रन्जना पौडेल
कोरोना तिमी आएर हाम्रो पढाइ रोकियो
टुहुरा बने बालक धेरै समस्या थपियो ।
सहरतिर नेटले पढे हामीले पाएनौ
भए नि इच्छा शिक्षाको गीत हामीले गाएनौँ ।
पोहोरदेखि किताव कस्तो देख्न नै पाएनौँ
निष्ठुरी रैछौ निर्दयी रै’छौ हामीलाई बुझेनौ ।
शिक्षाको जग निर्बल भयो भबिष्य भासियो
नेटले पढ्न आर्थिक जोहो बुबालाई साह्रो भो ।
कोरोना खोप सहरतिर हामीले देखेनौँ
राहत कुन चराको नाम हामीले भेटेनौँ ।
देशको बिकास कसरी हुन्छ ? शिक्षा नै नभए
खस्कियो शिक्षा, बन्दैन देश शिक्षा नै नभए ।
बजार खुल्ला, होटल खुल्ला, स्कुल बन्दछ
स्कुल थुनी होटल खोली के देश बन्दछ ?
बोर्डिङ्ग पढ्ने साथीले भन्छन् पढ्दैछौँ जुममा
शिक्षक कहाँ हामी छौँ कहाँ, काँ नेट गाउँमा ?
गाउँका दुःख गाउँमै हुन्छन् सहर सुन्दैन
जनका दुःख जनमै हुन्छन् देशले सुन्दैन ।
ड्रिम १०० ले आयोजना गरेको जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम भएको उमामहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत रन्जना पौडेलले लेखेको कविता । स्वर्गद्वारी नगरपालिका–५, सारी, प्यूठानकी पौडेल कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । ड्रिम १०० ले असहाय बालबालिकाको उच्च शिक्षा अध्ययनका लागि सहयोग समेत गर्दै आएको छ ।






