माननीय सूर्य थापा ज्यू,
सांसद, प्रतिनिधि सभा (प्यूठान) ।
यो पत्र प्यूठानका एक जिम्मेवार नागरिकको हैसियतले तपाईंसँग केही गम्भीर प्रश्न र सुझावहरू राख्ने उद्देश्यले लेखिएको हो ।
जेठ १५ अगाडि र पछाडि प्यूठान जिल्लामा विनियोजित बजेटको सन्दर्भमा तपाईं र लुम्बिनी प्रदेशका खानेपानी मन्त्री सरोज थापा (रोज राणा) बीच सामाजिक सञ्जालमा देखिएको सक्रियता हामीले नियालिरहेका छौं ।
हाल “मेरो पहलमा पर्यो” भन्ने शैलीमा बजेटको श्रेय लिने प्रतिस्पर्धा देखिन थालेको छ । तपाईंहरू दुवै जना युवा हुनुहुन्छ, तपाईंहरूको जोश, उत्साह र सामाजिक सञ्जालको प्रयोगशैलीको हामी सम्मान गर्छौं । तपाईंहरू जनताको मन जित्न जान्नुहुन्छ । अहिले गरिएको पहल र बजेट विनियोजनको लागि तपाईंहरूलाई धन्यवाद दिन चाहन्छौं ।
तर, बजेटको श्रेय लिन फेसबुकमा भइरहेको प्रतिस्पर्धा देख्दा दुःख लाग्छ । यस्तो प्रवृत्ति केवल आत्मप्रशंसा मात्र नभई, जनतालाई भ्रममा पार्ने र धोका दिने प्रवृत्ति पनि हो ।
बजेटको वास्तविकता
वास्तवमा प्यूठानमा विनियोजित बजेट कुनै एक व्यक्तिको पहलबाट मात्र आएको होइन । यो त नियमित प्रक्रिया अनुसार आएको हो, जुन विगतमा हिरा बहादुर केसी, दुर्गा पौडेल, हरि प्रसाद रिजाल, कृष्णध्वज खड्का लगायत नेताहरूको पालामा पनि देखिएको थियो । यि नेताहरू प्रचारभन्दा काममा विश्वास गर्थे ।
अहिले विनियोजित केही बजेट समपूरक र समानिकरण अनुदान अन्तर्गत परेका छन् । समपूरक अनुदान भन्नाले स्थानीय तह वा प्रदेश सरकारको सिफारिसमा केन्द्र सरकारबाट प्राप्त पूरक अनुदान हो । यो संसदको प्रत्यक्ष दबाब वा पहलले मात्र सुनिश्चित हुने होइन, नियमित प्रक्रियाबाट पनि सुनिश्चित हुन्छ ।
उदाहरणका लागि :
• प्रदेश सरकारको सिफारिसमा :
• बाग्दुला–मच्छी सडक
• कुल लागत: रु २९ करोड ९९ लाख
• विनियोजित रकम (नयाँ): रु ३ करोड
• झिमरुक गाउँपालिकाको सिफारिसमा:
• बतासे डाँडा– मच्छी सडक
• कुल लागत: रु ७ करोड
• विनियोजित रकम (नयाँ): रु १ करोड २२ लाख
तर यहाँ केही गम्भीर प्रश्न छन्:
१. ३० करोडको लागत पर्ने दुई लाइनको सडक रु ३ करोडको वार्षिक बजेटमा कहिले सकिन्छ ?
२. डी.पी.आर. (विस्तृत परियोजना प्रतिवेदन) बिना निर्माण थाल्दा बजेट अनावश्यक रूपमा खर्च हुने निश्चित हुन्छ ।
३. यस्तै गतिमा बजेट विनियोजन हुँदै जाने हो भने सो सडक निर्माणमा अझै १० वर्ष लाग्ने देखिन्छ।
यी दुई योजनाहरू एउटै क्षेत्रका फरक शीर्षकमा परेका छन्, तर बजेट पारदर्शिताका आधारमा विनियोजन भएको देखिँदैन । यसले विकासमा मात्रै होइन, सुशासनमा पनि धज्जी उडाएको छ ।
दीर्घकालीन समस्या र समाधान
माननीय ज्यू,
प्यूठानको दीर्घकालीन विकास र समस्या समाधानका लागि तपाईं जस्ता नेताबाट जनताले आशा गरेका छन् – सस्तो प्रचार होइन, प्रभावकारी नीतिगत पहल। प्रतिनिधिसभा सदस्यको हैसियतले कुनै समन्वय गरेको पनि देखिएन ।
प्यूठानको मुख्य पेशा कृषि हो । यहाँ फलफूल, तरकारी, चैते धान, आलु, अदुवा र पशुपालनको अपार सम्भावना छ । तर आजसम्म सांसद स्तरबाट यस्ता विषयमा गम्भीर पहल भएको देखिएको छैन । पर्यटन र जलविद्युतमा पटक्कै काम भएको छैन ।
प्यूठानमा बनेका कोल्ड स्टोरहरू सञ्चालनमा छैनन्, कोल्ड स्टोरको लागी हामी जिल्ला बाहिर जानुपर्ने समस्या छ । स्थानीय उत्पादनले बजार पाउन सकेको छैन भने विदेशी आलु र तरकारी गाउँ–गाउँमा पुगेका छन् । बजार व्यवस्थापन, सिंचाइ सुविधा, प्रविधिको पहुँच र पारदर्शी अनुदान वितरण अत्यन्त जरुरी छ ।
शिक्षाको अवस्था पनि कमजोर छ । परीक्षाको नतिजा देशकै न्यून छ, जसलाई सुधार गर्न शिक्षामा विशेष योजना र ध्यान दिन आवश्यक छ ।
प्यूठान अस्पतालमा चिकित्सकहरू टिक्दैनन्, सेवा गुणस्तर न्यून छ । सामान्य उपचारका लागि पनि नागरिकहरूलाई नेपालगञ्ज वा बुटवल जानुपर्ने अवस्था किन ? स्वास्थ्य सेवामा सुधारको लागि जिम्मेवारीपूर्वक पहल हुनु अत्यावश्यक छ ।
अन्त्यमा,
हामी जनताको चाहना सस्तो स्टाटस वा प्रचार होइन, जनताको जीवनस्तर सुधार हुने गरी दिगो विकासका लक्ष्यहरू हासिल गर्ने खालका काम, ठोस नीति, प्रभावकारी योजना, पारदर्शी कार्यान्वयन र दीर्घकालीन समाधान हो ।
तपाईं प्रतिनिधिसभाका एक प्रभावशाली युवा सांसद हुनुहुन्छ । त्यो प्रभाव काममा देखिन आवश्यक छ, कुरामा होइन । प्यूठानी जनताको जीवनस्तर उकास्न दीर्घकालीन विकास एजेन्डा तयार गरी सशक्त कार्यान्वयनमा पहल गर्नुहोस् । प्यूठानको बिकास निरन्तर अगाडि बढ्न सक्छ- जब तपाईंहरू जस्ता नेताहरूले प्रचारभन्दा परिणाममा विश्वास गर्नुहुन्छ ।
शुभकामना सहित,
नवीन केसी
झिमरूक- ३, प्यूठान
