प्यूठान । जिल्लामा बर्षेनी आत्महत्याका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा आत्महत्याका घटना बढ्दै गएका हुन् ।
आ.व. २०८०/०८१ मा ७९ जना, २०८१/०८२ मा ७८ जना, २०८२/०८३ मा ९१ जनाले आत्महत्या गरेको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । ‘आत्महत्याका घटना मध्य अधिक झुण्डीएर भएको देखिन्छ ।’ ,उहाँले भन्नुभयो, ‘त्यसबाहेक विषसेवन, हाम फालि, आगो लगाई आत्महत्या हुने गरेको छ ।’
आ.व. २०८२/०८३ मा भएका ९१ वटा आत्महत्याका घटनामा सवैभन्दा धेरै प्यूठान नगरपालिकामा भएका छन् । जनसंख्याको अनुपातका आधारमा मल्लरानी गाउँपालिकामा आत्महत्याका घटना अधिक हुने गरेको पाइएको छ ।

प्यूठान नगरपालिकामा १९, स्वर्गद्धारी नगरपालिकामा १५, मल्लरानी गाउँपालिकामा १५, झिमरुक गाउँपालिकामा ९, सरुमारानी गाउँपाकिलामा ८, नौबहिनी गाउँपालिकामा ९, ऐरावती गाउँपालिकामा ७, गौमुखी गाउँपाकिलामा ५ र माण्डवी गाउँपालिकामा ४ वटा आत्महत्याका घटना भएका छन् ।्
जिल्ला प्रहरी कार्यालय प्यूठानमा कुल २७२ वटा मुद्धा दर्तामा भएकोमा ३३ प्रतिशत मुद्धा आत्महत्या सम्वन्धी रहेको छ । त्यस बाहेक कर्तव्य ज्यान सम्वन्धी ८, ज्यान मार्ने उद्योग सम्वन्धी ७, जवरजस्ती करणी सम्वन्धी १४, जवरजस्ती करणी उद्योग सम्वन्धी २, भवितव्य ज्यान सम्वन्धी ४६, सवारी ज्यान सम्वन्धी १७, फुटकर ज्यान सम्वन्धी १८, बैंकिंग कसुर सम्वन्धी १२ र अन्य ५७ वटा मद्धा दर्ता भएका हुन् ।

दर्ता भएका मुद्धा मध्ये १२३ वटा फर्छाैट हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक अधिकारीले उल्लेख गर्नुभयो ।




