> विचार > के हो त भ्रष्टाचार ?


के हो त भ्रष्टाचार ?

लिला बल्लभ नेपाल, विराटनगर

भ्रष्टाचारको परिचयः

सामान्य अर्थमा व्यक्तिले आफ्नो आचरणलाई भ्रष्ट बनाउनु नै भ्रष्टाचार हो । कानुन विपरित वा आफ्नो पदीय आचरण विपरित आफैँले आफ्नो नैतिक पतन हुने गरी गरिने कृयाकलापलाई भ्रष्टाचार भनिन्छ अथवा त्यस्तो कार्यमा संलग्न व्यक्ति भ्रष्टाचारी कहलाउँछ । भ्रष्टाचारिको मनसाय नै भ्रष्ट हुन्छ जुन देश र जनताको लागि जघन्य अपराध हो । नेपालको सन्दर्भमा हेर्ने हो भने तीनै तहको सरकारी संरचनामा भ्रष्टाचारको जरो ब्याप्त भएको सुनिन्छ । नेपालमा भ्रष्टाचारकै कारण हुने खाने र हुँदा खाने वीचको खाडल बढ्दै गएको छ साथै विकास निर्माणको गुणास्तर पनि दिनानुदिन खस्कदै गैरहेको अवस्था छ । कानून कार्यान्वयन गर्ने निकायको भ्रष्ट नीतिकै कारण विकास निर्माणमा संलग्न ठेकेदारहरु कारवाहिको प्रकृयावाट सहजै उम्कने अवस्था सिर्जना भएको देखिन्छ ।

भ्रष्टाचार नियन्त्रणका लागि सचेत नागरिकहरुको प्रभावकारी उपस्थिति अनिवार्य जस्तै भैसकेको छ । नेपालमा भ्रष्टाचार विरोधी धेरै कानुनहरु बने पनि त्यसको पालना गर्नु भ्रष्टाचारमा संलग्न व्यक्तिहरुले कहिल्यै आवश्यक ठानेनन् । भ्रष्टाचारमा संलग्न व्यक्तिहरु शक्तिकेन्द्रको आडमा सहजै फुत्किने गरेका छन् जसले गर्दा दण्डहिनता मौलाई भ्रष्टाचारीलाइ भ्रष्टाचार गर्न अझ मलजल प्राप्त भएको अवस्था देखिन्छ ।

भ्रष्टाचारिको समाजमा बढ्दो प्रभाव

भ्रष्टाचारिले समाजलाई दिनानुदिन रोगी बनाई रहेका छन् । भ्रष्ट व्यक्तिकै समाजमा धाक र रवाफ चल्ने भएकाले यिनिहरुकै इशारामा चल्नु सर्वसाधारण नागरिकको बाध्यता भईसकेको छ । विद्यमान नियम कानूनलाई धमिराले झै धुलो बनाउने र सरकारी संयन्त्रलाई कमजोर बनाइ स्वस्थ्य समाज निर्माणमा बाधा गर्ने तथा यसको मर्यादालाई माटोमा मिलाउने काममा भ्रष्टाचारिहरु सधै उद्धत रहेको देखिन्छ । प्राकृतिक विपत्तिहरु जस्तै विनासकारी भुकम्प तथा कोभिड-१९ को महामारीको बिकराल अवस्थाको फाइदा उठाउँदै सार्वजनिक सेवा प्रवाहकर्ताहरुवाट आर्थिक अनियमितता तथा स्रोत साधनको दुरुपयोग गर्ने जस्तो सामाजिक विकृति बेला बेलामा समाजमा देखिने गरेको छ । नेपाल जस्तो सिमित स्रोत साधनवाट संचालित राष्ट्रमा प्राकृतिक प्रकोपलाई समेत कमाउने हतियारको रुपमा प्रयोग गर्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत लाजमर्दो विषय हो । सामाजिक प्रतिष्ठा देखाउन भड्किलो ढंगवाट भोजभतेरको आयोजना गर्नु, राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको विरुद्ध गई निर्वाचनलाइ प्रभाव पार्ने ढंगवाट जथाभावि पैसा बाँड्ने प्रवृत्ती, समाजमा गलत सूचना प्रवाह गरी सामाजिक विचलन ल्याउने, सार्वजनिक पद धारण गर्ने व्यक्तिले कर्मचारी आचारसंहिताको विरुद्ध गई विभिन्न राजनीतिक दलको झण्डा बोक्ने जस्ता कृयाकलापहरुले समाज तथा व्यक्तिको सामाजिक प्रतिष्ठा माथि नै आँच आउने अवस्था सृजना भएको देखिन्छ ।

भ्रष्टाचारको कारण समाजमा देखिएका समस्याहरु के के छन् त ?

  1. विकास निर्माणको गुणस्तर दिनानुदिन खस्कदै गैरहेको छ ।
  2. सर्वसाधारणमा प्रवाह हुने सेवाको गुणस्तमा र्‍हास आएको छ ।
  3. सामाजिक मर्यादामा विचलन आएको अवस्था छ ।
  4. दण्डहिनता दिन प्रतिदिन मौलाउँदै गएको अवस्था छ ।
  5. जवाफदेहिताको बाध्यता महशुष गर्न कम हुँदै गएको छ ।
  6. सरकारप्रति जनताको विश्वासमा र्‍हास हुँदै गएको छ ।
  7. अन्तर्राष्ट्रिय समुदायले हेर्ने नजर बदलिएको छ ।
  8. धनि र गरिब वीचको खाडल फराकिलो भएको छ ।
  9. शासनको बैद्धता माथि प्रश्न चिन्ह खडा भएको छ ।
  10. सरकारी संयन्त्रहरु कमजोर बन्दै गहिरहेका छन् ।
  11. समाजमा आपराधिक कृयाकलाप बढ्दा समेत प्रशासन मौन देखिन्छ ।

 

भ्रष्टाचारका किसिमहरु के के हन् ?

  • नीतिगत भ्रष्टाचारः
  • भ्रष्टाचारजन्य क्रियाकलापलाई टेवा पुग्ने किसिमवाट भएको सरकारी संयन्त्रको कुनै पनि निर्णय नै नीतिगत भ्रष्टाचार हो ।
  • सामाजिक भ्रष्टाचारः
  • समाजका विभिन्न मुल्य मान्यताहरुलाई कमजोर बनाउने किसिमवाट भएको भ्रष्टाचारजन्य क्रियाकलाप नै सामाजिक भ्रष्टाचार हो ।
  • आर्थिक भ्रष्टाचारः
  • अर्थतन्त्र अथवा राज्यको संचित कोषमा कुनैपनि किसिमवाट क्षति पुर्‍याउने तथा पदीय आचरण विपरित गैर कानूनी रुपमा आर्थिक लेनदेन गर्ने भ्रष्टाचारजन्य क्रियाकलाप नै आर्थिक भ्रष्टाचार हो ।
  • नैतिक भ्रष्टाचार ।
  • व्यक्तिले आफ्नो नैतिक पतन हुनेगरी संलग्न भएको भ्रष्टाचारजन्य क्रियाकलाप नै नैतिक भ्रष्टाचार हो ।

कसरी समाधान गर्ने भ्रष्टाचारको समस्या ?

  1. आम निर्वाचनमा “माथिको कुनै पनि उम्मेद्वारलाई मत नदिने” भन्ने  None of the Above (NOTA) प्रणाली अथवा No Voting  अथवा Negative Voting को व्यवस्था गर्ने जसले गर्दा भ्रष्ट व्यक्ति निर्वाचित भएर सत्तामा जान नपाओस् ।
  2. “आफ्नो समाज आफै जोगाऔ” भन्ने सिद्धान्त बमोजिम शिक्षित नगरिक एक भई भ्रष्टाचारिलाई सामाजिक बहिस्कार गर्ने ।
  3. सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई सार्वजनिक प्रशासनलाई जनमुखी र परिणाममूखी बनाउने ।
  4. विद्यालय तहमा सदाचारिता विषयमा पठनपाठनको व्यवस्था गर्ने ।
  5. भ्रष्टाचार विरुद्ध शुन्य शहनशिलताको नीति कडाइका साथ पालना गर्ने गराउने ।
  6. समयमै काम सम्पन्न गर्ने प्रणालीको विकास गरी “असारे विकास” को विकृतिलाई निरुत्साहित गर्ने ।
  7. भ्रष्टाचार नियन्त्रण सम्वन्धी कानूनहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
  8. सार्वजनिक पद धारण गरेको व्यक्तिको सम्पत्ति अनिवार्य रुपमा सार्वजनिक गर्ने ।
  9. संयुक्त राष्ट्रसंघीय भ्रष्टाचार विरुद्धको महासन्धि अनुकूल हुनेगरी भ्रष्टाचार सम्वन्धी कानून बनाउने ।
  10. राजनीतिलाई पेशा होइन सेवाको रुपमा ग्रहण गर्ने ।
  11. सेवा प्रवाहका सम्भव भए सम्म सबै क्रियाकलापहरुमा प्रविधिको प्रयोग गर्ने ।
  12. राजनीति र प्रशासनको आचरण र व्यवहार स्वच्छ र मर्यादित बनाउने ।
  13. सार्वजनिक सेवाको आर्थिक कारोवारमा E-Monitoring System अनिवार्य रुपमा लागु गर्ने।
  14. न्यायपालिकालाई जनमुखी तथा जवाफदेही बनाई न्यायिक अनुशासन कायम गर्ने ।
  15. भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुको सुशासन प्रभावकारिता अवलम्वन गर्ने।
  16. भ्रष्टाचार नियामक निकायलाई सबल, सक्षम र प्रभावकारी बनाउने ।
  17. तीनै तहको सरकारमा भ्रष्टाचार निर्मुलीकरण हुनेगरी आन्तरिक अनुगमन र निगरानी प्रणालीलाई सबल तथा प्रभावकारी बनाउने
  18. Policy Making, implementation Process तथा Monitoring, evaluation and Execution level  मा सहभागितामूलक विकास प्रणाली अवलम्वन् गर्ने ।
  19. विकासको गुणस्तर लेखापरीक्षणलाई प्रभावकारी र पारदर्शी बनाउने ।
  20. आन्तरिक तथा अन्तिम लेखापरीक्षण प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउने ।
  21. मुलुकी देवानी संहिता र फौजदारी संहिताको प्रभावकारी उपयोग गरी न्यायमा आम नागरिकको पहुँच बढाउने र फौजदारी न्याय प्रणालीलाई भरपर्दो र विश्वसनिय बनाउने ।
  22. प्रशासकीय, आर्थिक तथा वित्तीय अनुशासनमा सुधार गरी दण्डहिनताको अन्त्य गर्ने ।
  23. सदाचार नीति निर्माण गरी प्रभावकारी कार्यान्वयनमा जोड दिने ।
  24. संविधानलाई सुशासनको गतिशील दस्तावेजको रुपमा ग्रहण गर्ने ।
  25. सबै दलहरुमा दलीय संस्कृतिको विकास गर्ने ।
  26. मुलुकमा सुशासन अभिवृद्धि गर्न राज्यका निकाय र संयन्त्रहरुलाई सुशासन मैत्री बनाउने ।
  27. म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने मूल नारा सहित भ्रष्टाचार नियन्त्रणको पहल आफैवाट शुरु गर्ने ।

अन्तमा,

भ्रष्टाचार तथा भ्रष्टाचारजन्य क्रियाकलाप राष्ट्रघाति अपराध हो र यसको नियन्त्रण हामी आफैले आजैवाट शुरु गर्नु पर्छ भन्ने नाराका साथ समाजलाई सुसूचित गर्न सकेको खण्डमा यस्तो आपराधिक क्रियाकलापवाट एउटा समाज मात्र होइन पुरै देशलाई बचाउन सम्भव छ र सदाचारी व्यक्ति समाजका गहना हुन् र यिनिहरुको सम्मान तथा जगेर्ना गर्नु प्रत्येक नागरिकको नैसर्गिक जिम्मेवारी तथा आवश्यकता हो भन्ने महशुष गर्न सक्नु नै आजको आवश्यकता हो ।

स्रोतः संविधान कार्यान्वयनः उपलब्धी, अपेक्षा र चुनौतीः काशिराज दाहाल, प्रशासनमा व्यवसायिकता र सदाचारिता- दामोदर रेग्मी, इन्टरनेटमा प्राप्त भ्रष्टाचार सम्वन्धी अन्य लेख तथा रचनाहरु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *