> विचार > प्यूठानको पर्यटन र पर्यटन साहित्य


प्यूठानको पर्यटन र पर्यटन साहित्य

घनश्याम अस्तित्व
पर्यटन के हो ? सर्बप्रथम हामीलाई यो जान्न जरुरी छ । सामान्यतया पर्यटन भन्नु मनोरञ्जन वा दिल बहलाउने उद्देश्यका साथ गरिने भ्रमण, यात्रा या घुमफिर गर्ने कार्य नै पर्यटन हो । र, यसरी घुम्ने व्यक्तिलाई पर्यटक भनिन्छ । पर्यटनलाई नै व्यवसायका रुपमा सञ्चालन गर्नुलाई पर्यटन व्यवसाय भनिन्छ । पर्यटन गर्नुका पछाडी फरकफरक उद्देश्यहरु हुन्छन् । जुनसुकै उद्देश्यका साथ कुनै पनि ठाउँको प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक र धार्मिक विशेषताको अवलोकन गर्न तथा विभिन्न उद्देश्य लिएर एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्ने मानिस नै पर्यटक हो । यसरी बिभिन्न ध्ययेका साथ आउने पर्यटकलाई आवश्यक आवास, भोजन, मनोरञ्जन, पथ प्रदर्शन, साधन आदि सुविधा र सेवा उपलब्ध गराई अर्थोपार्जन गर्ने व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ ।
पर्यटन अथवा यात्राको सन्दर्भमा एक दार्शनिक एडवार्ड डालवर्गले यसो भनेका छन्, “When one realizes that his life is worthless, he either commits suicide or travels.” यस कुराबाट पर्यटन अथवा यात्रा कति महत्वपूर्ण छ भन्ने कुराको विषयमा प्रष्ट हुन सकिन्छ । पर्यटनकै सन्दर्भमा एक पुराना दार्शनिक सेन्ट अगष्टिनले पनि यसो भनेका छन्, “The world is a book, and those who do not travel, read only a page.” यसको आसय यो हो कि बिश्व नै सबै मान्छेका लागि असम्भव छ तर कम्तिमा हामी सबै कुनै न कुनै, केही न केही ठाउँहरु घुम्न सक्दछौ । यसकारण पनि पर्यटन महत्वपूर्ण छ । शिक्षा क्षेत्रमा पनि बिद्यार्थीले किताब पढेर भन्दा बढि घुमेर सिक्न सक्दछ भन्ने कुरा बहसमा छ ।
व्यक्तिपिच्छे पर्यटन र पर्यटकको परिभाषा फरकफरक हुन्छन् ।एउटा अर्थशाष्त्रीले पर्यटनलाई अर्थव्यवस्थाको एक महत्वपूर्ण स्रोतको रुपमा अथ्र्याउला । एक व्यवसायीले यसलाई एक व्यवसायको रुपमा लिन्छ । भूगोलबिद्ले भौगोलिक दृष्टिकोणबाट प्रकृतिको अनुपम, भिन्न सिर्जनाहरुको संस्थागत विकासको एक अभियानको रुपमा लिन सक्छ । सामान्य व्यक्तिले पर्यटनलाई अन्य क्षेत्रहरुमा हुने अभ्यास जस्तै यो पनि एक किसिमको विकासकालागि गरिने अभ्यास हो भन्ने रुपमा बुझ्दछ । महत्वपूर्ण कुरा त यहाँ यो छ कि पर्यटकले पर्यटनलाई कसरी लिन्छ ? पर्यटकको आँखामा पर्यटकीय सम्पदाहरु के हुन् ? पर्यटकीय क्षेत्र, एवं सम्पदाहरु अध्ययनका क्षेत्रहरु हुन् या होइनन् ? पर्यटकीय सम्पदाहरुको सांस्कृतिक, प्राकृतिक, राजनीतिक, पौराणीक, एवं सामाजिक महत्व के छ ? र, पर्यटकीय सम्पदा या क्षेत्रको रुपमा परिभाषित गर्नु पछाडि यसको आफैमा के आधार छ ?पर्यटकीय सम्पदा प्राकृतिक या मानव निर्मित ? यी प्रश्नहरुमाथि छलफल गर्नु आजको आवश्यकता हो पनि हो ।
प्यूठान पर्यटनका हिसाबले निकै सम्भावना भएको जिल्ला हो । प्राकृतिक, सांस्कृतिक, र पौराणीक हिसावले प्यूठान निकै सम्पन्न छ । यहाँ पश्चिम नेपालकै चर्चित तिर्थस्थल स्वर्गद्धारीका साथै ऐरावती, गौमुखी, मल्लरानी, भित्रिकोट, बिजुलीकोट, सारी स्थित प्राकृतिक भू–बनोट लगायतका महत्वपूर्ण पर्यटकीय स्थलहरु रहेका छन् । प्यूठानको माटो छोएर बगिरहने यहाँका नदीहरुको गरिमा फरक छ । बाइसे–चौविसे राज्य हुने क्रममा रहेका बिभिन्न कोटहरु र दरबारहरुको आफ्नै इतिहास र महत्व रहेको छ । यहाँ अवस्थित बिभिन्न मन्दिरहरुको साँस्कृतिक उचाई निकै अग्लो छ । स्थान बिशेष यहाँका बिभिन्न नृत्य, सराय नाँच र मेलाहरुको गरिमा उल्लेखनीय छ । प्राकृतिक रुपमा सिर्जित बिभिन्न आकर्षक स्थलहरुको आफ्नै किसिमको महानता छ ।
पर्यटन विकासको सन्दर्भमा सबै सरोकारवाला व्यक्तिहरुको ध्यान पुग्न नसक्नु बिडम्बनाको विषय बनेको छ । यहाँ जुन रुपमा पर्यटन प्रबद्र्धनका लागि संस्थागत प्रयास हुनुपर्ने हो त्यो हुन सकेको छैन । सामान्य किसिमको पूर्बाधार विकास, पर्यटकीय स्थलहरुको व्यवस्थित प्रचारप्रसार र केही आवासीय सुबिधाको व्यवस्था मात्रै हुने हो भने पनि केही हदसम्म पर्यटन प्रबद्र्धन गर्न सकिन्छ । पछिल्लो समयमा त झन् स्थानीय सरकारहरुले आफ्नोआफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायलाई प्रोत्साहित गर्न सके सहजै पर्यटन विकास र साथै अन्य विकासमा पनि टेवा पुग्ने देखिन्छ । प्यूठानको आर्थिक विकासका लागि पनि यो अपरिहार्य छ । प्यूठानमा महत्वपूर्ण पर्यटकीय स्थलहरु रहनु र पर्यटनलाई व्यवसायको रुपमा सञ्चानलन गर्न सक्ने हो भने निम्न कुराहरुमा परिवर्तन आउन सक्दछ ः
–आन्तरिक आयमा बृद्धि
–विदेशी मुद्राको प्रमुख स्रोत
–रोजगारीका अवसरहरुको सिर्जना
–नेपालमा प्यूठानको प्रचारप्रसार र विश्वमा नेपालको प्रचारप्रसार
–घरेलु उद्योग, व्यवसाय एवं स्थानीय उत्पादनहरुको बिक्रिवितरण
–भषिक र साँस्कृतिक आदानप्रदान
यसरी प्यूठानमा पर्यटनलाई एक व्यवस्थित व्यवसायका रुपमा सञ्चालन गर्न सक्ने हो भने केही बर्षमा नै प्यूठानको अनुहार बदल्न सकिन्छ । एउटा निश्चित गुरु योजना निर्माण गरेर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ । यी यस्ता कुरामा ध्यान दिन सक्ने हो भने प्यूठान र प्यूठानीहरुको भविष्य निकै उज्यालो हुने देखिन्छ ।
पछिल्लो समय पर्यटन प्रबद्र्धनको एक महत्वपूर्ण माध्यम साहित्य पनि बनेको छ । साहित्यलाई हिँजोको समयमा समाजको दर्पणका रुपमा चिन्ने गरिन्थ्यो । आजको समयमा साहित्यको परिभाषा बदलिएको छ । कुनै समय मनोरञ्जन मात्रै मुल ध्यये रहेको साहित्य समाजको दर्पण आज मार्गनिर्देशक सम्म बन्न पुगेको छ । साहित्य परिवर्तनको सम्वाहक पनि हो भन्ने रुपमा स्विकार गर्न थालिएको छ । साहित्यले समाजको यथार्थलाई प्रतिबिम्बन मात्रै नगरेर यस्तो हुनुपर्छ र भविष्यमा यो हुनेछ भनेर भबिष्यवाणी समेत गर्न सक्दछ । हामीलाई थाहा छ, समाजको अग्रगामी परिवर्तनका लागि साहित्यको भूमिका बिगतमा पनि निकै महत्वपूर्ण रहेको थियो र वर्तमानमा पनि छ ।
साहित्यको क्षेत्रमा मुलतः दुई प्रश्नहरु कुनै समय निकै बहसमा थिए, छन् पनि । ती प्रश्नहरु हुन् ः साहित्य बिचार कि कला ? कला कलाका लागि कि जीवनका लागि ? अघिल्लो प्रश्नको निष्कर्ष साहित्य बिचार र कलाको मिश्रण र पछिल्लो प्रश्नको निष्कर्ष जीवनका लागि भन्ने कुरामा पुगेको छ । यसले के देखाउँछ भने साहित्यले प्रत्यक्ष रुपमा मान्छेको जीवनसंग सरोकार राख्दछ । साहित्य जीवनका लागि हो । जीवनका बिभिन्न आयामहरु बोल्ने साहित्य कलाका लागि मात्रै हुन सक्दैन । आजको बिश्व साहित्य यो निष्कर्षमा पुगेको छ । यसै पनि हामी भन्न सक्छौ कि यस्तै बिभिन्न आयामहरु मध्ये एक महत्वपूर्ण आयाम पर्यटन हुनुले पनि यसको प्रबद्र्धनका लागि साहित्यले महत्वपूर्ण भूमिका खेल्दछ ।
पर्यटन साहित्य नेपाली साहित्यमा पछिल्लो समय निकै बहस र अभ्यासमा आइरहेको विषय हो । पर्यटन प्रबद्र्धनमा साहित्यको महत्वपूर्ण भूमिका रहन्छ भन्ने विश्वासका साथ पछिल्लो समय साहित्यवृत्तमा यो निकै चर्चामा पनि छ । पर्यटकीय स्थलहरुमा पुग्नु र साहित्यिक कार्यक्रमहरु गर्नु कबि, लेखकहरुको मुख्य कार्यक्रमहरु बनेका छन् । कबिहरुको समूह रारा पुगेर कबिता वाचन गर्नु, पोखरामा साहित्य महोत्सवको आयोजना गरिनु, स्वर्गद्धारी कविता महोत्सवको आयोजना गरिनु पनि पर्यटन प्रवद्धनका लागि साहित्यको क्षेत्रबाट भएका मुख्य योगदानहरु हुन् । पर्यटन साहित्यका रुपमा प्यूठानको साहित्य अलि पछाडी रहेको कुरा सत्य हो । यसको अर्थ प्यूठानको पर्यटन प्रबद्र्धनका लागि प्यूठानको साहित्यमा केही नभएको भने होइन । स्वर्गद्धारी तपोभूमीमा बसेर लेखनाथ पौड्याले एक कृतिकै रचना गर्नु सम्पूर्ण प्युठानीहरुको गर्वको विषय हो । स्वर्गद्धारी कविता महोत्सबले पनि यसको उचाई बढाएको छ । प्यूठानमा क्रियाशिल सम्पूर्ण साहित्यिक संस्थाहरुको महत्वपूर्ण भूमिका त छँदै छ त्यसमा पनि भर्खरै नवगठित माझी साहित्य समूह, नेपालको एक महत्वपूर्ण ध्यये नै पर्यटन साहित्य रहेको छ ।
सामान्यतः लेखकहरु घुमन्ते स्वभावका हुन्छन् । उनीहरु बिभिन्न आकर्षक ठाउँहरु घुम्छन् र लेख्छन् । कुनै कुनै लेखक त यस्ता स्वभावका पनि हुन्छन् कि साहित्य सिर्जनाका लागि नै भनेर कुनै पर्यटनका हिसावले आकर्षक ठाउँमा पुगेर ६–७ महिना बसि आफ्नो पुस्तक पुरा लेखेर फर्कने गर्दछन् । साहित्य लेखन मार्फत आफैमा बिभिन्न ठाउँहरुको परिचय बनेका छन् । सगरमाथाको नाममा हजारौ साहित्य सिर्जना भएका छन् । पोखराको नाममा सयौं कविताहरु लेखिएका छन् । बुद्ध र लुम्बिनीको विषयमा बिश्व साहित्यमा लाखौ सिर्जनाहरु भएका छन् ।“मेरो प्यारो ओखलढुंगा” ओखलढुंगाको परिचय बनेको छ । कबिलाई भन्दा कबितालाई बढी चिन्छन् । दृश्य बिम्बको रुपमा पनि अधिकांश यी यस्तै पर्यटनका हिसाबले आकर्षक ठाउँहरु आएका हुन्छन् ।
साहित्यको महत्वपूर्ण एक बिशेषता यसको अमरत्व पनि हो । साहित्य, त्यसमा पनि असली साहित्यको सन्दर्भ सधै जिवन्त रहन्छ । एक सचेत लेखक, कविले यो कुरामा ध्यान दिएर लेख्नुपर्छ । मौषमी साहित्यको निश्चित सन्दर्भ रहन्छ । र, सन्दर्भ सकिएपछि त्यस्तो साहित्य मृत बन्दछ । साहित्य सधैका लागि सान्दर्भिक र अमर रहनुको कारण पनि पर्यटन र साहित्य जोडिनु जरुरी रहन्छ । अमर सिर्जनामा उल्लेखित विषयवस्तु, ठाउँ, समय र स्थान सधैका लागि अमर रहन्छन् । स्थिर रहन्छन् । त्यसकारण पनि साहित्य, साहित्य मात्रै नरहेर इतिहास बन्न पुग्दछ । यसकारण यो भन्न सकिन्छ कि पर्यटन प्रवद्र्धनका लागि साहित्यले पनि महत्वपूर्ण भूमिका खेल्न सक्दछ । साहित्य पर्यटन प्रबद्र्धनको एक महत्वपूर्ण हतियार बन्न सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!