प्यूठान । युवाहरुमा बैचारिक दृष्टिकोण सहितको नेतृत्वको खाँचो रहेको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बताउनुभएको छ । आईतबार विजुवारमा जिल्ला समिति प्यूठानले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उहाँले युवाहरुमा गन्तव्य, वर्तमान र भविष्यसम्मको नेतृत्व गर्ने हिम्मत, आँट, बैचारिक दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नुभयो ।
‘जेनजी भनेको एउटा उमेर पुस्ताको युवा हो ।’ ,उहाँले भन्नुभयो, ‘युवा हुँदैमा सबै सहि गर्छ भन्ने छैन । त्यतिखेर फटाई गर्ने पनि जेनजी थिए, त्यहि फटाहका विरुद्ध लड्ने पनि जेनजी थिए ।’ अहिलेको युवा पुस्तामा सहि र गलत छुट्टाउन सक्ने नेतृत्व आवश्यक रहेको उहाँको बुझाई थियो ।
सरकारले तोकिएको समयमा निर्वाचन गर्नेमा उहाँले शंका व्यक्त गर्नुभयो । ‘अमेरिकाले नेपालमा खोलेका पार्टी र उसका एजेन्टहरुले जित्ने निश्चित गर्न निर्वाचन परिणामको मुल्याङ्कन गर्दै छन् ।’ ,सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हिँउ परेपनि, ४ चार भएपनि सेना लगाएर निर्वाचन गर्छन्, यदि यीनिहरुलाई फाइदा हुने स्थिति भएन भने निर्वाचन सार्न सक्छन् ।’ बारबरा फाउण्डेसनको नाममा अमेरिकाले ‘फण्डिङ्ग’ गरेर जेनजी आन्दोलनको नेतृत्व गरेको उहाँले आरोप लगाउनुभयो । मुलुकको भविष्यको लागि र देश जोगाउनका लागि मताधिकारको सहि उपयोग गर्न उहाँले आव्हान समेत गर्नुभयो ।
रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अमेरिकी सिआईएबाट संचालित पार्टी भएको राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले आरोप लगाउनुभएको छ । इतिहासमा नेपालले कुनै राष्ट्रको गुलामी गर्नु नपरेकोले भन्दै नेकपा (मसाल)का लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले राष्ट्रियता बारे सबै गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षतामा भएको सभा प्रदेश सभा सदस्य तारा थापा, अखिल (छैठौं)का अध्यक्ष सुवा जिसीले पनि सम्बोधन गर्नुभएको थियो । सभाको संचालन जिल्ला सचिव केशव आचार्यले गर्नुभएको थियो ।
