> स्थानीय सरकार > जनशक्ति अभावले कार्यक्रम कार्यान्वयनमा समस्या भएको छ: विष्णु कुमार गिरी


जनशक्ति अभावले कार्यक्रम कार्यान्वयनमा समस्या भएको छ: विष्णु कुमार गिरी

जिल्लाको दुर्गम पालिकाको रुपमा चिनिन्छ गौमुखी गाउँपालिका । यस पालिकामा शिक्षा, स्वास्थ्य, सडक, विजुली लगायत क्षेत्रमा विकास हुन सकेको छैन । स्थानीय तह बनेसँगै नयाँ जनप्रतिनिधि आएपछि पालिकामा विकासको चित्र कोरिन थालेको छ । स्थानीयको आवश्यकताको आधारमा विकास निर्माणका काम भइरहेका छन् । गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीसँग गरिएको कुराकानीको सार संक्षेप ः

पछिल्लो समय पालिकाले के कस्तो गतिविधि सञ्चालन गर्दैछ ?
गाउँपालिकाको नियमित गतिविधि अन्र्तगत चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनको चरणमा अगाडी बढिरहेका छौं । धेरै योजना सम्झौता भएर कार्यान्वयन चरणमा अघि बढेका छन् । केहि ठूला योजनाको टेण्डर प्रक्रिया हुने क्रममा छ । सामाजिक सुरक्षा भत्तालाई बैङ्किङ प्रणालीमा लैजान कठिनाई भइरहेको थियो, त्यसलाई बैङ्क मार्फत वितरण प्रक्रिया मिलाएका छौं ।

 

सामाजिक सुरक्षा भत्ता वितरणमा कस्तो खालको समस्या देखिएको हो ?
सामाजिक सुरक्षा भत्ता बैङ्कबाट वितरण गर्ने सरकारले अनिवार्य गरेपछि दशै अगावै वितरण गरिसक्नुपर्ने भत्ता वितरणमा विलम्व भयो । पहिले प्रत्येक वडामा पुगेर वितरण गर्ने गरिएको सामाजिक सुरक्षा भत्ता हामीले निर्वाचनका बेला टोलटोलमै पुगेर वितरण गर्छौ भनेर प्रतिवद्धता जनाएका थियौं, तर हाम्रो त्यो मुद्धामा ठेस लागेको छ । नगद वितरण गर्दा कतिपय ठाउँमा चुहावट, अनियमिता भयो भनेर, सुरक्षित र पारदर्शिता कायम गर्न राज्यले बैङ्किङ सिस्टम ल्याएको होला । तर दुरदराजमा रहेका व्यक्तिहरुलाई अत्यन्तै कठिनाई भएको छ । उहाँहरुलाई पनि जनप्रतिनिधिले नै दुःख दिए भन्ने पनि लागेको हुनसक्छ । सरकारको नीति निर्देशन कार्यान्वयन गर्नुपर्ने हाम्रो बाध्यता हो । अशक्त, अपाङ्गता भएका लगायत व्यक्तिलाई सहज वातावरण कसरी बनाउन सकिन्छ भनेर पालिकाले प्रयास गरिरहेको छ ।

 

खरको छाना विस्थापित गर्ने अभियान जिल्लामै पहिलो पटक गौमुखीले शुरुवात गर्यो । पछि केन्द्र तथा प्रदेश सरकारबाट समेत उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । गौमुखीको अभियान कहाँ पुग्यो ?
खरको छानो विस्थापित अभियान करिव करिव टुङ्गिएकै अवस्था हो । पालिकाको वडा नम्वर ५ खुङ र वडा नम्वर ७ नारिकोटमा अझै पनि थोरै कार्यक्रम छ । जनता आवासको कार्यक्रम पनि चलिराखेको छ । सङ्घबाट पनि ५० घरलाई सहायता गर्ने कार्यक्रम आएको थियो । त्यसलाई वडामा विभाजन गरेर वितरणको प्रक्रियामा छौं ।

 

त्यसकारण हाम्रो गौमुखी गाउँपालिका खरको छानो विस्थापित घोषणा गर्ने चरणमा हामी पुग्दैछौं । तर समस्या के भयो भने वर्षेनी घरपरिवार छुट्टिने गर्दा फेरी सङ्ख्या थप हुने गरको छ । शुरुवातमा करिव ५ करोड लगानी गरियो, त्यसपछि करिव १ करोड रुपियाँ र यो वर्ष १० लाख लगानी गरियो । यसले विपद्का घटनामा न्यूनिकरण भएको छ । आगलागीका घटनामा कमी आएको छ । यो वर्ष खरको छानो मुक्त घोषणा गर्छौं ।

 

पालिकाले युवाहरुलाई आर्कषित गर्ने गरेर लोकसेवा तयारी कक्षा सञ्चालन गरेको थियो । त्यसको प्रतिफल कस्तो रह्यो र अहिले त्यसप्रकारको कार्यक्रम के छ ?
यसलाई हामीले नयाँ आयामको रुपमा लिएका छौं । हाम्रो पालिकामा कर्मचारी अभावको बीचमा कार्यालय सञ्चालन भइरहेको छ, पालिकामा शिक्षाको पहुँचको समस्या अझै छ । उपल्लो तहको शिक्षा हासिल गर्नका लागि शहर जानुपर्ने बाध्यता रहेको छ ।

 

एसएलसी पास गरेको, प्लस टु पास गरेको व्यक्तिलाई न्यूनतम लोकसेवा आयोग, शिक्षक सेवा आयोग, नेपाल प्रहरी, नेपाली सेना, भारतीय सेनामा जागिर खाने इच्छा भएका यूवालाई एक प्रकारको भोक जगाउने खालको कक्षा सञ्चालन गर्‍यौ । सिमित समयसम्म मात्र कक्षा सञ्चालन गर्दा त्यसप्रति भोक जगाउने काम मात्रै भयो । उहाँहरुलाई पढ्ने सामाग्री पनि उपलब्ध गराएका थियौं । यद्यपि शिक्षक सेवा आयोग खुलेको छैन । कोभिडका कारण गत वर्ष त्यो कार्यक्रम नियमित सञ्चालन गर्न सकिएन । यो वर्ष पनि सञ्चालन गर्ने कि भन्ने सोंच बनाएका छौं ।

 

शुरुको वर्षको कार्यक्रमले राम्रो सन्देश दिएको छ । नपढी हुँदो रहेनछ, पढ्ने तरिका यो रहेछ भन्ने सन्देश दिन सफल भएका छौं । नाम निकाल्ने सङ्ख्याको रुपमा हेर्दा प्रतिफल त भएन तर विस्तारै प्रतिफल आउँछ भन्नेमा आशावादी छौं ।

 

 

गौमुखी गाउँपालिका जिल्लाको विकट मध्येको एक स्थानीय तह हो । पालिकाको प्राथमिकतामा परेका योजना के हुन ?
हामीले प्राथमिकतामा पारेका ठूला योजनामा सडकका योजना, झोलुङ्गे पुल, विजुली विस्तार, विद्यालय भवन, शिक्षक पदपुर्ति, स्वास्थय लगायतका छन् । विद्युतलाई साविकका रजवारा र अर्खा गाविसमा अझै पुरा गर्न सकिएको छैन ।

 

अहिले सवै वडामा बाटो पुगेको छ, बस पुगेको छ । गत असार १ गतेदेखि पालिकाले एमविविएस डाक्टरको व्यवस्था गरेका छौं । यो पनि अत्यन्तै महत्वपूणर् योजना हो । ल्याव, एक्सरे सेवा उपलब्ध छ । डाक्टरको व्यवस्थापन भएपछि पालिकाभित्रका स्थानीय पैदल आएर सेवा लिन सक्ने वातावरण मिलेको छ ।

 

पर्यटनको क्षेत्रमा गौमुखीको पर्यटन प्रर्वद्धनका लागि गौमुखी मिडिया सम्मेलन गरेका छौं । खरको छानो मुक्त अभियान पनि प्राथमिकताको योजना हो ।

 

 

गत वर्ष कृषि तथा पशुपालनको अनुदानको बजेट संसोधन गरेर बाटो निर्माणमा लगाएको भन्दै स्थानीयले गुनासो गरेका थिए । यसपटक कृषि तथा पशुपालनमा बजेट कार्यक्रम के रहेको छ ?
कर्मचारी अभावले गर्दा बजेट कार्यान्वय गर्न समस्या थियो । जसले गर्दा विनियोजन गरिएको बजेटमा संसोधन गरिएकै हो । संसोधनपछि पनि बाँकी रहेको बजेट पूणर् कार्यान्वयन गर्न सकिएन । अनुदानको कार्यक्रम बाहेक थप काम गर्न सकिएन ।

 

त्यतिवेला कृषि क्षेत्रको विज्ञबाट गाउँको सम्भाव्यताको विषयमा अध्ययन हुँदै थियो । आर्थिक वर्षको अन्तिम समय भएकाले बजेटलाई जसरी पनि सक्नुपर्छ भन्ने भन्दा पनि आगामी वर्ष थप व्यवस्थित योजना सञ्चालन गर्ने योजनाले संसोधन गरिएको थियो ।

 

यो वर्ष कृषि र भेटनरीको क्षेत्रमा डेढ करोड भन्दा बढी रकम विनियोजन भएको छ । भेडापालन, प्रत्येक वडामा घाँस, फलफुलको नर्सरी स्थापनाको कार्यक्रम, अनुदानका कार्यक्रम तय गरेका छौं । योजना विनै रकमको खर्च गर्दा दुरुपयोग हुन्छ कि भनेर रोकिएको हो । किसानको विपक्षमा रहेर बजेट कटौती गरिएको होइन ।

 

 

जनशक्तिको समस्याको विषय उठाउनुभयो । खास समस्या के हो ?
शुरुको समयमा लोकसेवालाई माग्न पर्ने आवश्यक कर्मचारीको कोटाको पत्र सम्वन्धित ठाउँमा पुग्न सकेन । पत्र पठाउँदा भएको त्रुटीको कारणले गर्दा कर्मचारी अभावको समस्या झेलेका छौं ।

 

स्थानीय तहमा समायोजन भएर आउनुभएको १ जना कृषि प्राविधिक हुनुहुन्छ । सचिव २ जना हुनुहुन्छ । सङ्घबाट १ जना अधिकृत, १ जना खरिदार र २ जना लेखापाल हुनुहुन्छ । अनि स्वास्थ्यका कर्मचारी हुनुहुन्छ । यो अवस्थामा अस्थायी करारका कर्मचारीको सहायतामा काम गर्नुपरेको अवस्था छ । कतिपय करारका कर्मचारी हटाउन निर्देशन आएको छ । जसले गर्दा अभावै अभावमा काम गर्नुपर्ने अवस्था छ ।

 

 

तपाईले गर्नुभएको प्रतिवद्धता कति पुरा भए ? बाँकी अधुरा योजना कहिलेसम्म पुरा होला ?
हामीले बोल्दा, भन्दा धेरै कुराहरु भन्ने रहेछौं । तर कार्यसम्पादनको क्रममा समय लाग्दो रहेछ । ५ वर्षको अवधि होइन ७ वर्ष वा १० वर्ष अवधि लाग्दो रहेछ । प्रतिवद्धता अनुरुपका धेरै योजना सम्पन्न भएका छन् । केहि योजना अधुरा छन र केहि पालिकाले मात्र गर्न सम्भव छैन । एकाध योजना राज्यका अन्य निकायले सम्वोधन गर्नुपर्ने खालका छन् । बाँकी रहेका योजनालाई बाँकी समयावधि भित्र सम्पन्न गरेर जनतालाई इमान्दारीतापूर्वक काम गर्यो भन्ने सन्देश दिएर विदा हुने योजनामा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *