> आर्थिक/बिकास > प्यूठानमा करोडौं लगानीका तीन चिस्यान केन्द्र प्रयोग विहिन, किसानलाई सास्ती


प्यूठानमा करोडौं लगानीका तीन चिस्यान केन्द्र प्रयोग विहिन, किसानलाई सास्ती

प्यूठान । झिमरुक गाउँपालिका–३ आहालखोलाका किसानहरु चिस्यान केन्द्र (कोल्ड स्टोर) खोज्दै दाङको लमही पुग्ने गरेका छन् । राम्रो आलु उत्पादन हुने यस क्षेत्रका किसानहरु आलुको बीऊ भण्डारणका लागि दाङ पु¥याउनुपर्ने बाध्यता छ ।

 

जिल्लामा निर्माण भएको चिस्यान केन्द्रहरु संचालन हुन नसक्दा किसान्तहरुले सास्ती व्यहोर्नु परेको छ । ‘यहाँको करिव ९० जना किसानहरुले आलुको बीऊ सुरक्षाका लागि राप्ती कोल्ड स्टोर लमही लैजाने गरेका छौं ।’ ,स्थानीय नविन केसीले भन्नुभयो, ‘दाङ पु¥याउँदा खर्चिलो भएको छ ।’ यहाँ विशेष गरी टि.पि.एस.सँगै कार्डिनल र सजिता जातका आलु उत्पादन हुन्छ । आहालखोलाका किसानहरुले मात्र यस वर्ष १६ मेट्रिक टन आलु चिस्यान केन्द्रमा राख्न दाङ लगेका छन् । यहाँका किसानहरुसँगै जिल्लाभरका किसानहरु चिस्यान केन्द्र खोज्दै जिल्ला बाहिर जाने गरेका छन् ।

 

प्रतिकिलो ५ रुपैंया कोल्ड स्टोरको खर्चसँगै ढुवानी खर्चले गर्दा किसान मर्कामा परेका छन् । ‘पहिले जिल्लामा कोल्ड स्टोर नबन्दा सरकारी निकायहरुबाट ढुवानी वापत सहयोग किसानले पाउने गरेका थियौं ।’ ,केसीले भन्नुभयो, ‘जिल्लामा कोल्ड स्टोर बनेको छ, तर किसानले उपयोग गर्न पाएका छैनन, सहयोग पनि पाउन छोडेका छन् ।’ बाध्यताले बीऊका लागि टाढा लैजाने यहाँका किसानहरु जिल्लामै चिस्यान केन्द्र सञ्चालनमा आएमा व्यापारका लागि समेत सहज हुने बताउँछन् । बैशाख महिनाको मध्य तीर कोल्ड स्टोरमा लैजाने आलु भदौं मसान्तदेखि असोज मध्यसम्ममा ल्याउने गर्दछन् ।

 

प्यूठानका तीन स्थानमा करोडौं खर्च गरेर निर्माण भएका चिस्यान केन्द्र (कोल्ड स्टोर) प्रयोग बिहिन छन् । गुणस्तरीय प्रविधिको प्रयोग नगरी चिस्यान केन्द्र निर्माण हुँदा प्रयोग बिहिन बनेका हुन् । जिल्लामा माण्डवी गाउँपालिका, प्यूठान नगरपालिका र झिमरुक गाउँपालिकाले चिस्यान केन्द्र स्थापना गरेका छन् । करोडौँको लगानीमा निर्माण सम्पन्न भएका चिस्यान केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा पूर्ण रुपमा प्रयोग बिहिन भएका हुन् ।

 

माण्डवी गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा २०७७ सालमा एक सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ । वडा नं. ३ देविस्थानमा एक करोड १२ लाख ५८ हजार ८१८ रुपैंयाँ लागतमा केन्द्र निर्माण भए पनि चिस्यान केन्द्र प्रयोग बिहिन छ । प्यूठान नगरपालिका–४ विजुवारमा लुम्बिनी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा एक सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको ९० लाख र प्यूठान नगरपालिकाको ५९ लाख रुपैंयाँको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो । २०७८ जेठ १ गतेदेखि संचालनमा ल्याइएको यो चिस्यान केन्द्र किसानले उपयोग भने गर्न पाएका छैनन् । किसानले राखेका आलु, प्याजका बीऊ चिस्यान केन्द्रमै उम्रिन थालेपछि केन्द्र बन्द भएको हो ।

 

जिल्लामै झिमरुक गाउँपालिकाले दुई करोड १४ लाख रुपैंयाँको लागतमा २०८० सालमा चिस्यान केन्द्र निर्माण सम्पन्न गरेको छ । चिस्यान केन्द्र निर्माण सम्पन्न भए पनि संचालनमा आउन सकेको छैन । थप प्रविधिहरु जडान गरी संचालन गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले बताउनुभयो । कार्वनडाईअक्साईड कन्ट्रोल गर्ने कार्वन डम्पर, आद्रतालाई नियन्त्रण गर्ने क्युमिफागर, हावाको नियन्त्रण गर्ने एयर चेन्जर, विद्युत कन्ट्रोल गर्ने स्टेपलाईजर जस्ता प्रविधिको जडान गरि चिस्यान केन्द्र संचालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । अन्य ठाँऊहरुको अनुभव लिएर समेत केन्द्र संचालन गर्नुपर्ने भन्दै उहाँले प्रदेश सरकारबाट प्राविधिक सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

लुम्बिनी प्रदेश सरकारले लागत साझेदारी गरे पनि प्राविधिक सहयोग नगरेकोले स्थापना गरिएका चिस्यान केन्द्रहरु संचालनमा आउन नसकेको सरोकारवाला बताउँछन् । जिल्लामा पालिका अनुसार छुट्टछुट्टै चिस्यान केन्द्र स्थापना गर्नुभन्दा एउटा राम्रो र प्रभावकारी चिस्यान केन्द्र आवश्यक रहेको किसानहरु बताउँछन् । किसानका उत्पादनहरु चिस्यान केन्द्रमा राख्न पाएमा वेमौषममा राम्रो आम्दानी गर्न सकिने उनीहरुको भनाई छ । चिस्यान केन्द्र नहुँदा र चिस्यान केन्द्रसम्म उत्पादन पु¥याउन राज्यले सहयोग नगर्दा किसानहरुलाई आफ्नो लागत उठाउन समेत हम्य–हम्य परेको नविन केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *