्ने ठाउँ

तिलौराकोटमा शाक्यवंशको राज्यको राजधानी थियो । राजा शुद्धोधन र रानी मायादेवीका छोरा सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको ठाउँ हो तिलौराकोट । चिनियाँ यात्री फाइयानले गरेको यात्रा वृतान्तसँग ठ्याक्कै मिल्दाजुल्दा संरचनाहरु भेटिएका कारण नै यो क्षेत्र प्राचीन कपिलवस्तुको राजधानी रहेको पुष्टि भएको छ ।

यहाँ पटकपटक विश्व प्रसिद्ध पुरातत्वविद्हरुले उत्खनन् गरेर ३ हजार वर्षअघिसम्मका संरचनाहरु भेटाएका छन् । यो स्थल बुद्धजन्म स्थल लुम्बिनीदेखि २२ किलोमिटरको दूरीमा पर्छ । अर्कोतर्फ तिलौराकोटमा पर्याप्त पर्यटकीय संरचना नहुँदा पर्यटकको आकर्षणको केन्द्र हुन सकेको छैन ।

यहाँ क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा, हजारौँ शाक्यहरुको नरसंहार गरिएको क्षेत्र सगरहवा, कुदान, अरौराकोट, सिसहनिया, कपिलधाम र जगदिशपुर ताल जस्ता महत्वपूर्ण क्षेत्रहरु पनि छन् । पर्यटकमैत्री संरचना पर्याप्त नहुँदा लुम्बिनी आउने १० प्रतिशत पर्यटक मात्र तिलौराकोट पुग्ने गरेका छन् ।

त्यसलाई बढाउनका लागि नेपाल भ्रमण वर्षका अवसरमा प्रदेश सरकारले पर्यटकहरुका लागि तिलौराकोट भ्रमण विशेष प्याकेजको तयारी गरेको प्रदेश ५ पर्यटन मन्त्रालयका अधिकृत तथा नेपाल भ्रमण वर्ष प्रदेश सचिवालयका प्रमुख गणेश घिमिरेले बताए ।

नवलपरासीको रामग्राम स्तुपः बौद्धमार्गीको आस्था

बौद्ध ग्रन्थअनुसार गौतमबुद्धको महापरिनिर्वाणपछि विभिन्न आठ स्थानमा अष्टधातु राखिएको थियो । जसमध्येको एक रामग्राम हो । रामग्रामका तत्कालीन राजाले बनाएको यो स्तुप हेर्न वर्षेनी हजारौँ पर्यटक जाने गरेका छन् । तर पूर्वाधार र प्रचारप्रसारको अभावले पर्यटकहरुको संख्या बढ्न सकेको छैन ।

रामग्रामको संरक्षण तथा पर्यटक आगमनलाई वृद्धि गर्न लुम्बिनी विकास कोषले रामग्रामको छुट्टै गुरुयोजना तयार पारेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराई बताउँछन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रामग्रामसहित नवलपरासीको त्रिवेणीलाई मध्यनजर गरेर प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको छ ।

पाल्पाको रानीमहलः नेपालको ताजमहल

पाल्पाको तानसेन बजारबाट ८ किलोमिटर उत्तर कालीगण्डकीको किनारमा छ नेपालको ताजमहलका नामले चिनिने रानीमहल । यो महल तत्कालीन पाल्पा राज्यका राजा खड्ग शमशेरले आफ्नी दिवंगत पत्नी तेजकुमारीको सम्झनामा बनाएका हुन् । पछिल्लो समय यो महल हेर्नका लागि जाने पर्यटकको संख्या धेरै छ । विदेशी भन्दा स्वदेशी पर्यटकहरु यहाँ पुग्ने गरेका छन् ।

पछिल्ला वर्षहरुमा हिल स्टेशनको रुपमा प्रचार गरिएपछि यहाँ भारतीय पर्यटकहरु ओइरिन थालेका छन् । रानीमहलसम्म जाने सडकको अवस्था तथा पर्यटकमैत्री संरचना नहुँदा त्यहाँ पुग्ने पर्यटकहरु भने खिन्न हुन्छन् । नेपाल भ्रमण वर्षका क्रममा प्रदेश ५ सरकारले यस महललाई राणाकालीन ढाँचाबाट सिंगारेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना पर्यटन मन्त्रालयले बनाएको छ ।

प्यूठानको स्वर्गद्वारीः धर्मकर्म गर्न जाने ठाउँ

प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा रहेको धार्मिक पर्यटकीय स्थल हो स्वर्गद्वारी । पौराणिक कालमा पाण्डवहरु स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्धारी नाम रहेको हो । यहाँ पुगेपछि मनले चिताएको पूरा हुने जनविश्वासका साथ स्वदेशी र विदेशी पर्यटकहरु यहाँ जान्छन् ।

यहाँ स्वदेशी भन्दा बढी भारतीय पर्यटकको भीड लाग्ने गरेको छ । तर भारतीय पर्यटकले यहाँ खासै खर्च नगर्ने हुँदा पर्यटन व्यवसायी यसमा खासै ध्यान दिएका छैनन् । प्रदेश सरकारले स्वर्गद्धारीमा एक लाख भारतीय पर्यटकहरुलाई महाअभिषेक गर्ने योजना बनाएको छ ।

दाङको धारापानी र रिहारः बन्दैछन् नयाँ गन्तव्य

घोराही उपमहानगरपालिका वडा नं ५ मा अवस्थित धारपानी धाम दाङको प्रमुख धार्मिक पर्यटकीय स्थल हो । पाण्डवेश्वर मन्दिरको नामले पनि चिनिने धारापानीधाम शहरी क्षेत्रदेखि नजिकै पर्ने भएकाले पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

यस धाममा सुन, चाँदी, पितल, तामा र फलामबाट तयार गरिएको मुलुककै अग्लो भनिएको त्रिशूल स्थापना गरिएको छ । पश्चिम क्षेत्रकै एक चर्चित धाम हो रिहार । यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । यो धामको अवलोकलन गर्न भारतको उत्तरप्रदेशबाट ठूलो मात्रामा पर्यटकहरु आउने गर्छन । यो वर्ष धाममा आउनेको संख्या अझै बढेको जनाइएको छ ।

अर्घाखाँचीको सुपादेउरालीः भीरमा अडिएको आस्था

यो मन्दिर गोरुसिंगे–सन्धिखर्क सडक खण्डको सुपा खोलाको पश्चिम क्षेत्रमा रहेको छ । नरपानी र फलामे दुवै अग्ला महाभारत पर्वत श्रृंखलाको बिचमा झण्डै ४ हजार ५ सय फिटको उचाइँको कहालीलाग्दो भीमकाय खोँचमा यो मन्दिर अवस्थित छ । यहाँ भाकल र दर्शन गरेपछि आँटेको काम सफल हुने किंवदन्तीअनुसार अहिले पनि यहाँ भाकल गर्ने र भाकल चढाउनेहरुको भीड लाग्छ ।

यो प्रसिद्ध धार्मिक शक्तिपीठको स्थापनाबारे विभिन्न जनश्रुतिहरु पाइन्छन् । भगवान रामकी पत्नी सीताले बनाएको चुलो, जाँतो, आदिका शिलाहरुबाट त्रेतायुगदेखि नै यहाँ शक्ति थियो भन्ने मान्यता छ । यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल गरेर चढाउँछु भनेको कुरा नचढाएमा देवी रिसाउँछिन् भन्ने मान्यता छ ।

लाहुरेले भाकल गरेर भाकल पूरा नगरेकाले नजिकैको भीरमा रहेको चट्टानमा लाहुरे टाँसिएको किंवदन्ती छ । यहाँ एकादशी, औँशी, कृष्णजन्माष्टमी, ऋषिपञ्चमी, शिवरात्री, रामनवमी, श्रीपञ्चमीलगायतका पर्वमा पूजा गर्ने र भेटी चढाउनेको भीड लाग्छ ।

गुल्मीको रेसुङ्गा र रिडीः धर्मकर्म र घुमघाम गर्ने गतिलो ठाउँ

नेपालकै विशेष सांस्कृतिक तथा प्राकृतिक सम्पदा मानिने रेसुङ्गा भृगु ऋषिको तपोभूमि, रुरुको शिरोभाग, पुलस्य पुलह ऋषिको तपोभूमि, महर्षि, राजर्षि, देवर्षी एवं ब्रह्मर्षी बासस्थानयुक्त सुनौलो पुरास्थल हो ।

रेसुङ्गाबाट रमणिय हरीयाली दृष्य देखिनुका साथै तराइका फाँटदेखि भारतको भुभागसमेत देख्न सकिन्छ । रिडी नेपालका चारधाममध्येको एक विशेष धाम हो । कालीगण्डकी रिडी खोलाको संगम तथा स्याङ्जा, गुल्मी र पाल्पा जिल्लाको त्रिकोणात्मक मिलन क्षेत्रमा अवस्थित रिडी ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले विशेष आकर्षक स्थल हो ।

बर्दिया राष्ट्रिय निकुञ्जः वन्यजन्तु हेर्ने मनमोहक गन्तव्य

सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्जपछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो । २०४५ मंसिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । यस निकुञ्जमा पाटेबाघ, एकसिंगे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगलीहात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् ।

जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४ सय ३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्यापर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ ।

नेपाल भ्रमण वर्ष अवधिमा ‘घुम्न जाँउ बर्दिया’ विशेष प्याकेज कार्यक्रम, पर्या–पर्यटन, जङ्गल सफारी, साँस्कृतिक कार्यक्रम, होमस्टे व्यवस्थापन जस्ता कार्यक्रम हुँदैछन् । नजिकै कृष्णसार संरक्षित क्षेत्र पनि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।

रुकुम पूर्वको सिस्ने हिमालः प्रदेशकै हिमाली क्षेत्र

सिस्ने हिमाल उत्तरी सिमानामा अवस्थित रमणीय एवम् सुन्दर हिमाल हो । यो हिमालालाई स्थानीय भाषामा मुर्कट्टा हिमाल भनिन्छ । यो हिमाल कान्जिरोवा हिमश्रृंखला अन्तर्गत पर्दछ । यसको उचाई ५ हजार ८ सय ४१ मिटर छ ।

नेपाल भ्रमण वर्षको अवसरमा सिस्ने हिमालको कमल दहदेखि ढोरपाटनसम्म माउन्टेन बाइक रेस आयोजना गरिएको छ । यस्तै पोखरा आउने पर्यटकहरु लाई ढोरपाटन हुदै पूर्वी रुकुमको कमलदह सम्मको ट्राभल प्याकेज कार्यक्रम तय गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

बाँकेको बागेश्वरी र बाँके राष्ट्रिय निकुञ्ज

बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिरमा सतिदेवीको जिव्रो पतन भएको विश्वास गरिन्छ । यस मन्दिरमा पुजाआजाका लागि भारतबाट समेत श्रद्धालुहरु आउने गर्दछन् । यो मन्दिर प्यागोडा शैलीबाट बनेको छ । यहाँ करिब ७० मिटर उच्च कोषमाथि दुर्गाको मूर्ति राखिएको छ । जसलाई छत्रले ढाकिएको छ ।

यस मूर्तिमुनि गहिरो खाडल छ । खाडल माथि राखिएका फलामे जालीमाथि राखिएको चाँदीको सिंहासन र त्यसमाथि राखिएको शिलालाई नै देवीको शास्वत रुप मानी पूजा गरिन्छ । देवीको प्रतिमा मूनि रहेको खाल्डो सतिदेवीको पतन भएको जिब्रो धान्न नसकी भएको थियो भन्ने किंवदन्ती छ ।

बाँके राष्ट्रिय निकुञ्ज सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको थियो । यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १ सय २४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३ सयभन्दा बढी प्रकारका चराका प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् ।

११ प्रजातिका दूर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दूर्लभ चराहरू यहाँ पाइन्छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि.मि. क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो ।

यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ । यहाँ सरकारले भ्रमण वर्षको अवसर पारेर जंगल सफारीका लागि सर्वसाधारणलाई खुला गरेको छ ।

रोल्पाको थवाङः सम्भावना युद्ध पर्यटनको

जलजला र थवाङ रोल्पाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र हुन् । यहाँ जलजलादेवीको मन्दिर लगायत विभिन्न धार्मिक संरचना निर्माण गरिएको छ । त्यस्तै थवाङ जनयुद्धको उद्गम स्थल हो ।

जहाँबाट माओवादीले सशस्त्र युद्ध सुरु गरेको थियो । यो क्षेत्रमा गुरिल्ला ट्रेक मार्ग पहिचान गरेर पर्यटन प्रवर्द्धनका काम भइरहेका छन् ।

देश सञ्चार डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *