> विचार > स्वर्गद्वारी प्यूठानमा पर्छ र ? भन्ने भ्रम थियो


स्वर्गद्वारी प्यूठानमा पर्छ र ? भन्ने भ्रम थियो

इमानसिंह भारती
प्यूठान उद्योग वाणिज्य संघको भ्रमणमा पहिलो पटक निस्केका थियौं । म त्यस समय महासचिव थिए । राजधानी, पर्यटकीय नगरी र व्यापारीक क्षेत्र हाम्रा गन्तव्य थिए अर्थात बुटवल, चितवन, हेटौडा, विरगञ्ज, विराटनगर हुँदै इलाम र दार्जिलिङबाट फर्केर काठमाण्डौ, पोखरा, पाल्पा हुँदै नेपालगञ्जसम्म त्यो लामो भ्रमणले प्यूठान उद्योग वाणिज्य संघको आन्तरिक मजबुति मात्र होइन प्यूठान पर्यटनको पनि प्रचारमा निक्कै सहयोग पुगेको थियो ।

 

प्यूठानको मायाको चिनो स्वर्गद्वारीको फ्रेममा राखेको फोटो दिँदा काठमाण्डौ चेम्बर अफ कमर्सका तत्कालिन अध्यक्ष राजेशकाजी श्रेष्ठ “म आफु दाङ हुँदै प्यूठान पुगेको थिए के स्वर्गद्वारी प्यूठानमा पर्छ र ?” भनेर प्रश्न गर्नुभयो । हामी सवैले प्यूठानमा पर्छ नी स्वर्गद्वारी त एकमुष्ट जवाफ दिएका थियौं ।

०६४ मा आइपुग्दा म प्यूठान उद्याेग वाणिज्य संघको निर्विरोध अध्यक्ष हुने अवसर प्राप्त पछि प्यूठानलाई चिनाउन महोत्सव लगाउनुपर्छ भन्ने सिङ्गो कार्यसमितिको एक मत रह्यो । तर महोत्सवको अगाडी स्वर्गद्वारी समेत थप्ने गरि करिव २ वर्ष लामाे तयारी गरेर २०६५ फागुन २ देखि १२ सम्म महोत्सव शुरु गरियाे । मेला महोत्सव सञ्चालन गरिरहेका विभिन्न जिल्लाको भ्रमण गरि तयारीलाइ टेवा पुग्याे ।

 

जिल्ला भित्र सवै राजनीतिक दल, स्थानीय निकाय, सरकारी कार्यालय सवैले हास्टेमा हैसे गर्ने निणर्य गरे । स्वर्गद्वारी आश्रममा स्थानीय प्रशासन र संघको एउटा टोली दाङ घोराही हुँदै रोल्पाको होलेरीबाट स्वर्गद्वारी पुग्यौ र महोत्सव स्वर्गद्वारीकै नामबाट विजुवारमा स्वर्गद्वारीकाे प्रतिमा सहितकाे मन्दिर स्थापना गरि सञ्चालन गर्ने निणर्य भयो । त्यो वर्षसम्म प्यूठानबाट स्वर्गद्वारी जान पैदल जानु पर्दथ्यो ।

 

स्वर्गद्वारी जानका लागि देविस्थान, उदयपुरकोट, स्याउलेघारी, गोठिवाङ, भिंगृ, धनवाङ जस्ता दर्जनौ ठाउँबाट सडक लैजानका लागि शुरुवात थिए तर कुन सडक मुख्य भन्ने थिएन तर हामी राजनीति समझदारी बनायौं र भिंगृ-स्वर्गद्धारी सडक खोल्ने निणर्य गर्‍यौं ।

केन्द्र्रमा सरकारका स्थानीय विकास मन्त्री एमालेका राम चन्द्र झा हुनुहुँदो रहेछ अहिलेका प्यूठानका प्रतिनिधि सभाका साँसद सूर्य थापाको सहयागमा हाम्रो प्यूठान उद्योग वाणिज्य संघको टोलीले राम चन्द्र झालाई भेट गर्‍यौं । उहाँ अत्यन्तै सकारात्मक रहनु भयो ।

 

स्थानीय निकायको सहभागितामा बजेट विनियोजन गर्ने समझदारीमा जिल्ला विकास समिति प्यूठानसँग सहकार्य गरि भिंगृ-स्वर्गद्वारी सडक र खलंगा-थापाडाँडा-विजुवार सडक सञ्चालनमा ल्याउने कोषिस गरियो तर महोत्सव अगाडी खलंगा-थापाडाँडा-विजुवार सडक सञ्चालनमा ल्याएपनि भिंगृ-स्वर्गद्वारी सडक महोत्सव पछि सञ्चालनमा आयो । स्वर्गद्वारीमा पहिलो पटक सडकको लागि १ करोड रुपैयाँ बजेट बिनियाेजन गरिएकाे खबर प्राप्त हुँदा हामी अचम्मै परेको भरखर जस्तो लाग्छ ।

आज स्वर्गद्वारी कहाँ होर ? भन्ने दिन गइसकेका छन् । तर स्वर्गद्वारीको एकिकृत विकासको लागि स्वर्गद्वारी वरिपरि रहेको २६ हजार रोपनी जग्गा, दाङमा रहेको १ हजार ५४ विघा जमिनको समुचित प्रयोग गर्दै चाल्नेटारमा “स्वर्गद्वारी विमानस्थल” सुविधा सम्पन्न होटल, रिर्सोट, स्वर्गद्वारी केवलकार अहिले पनि खड्किएका विषय हुन् ।

 

महोत्सवका नकारात्मक पक्षलाई ख्याल गर्दै सकारात्मकलाई आत्मसाथ गर्ने यहि माघ ४ गते विजुवारमा भएको सर्वपक्षिय भेलामा सुझाव आएका छन् । म आफु यो सुझावले निक्कै हर्षित भएको छु ।

पहिलो, महोत्सवका कारणले दुई वटा सडक जसले प्यूठानलाई सुन्दरता प्रदान गरेको छ ।
दोस्रो, प्यूठानको माडी नदीमा र्‍याप्टिङ्ग सेवा सञ्चालन गर्न सकिन्छ भन्ने सफल परिक्षण भएको छ ।
तेस्रो, माडी क्षेत्र र झिमरुक क्षेत्र दुवैमा प्याराग्लाइडिङ्ग सेवा सञ्चालन गर्न सकिने परिक्षण भएको छ ।
चौथो, प्यूठानमा रहेका पर्यटकीय स्थल र यहाँ उत्पादन भएका घरेलु, कृषि र वनजन्य उत्पादनको व्यापक प्रचार प्रसार भएको छ र केही व्यवसायी व्यवसायमा स्थापित हुनु भएको छ ।
पाँचौ, स्वर्गद्वारी धर्मशाला भिंगृमा स्थापना भएको छ ।
छैठौं, गाजुरीमा सहिद पार्क निर्माण भएको छ ।
सातौं, प्यूठानीहरुले ठूला मेला महात्सवको नजिकैबाट अवलोकन गर्न पाएका थिएनन् त्यो आफ्नै घर आगनमा हेर्ने, मनोरञ्जन लिने अवसर प्राप्त गरेका छन् ।
आठौं, नव कलाकार, खेलाडी, कविले आफ्नो प्रस्तुतीको अवसर प्राप्त गरेका छन ।

नवौं, कथामा सुनेका, आकासमा देखेका प्यूठानीले मौतका कुवा, बाल उद्यान, पिङ, हेलिकोप्टरको यात्रा, र्‍यापिटङ्गको जल सवार, भैंसी जत्रो चरा अस्ट्रिज, होचो मान्छे, होचा कलाकार, एक खुट्टे कलाकार, विभिन्न जाँदुहरु र देश विदेशमा उत्पादनका कैयौं चिज बस्तुहरु आफ्नै आँखाले हेर्ने अवसर प्राप्त गरेका छन् ।

दशौं, देशको आमूल परिवर्तन गर्ने अठोटका साथ आफ्नो जीवन राष्ट्रलाई सुम्पेका राष्ट्रपति देखि प्रधानमन्त्री हुँदै मन्त्री र राष्ट्रका स्थायी सरकार सचिवदेखि योजना आयोग समेतलाई प्यूठानमा ल्याई प्यूठानका समस्यालाई राष्ट्रियकरण गर्न सफल भएका छाैं ।

 

एघारौं, नीजि क्षेत्रको पनि राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान छ र नीजि क्षेत्रका उद्योगीका नेता स्थापित गर्न महोत्सवले ठूलो योगदान दिएको छ ।

यो सकारात्मक पक्ष हुन भने जिल्लाको उत्पादनलाई बढाउँदै बाहिर पठाई आम्दानी गर्नेमा हामी कमजोर छौं । जिल्लामा रहेका कलाकार भन्दा बाहिरका कलाकारलाई बढी पारिश्रमिक दिँदा पैसा बाहिर गएको छ, बाल उद्यान लगायतको रकम बाहिर जान्छ यो चाँहि सत्य हो यसलाइ सकेसम्म जिल्लामा स्थापित हुने गरि आगामी कार्यक्रम तय हुनुपर्छ । काम गर्ने दौरानमा स-साना कमजोरी होलान् त्यसलाई यति ठूलो उपलब्धीलाई नै छायाँमा पार्ने काम हामी भित्रबाटै हुने गर्छ यसलाई सुधारौं ।

 

अन्त्यमा, यो पटक हुने महोत्सवले ३ वटा मात्र कुरामा राज्यको ध्यान केन्द्रित गर्ने कुरामा ध्यान पुराऔं । मेला महोत्सव त हुन्छ नै त्यसलाई व्यवस्थित गर्दै प्रथम, प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा भारत सरकारले उपहार स्वरुप निर्माण गरिदिने भनेको नौमुरे बहुउदेश्यीय जलविद्युत आयोजना निर्माणको लागि नेपाल सरकारको फेरी ध्यानाकर्षण गरौं ।

दोस्रो, भारत सिमा कोइलाबासबाट भालुवाङ, प्यूठान, बाग्लुङ, भिमगिठेबाट मुस्ताङ(मुक्तिनाथ) देखि चीनको लोमाङथान जोड्ने त्रिदेशिय सडक निर्माणको लागि सरकारलाई दबाव सृजना गरौं ।

तेस्रो, स्वर्गद्वारीलाई विकास समिति मार्फत सञ्चालन गर्दै यसैलाइ केन्द्रमा राखी प्यूठानका “एक स्थानीय तह एक पर्यटकीय गन्तव्य” मुख्य निर्माण गरौं र स्वर्गद्वारी विमानस्थल, केवलकार र अन्य ठाउँमा जीपलाईन, साहासिक खेलहरु, होम स्टे, होटल, रिर्सोटका साथै झिमरुक, माडी र बाङ्गेशालको समतल भूभागलाई कृषि पर्यटनमा रुपान्तरण गरौं । यस्तै छन हिजो आजका कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *