गोविन्द गिरी
जीवनमा वास्तविक सौन्दर्यता मनोरन्जन, दया माया, सम्मान सत्कार, आत्मियता, मिठास, भावनात्मक प्रेम, सहयोग सद्भाव, हार्दिकता विश्वास, मानविय मूल्य मान्यता, प्राकृतिक सौन्दर्यताको हरियाली रङ, सुख शान्ति आनन्द, एकान्त रमणीय वातावरण यदि कहि कतै पाईन्छ भने त्यो गाउँमा नै हो । संसारका सबै ठुला शहरहरुको मुहान गाउँ नै हो र गाउँमा बस्ने किसानहरु नै हुन । वास्तवमा गाउँले जीवनको आनन्दको कुरा बेग्लै छ । चारै तिर हरियाली, एकान्त रमणीय वातावरण, प्राकृतिक रुपमै फुलेका विभिन्न रंङ्गीविरङ्गी पूmुलको वासना, सुन्दर दृष्यावलोकन, बिभिन्न जात जातीय भाषा, संस्कार संस्कृति, कला मनोरञ्जनात्मक चाडपर्व, अलगअलग भाषा भेषभुषा, खानपान र रहन सहनको मिश्रण नै गाउँको जिवन्त पहिचान हो । युवाहरुको विदेश मोह एवं पलायनले आज यीनै विविध विशेषता सम्भावना बोकेका गाउँहरु सुनसान एवं जंजर बनी रहेका छन । गाउँ नै गाउँले भरिएको कृषि प्रधान देश नेपाल, किसानहरुको बाहुल्यता रहेको भुगोल, चारैतिर भुगोल अनुसारको धेरै थरिका कृषि उत्पादन तरकारी, अन्न, फलफुल, जडिबुटी औषधी, पशुजन्य डाले घाँसपात, जैविक वनस्पतिको भण्डार, पशुपालनका क्षेत्रबाट लिन सकिने उत्पादन दूध दहि, घ्यू, मह, माछा, मासु लगायतका उत्पादनमा बृद्धि गरि जीवन र देशलाई समृद्ध बनाउने सम्भावना बोकेको यस क्षेत्रमा काम गर्ने युवाहरूको टड्कारो खाँचो छ । कृषि क्षेत्रको उत्पादनमा बृद्धि नगरेसम्म भोलिका दिनहरू बिकराल र कष्टकर हुने कुरालाई नकार्न सकिदैन । “कृषि कर्म हाम्रो जीवन हो, कृषि उत्पादन हाम्रो जीवनको धर्म हो“ भन्ने सन्देश र शिक्षा आज राज्यको मुलनीति हुनु र बनाईनु पर्दछ। कृषि उत्पादनमा आधुनिक वैज्ञानिक प्रविधि प्रणाली, कृषि शिक्षामा जनताको सहज पहँुच गराउने कुरामा राज्यको यथेष्ट लगानी र ध्यान जानु पर्दछ । किसानमैत्री राज्य, कृषकमैत्री लगानी बनाउने कुरामा आज सरकारको नीति तथा कार्यक्रम हुनु पर्दछ। कंक्रिटका ठुला–ठुला भौतिक संरचना निर्माण र कोरा भाषणले भन्दा, ठुलाठुला धानका बाला, ठूलाठुला मकैका घोंगा र ठुलाठुला आलु प्याजका डल्लाले देश समृद्ध बनाउन सकिन्छ भन्ने सोचाइ र शिक्षाको विकास आम जनतालाई गराउनु राज्यको आजको प्रमुख दाईत्व हो ।
प्यूठान जिल्ला लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये समुन्द्र सतह देखि ३०५ मिटर देखि ३६५९ मिटर उचाई सम्मका भुगोलमा १३६५ वर्गकिलोमिटरमा उष्णा समशितोष्णा र सीत हावा पानीमा औषत १३०० मि.लि. मिटर वर्षा सहित १४ डिग्री देखि २४ डिग्री सेन्टीग्रेट तापक्रमका वीचमा अवस्थित छ । यस जिल्लाले लुम्बिनी प्रदेश भुगोलमा पूर्व गुल्मी र अर्घाखाँची, पश्चिम दाङ र रोल्पा, उत्तर बाग्लुङ र रोल्पा, दक्षिण अर्घाखाँची र दाङ, जिल्लालाई जोड्ने कार्य गर्दछ । यस जिल्लाले राजनैतिक एवं प्रशासनिक क्षेत्रमा दुई नगरपालिका स्वर्गद्धारी नगरपालिका, प्यूठान नगरपलिका, झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका, नौबहिनी गाउँपालिका, माण्डवी गाउँपलिका, ऐरावती गाउँपालिका र सरुमारानी गाउँपालिका गरी सात वटा गाउँपालिका, दुई प्रदेश निर्वाचन क्षेत्र र एक संघीय निर्वाचन रहेको छ ।
बामपन्थीहरुको उर्वाराभूमि मानिने यस जिल्लामा २०७९ को स्थानीय निर्वाचनमा महागठबन्धनका विरुद्ध सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिकामा नेकपा (एमाले)ले बुहमतका साथ स्थानीय सरकार गठन गरेको छ भने झिनो मतले माण्डवी गाउँपालिका, मल्लरानी गाउँपालिका, गौमुखी गाउँपालिका, स्वर्गद्धारी नगरपालिका र प्यूठान नगरपालिका स्थानीय सरकार गठन गर्नबाट चुकेको छ भने झिमरुक गाउँपालिका नेकपा (एमाले)को सहयोगमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । प्रदेश निर्वाचन क्षेत्र मध्य प्रदेश निर्वाचन क्षेत्र क मा नेकपा (एमाले)का तर्फबाट माननीय तुल्सीराम शर्माले गठबन्धनका विरुद्ध भारी मतले जीत निकाल्न सफल हुनुभयो । प्रदेश निर्वाचन क्षेत्र ख मा झिनो मतले पराजित हुन गयो । त्यसैगरी जिल्लाको एक मात्र संघीय निर्वाचन क्षेत्रमा महागठबन्धनका विरुद्ध नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य युवा नेता कमरेड सूर्य थापाले ५ हजार भन्दा बढि मतान्तरले महागठबन्धनलाई पराजित गर्नुभयो ।
परम्परागत निर्वाहमुखी कृषि प्रणालीबाट आत्मनिर्भर एवं व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण हँुदै गरेको जिल्ला मध्ये एक हो लुम्बिनी प्रदेशको, प्यूठान जिल्ला । गर्तन खोला, आहाल खोला, लुङ खोला हुँदै बनेको झिमरुक खोला र रोल्पादेखि बग्दै आएका लुङ्ग्री माडि खोलाबाट शुरु भई अरुङ खोला, बाय खोला हुँदै बनेको माडि खोला प्यूठानका दूई जलाधार नदि हुन् । जसमा माडि खोलाको पानीलाई कृषि क्षेत्रमा प्रयोग गर्न नसकिएतापनि भविष्यमा लुंग्री माडि सिंचाई आयोजना सम्पन्न हुनसकेमा कृषि सिंचाई प्रयाप्त हुने देखिन्छ । साथै नौमुरे बहुउद्देश्यीय जलविद्युत परियोजना संचालनमा आउन सक्यो भने यस क्षेत्रको सिंचाईका साथै दाङ र कपिलबस्तु जिल्लाका हजारौं हेक्टर जमिनमा सिंचाई समेत गर्न सकिन्छ । झिमरुक नदिको पानीलाई भने जिल्लाका पाँच वटा पालिकामा यथेष्ट रुपमा कृषि उत्पादनमा प्रयोग गरिएको छ भने उक्त झिमरुक नदिबाट नर्वे सरकारको सहयोगमा १२ मेगावाटको झिमरुक जलविद्युत आयोजना समेत संचालनमा आएको छ । जसले जिल्लालाई विद्युत ऊर्जाको क्षेत्रमा आत्मनिर्भर बनाएको छ ।
पुराना एवं परम्परागत कृषि कार्यमा परिमार्जन गरी समयको माग अनुरुप जिल्लालाई कृषिमा व्यवसायिक एवं आत्मनिर्भर बनाउन विगत ५÷७ वर्षदेखि लागि परेका जिल्लाका धेरै व्यवसायिक किसानहरु मध्ये केहि नमुना एवं उदाहरणीय कृषि तथा पशुपंक्षीजन्य, जडिबुटि, बनस्पति एवं डाँले घाँस, फलफूल तथा तरकारी उत्पादन फर्म संचालन गरेका केही कर्मठ कृषक एवं फर्म सञ्चालकहरुको परिश्रम, मिहनत र पौरखका प्रेरणादायी संक्षिप्त समरण यहाँ प्रस्तुत गर्ने गमर्काे गरेको छु ।
१) पदम केसी (लिवाङ) ः गौमुखी गाउँपालिका वडा नं. ६ लिवाङ निवासी ३० वर्षिय पदम केसीले बाख्रापालनबाट शुरु गरेको कृषि कर्मलाई नर्सरीबाट घाँस, फलफूल तथा अन्य जडिबुटिका विरुवा उत्पादनलाई व्यवसायिक बनाएका छन् । २०७३ सालदेखि कृषि कर्म शुरु गरेका उनले हालसम्म ५० लाख कमाई गरेको बताउँछन् । ३ लाख बढिको लगानीमा शुरु गरेको कृषि फर्ममा अहिले पनि २५ लाख बराबरकोको उन्नत जातका बोका, बाख्रा र विरुवा छन् । कफि, टिमुर, डाले तथा भुई घाँस जातका विरुवा छन् ।
२) नविन कुमार श्रेष्ठ (विजुवार) ः सूचना प्रविधिको क्षेत्रमा प्यूठानमा कुनै समय तहल्का मच्चाएका नविन अहिले कृषि पेशमा समेत आवद्ध छन् । प्यूठान नगरपालिकाको विजुवारको फाँट नयाँ कृषि फलफूल खेती थालेका उनलाई शुरुमा कसैले पत्काएनन् । पाँच वर्ष पहिले शुरु गरेको ड्राईगन फ्रुटले यस अवधिमा ५० लाख बराबरको कमाई दिएको फर्मका साझेदार सञ्चालक लोकबहादुर गुरुङले बताउनुभयो ।
३) भोजबहादुर बस्नेत (खैरा) ः जागिरे जीवनबाट निबृत्त भएका भोजबहादुर बस्नेत अहिले माछापालनमा व्यस्त हुनुहुन्छ । प्यूठान नगरपालिका१ खैरामा जग्गा लिजमा लिएर उहाँले माछापालन थाल्नुभएको हो । यसलाई विस्तार गर्दै उहाँले भैसीपालन समेत गर्नुभएको छ । माछा तथा दुध विक्रिबाट बार्षिक १० लाख कमाई गर्ने उहाँले बताउनुभयो । उक्त फर्म ५० लाख बढिको लगानीमा संचालन भैरहेको छ । उहाँले ४ जनालाई नियमित र अन्यलाई दैनिक ज्यालादारीमा रोजगारी समेत दिनुभएको छ ।
४) पोम बहादुर नेपाली (चुँजा) ः मल्लरानी गाउँपालिका वडा नं. १ का स्थायीबासी हुन्, पोम बहादुर नेपाली । उहाँले नौ वर्ष अघि महुरीपालन शुरु गर्नुभयो । यससँगै उहाँले किवि खेती समेत गर्दै आउनुभएको छ । २० लाखको लगानी रहेको कृषि व्यवसायले बार्षिक ५ लाख आम्दानी गर्दै आएको उहाँले बताउनुभयो ।
५) हुमबहादुर थापा (तल्लो मान्द्रे) ः सरुमारानी गाउँपालिका वडा नं. ४ निवासी हुमबहादुर थापा मौरिपालन व्यवसायमा व्यस्त हुनुहुन्छ । बैदेशिक रोजगारको शिलशिलमा लामो समय मलेसियामा रहेका उहाँ अहिले १२५ घार मौरीपालन गर्नुभएको छ । उहाँले व्यवसायमा खर्च कटाई वार्षिक २२÷२३ लाख कमाई गर्नुहुन्छ ।
६) नीमबहादुर घर्तिमगर (स्याउलिवाङ) ः नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलिवाङ खारखोला निवासी नीमले स्थानीय जातको आलु उत्पादन गर्नुहुन्छ । तीन वर्ष मेलेसिया र १८ महिना कतारमा रोजगारीको शिलशिलमा पुग्नुभयो । आफ्नै ठाँऊमा केहि गरौं भन्ने सोचले उहाँ कृषि व्यवसायमा आवद्ध हुनुभयो । आलु उत्पादन गरी ट्याक्टरमा राखि बाहाने, बाग्दुला, विजुवार पु¥याएर उहाँले विक्रि गर्नुहुृन्छ ।
७) गोविन्द गिरी (टिमुरचौर) ः झिमरुक गाउँपालका वडा नं. ८ टिमुरचौर निवासी ५० वर्षिय गोविन्द गिरीले माल्वक केरा थाल्नुभएको छ । लामो समय सामाजिक क्षेत्रमा क्रियाशिल उहाँ केहि समय दुर्वसनमा समेत फस्नुभयो । सुधार केन्द्रको बसाई पश्चातको नयाँ जीवनलाई उहाँले शिक्षाका साथै कृषि क्षेत्रमा रमाउने प्रण गर्नुभएको छ । आफ्नै १३ रोपनी बाँझो खेतमा यहाँले यस वर्षदेखि केरा खेती थाल्नुभएको हो । स्थानीय जातका मुंग्रे खेरा र माल्वक केरा खेती करिव दुई लाखको लगानीमा ३ सय विरुवा रोपण गर्नुभएको छ । उक्त जग्गामा यहि असार महिनामा पाँच सय श्रीखण्डका विरुवा लगाउने योजना बताउनुभएको छ ।
८) पूर्ण बहादुर घर्तिमगर (गोठिवाङ) ः स्वर्गद्धारी नगरपालिका वडा नं. ९ गोठिवाङका पूर्णले तरकारी खेती गर्नुहुन्छ । जननिर्वाचित वडा सदस्य समेत रहनुभएका उहाँले तरकारी खेतीबाट बार्षिक ६ लाखको कारोवार गर्नुहुन्छ । टमाटर, काँक्रा उत्पादन गरी स्थानीय बजारमा विक्रि गर्नुहुन्छ । ४० लाखको लगानीमा २०७६ सालदेखि उहाँले व्यवसाय शुरु गर्नुभएको हो ।
९) बसन्ता घर्ति (तिराम) ः माण्डवी गाउँपालिका वडा नं. १ तिराम छविसे निवासी बसन्ता घर्तिले टमाटर खेतीमा व्यस्त हुनुहुन्छ । योसँग उहाँले लहरेवाली खेती गर्नुहुन्छ । ४४ रोपनी क्षेत्रफलमा फैलिएको खेतीमा लौका, बोडि, सेमी समेत उत्पादन हुन्छ । यस र्फमबाट ८ जनाले रोजगारी समेत पाएका छन् । कृषि जेटिए अध्ययन गर्नुभएका बसन्ताको दम्पत्ति नै यस खेतीमा संलग्न हुनुहुन्छ । प्यूठान, रोल्पा जिल्लाबाट बजारमा उत्पादन पठाउने गरेको उहाँले १६ लाखबाट व्यवसाय शुरु गर्नुभएको हो । उहाँले बार्षिक २०÷२५ लाखको व्यापार गर्नुहुन्छ ।
१०) खड्क बहादुर जि.सी. (बाँदिखोला) ः नेपाली सेनाबाट सेवानिवृत्त भई प्यूठान जिल्ला झिमरुक गाउँपालिका वडा नं. ५ बाँदिखोला निवासी खड्कबहादुर जि.सी. फलपूmल व्यवसायमा आवद्ध हुनुभएको छ । आफ्नै जमिनमा उहाँले सुन्तला, कमला खेती गर्नुभएको छ ।
यी त प्रतिनिधि पात्र मात्र हुन् । जिल्लालाई आत्मनिर्भर र व्यवसायिक कृषि उत्पादनमा अगाडी बढाउन नौ वटै स्थानीय तहका अरु धेरै कृषकहरु लागि पर्नुभएको छ । जसका बारेमा हामी क्रमशः चर्चा गर्दै जाने नै छौं ।
अहिले नगरे कहिले गर्नु हामीले नगरे कल्ले गर्ने ? भन्ने भावना र स्प्रिटका साथ सम्पूर्ण युवाहरुलाई व्यवसायिक उत्पादनमुखी कृषि प्रणालीमा आवद्ध हुन अनुरोध गर्दै कृषि क्रान्ति राष्ट्रिय आर्थिक क्रान्ति हुनेछ यसले नै नेकपा (एमाले)ले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई परिपुर्ति गर्नेछ ।
(नेकपा (एमाले) प्युठान काठमाडौं सम्पर्क मंचको मुखपत्र रातो फुलवारीमा प्रकाशित)
