> साहित्य सृजना > सुखी नेता सम्वृद्ध नेपाल


सुखी नेता सम्वृद्ध नेपाल

माधव पोख्रेल
बाह्र वर्ष पछि बगेको खोलाले आफ्नो ठाउँ लिन्छ भन्ने बुढा पाकाको भनाइलाई हाम्रो राजनीतिले असफल सावित गरिदिएको छ । हालको राजनीति परिवेशलाई हेर्दा हामी सुखी हुने सपनामा मात्र हो भन्ने जस्तो लाग्न थालिसक्यो । लगभग दुई तिहाइको फूइ लगाएर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले संसद विघटन गरेर देशलाई अस्थिरता तिर धकेल्ने प्रयत्न गरेजस्तो लाग्न थालिसकेको छ । ‘ सौता रिसले पोइको काखमा पिसाव फेर्ने’ भनेझै आफ्नै पार्टिका नेताहरुलार्ई सम्हाल्न नसके पछि संसद विघटन गर्ने जस्तो निणर्य लिन पुगेका हाम्रा प्रधानमन्त्री सर्वोच्चको आदेशमा मरेको संसद बाचे पछि झन बलियो हुन खोजिरहेका छन् । आफै हत्या गरेको संसद विउतिए पछि पनि हाउभाउ र बोलिमा कुनै परिवर्तन नभएका ओली बा लाई फागुन २३ को निणर्य पछि एकल पार्टीको शक्तिशाली अध्यक्ष बन्ने भूत चढेको छ । उता हामी यहाँ छौ भनेर सडकमा तमासा मच्चाएकाहरुलाई पनि ‘नखाउ भने दिनभरको सिकार खाउ भने कान्छा बाउको अनुहार’ भएर पुरानै दलमा लुखु लुखु लाग्नु बाहेकको अन्य उपाय केही पनि देखिदैन । हाम्र नेपाली दक्षिण एसियाकै सुखी जनतामा परेको नयाँ तथ्याङ्क बाहिर आएको छ हाम्रो राजनीतिको परिदृष्य हेर्दा जनता होइन नेता सुखी बन्दै छन् भन्ने तथ्य उजागर हुदै गएको छ ।

 

संसद पुर्नजीवित भए पछि सुखी हुने भनेका नै सांसद र नेता हुन अबको राजनीति मोलमोलाइको राजनीतिमा परिवर्तन नहोला भन्न सकिदैन । संसदको जोड घटाउमा नै अबको राजनीति केन्द्रीत हुने लक्षण देखिदैछ । संसदको बहुमत पुर्याउन जस्तो सुकै हर्कत गर्न पनि दल र नेताहरु पछि पर्ने छैनन । सासंदहरु पनि पालो कुरेर च्याखे दाउ थापीरहेका छन् । यस्तो परिस्थिति नेताहरुको कमाउ धन्दामा परिवर्तन हुदैछ । जनताको सरोकार गर्ने समय अब हराएर गएको छ । एउटा पार्टीबाट चुनाव जितेकाहरु पनि आफ्नो स्वार्थको लागि जतासुकै लाग्न सक्ने परिस्थिति सृजना हुदैछ । यस्तो अवस्थामा सुखी र सम्पन्न हुने नेताहरु नै जनताको बारमा कसलाई सरोकार ?

 

नेता मालिक र जनता दास भएको देशमा यस्तै हुन्छ । नेताहरु जनतालाई कहिल्यै जनताको रुपमा हेर्न चाहदैनन् सधै दासको रुपमा हेर्न चाहन्छन् । जनता चुनावमा प्रयोग गरिने बलिका बोका मात्र हुन अनि नेतालाई कुर्चीमा पुर्‍याउने भर्‍याङमात्र हुन् । उनीहरुलाई जनताको कुनै वास्तै छैन् । आफ्नो भत्ता र कुर्चीको आयु आफै थपेर नियम विपरितका कार्य गर्न नेतालाई कुनै लाज सरम छैन् । वार्ता र सहमतिको नाममा जनतासँग उठाएको करमा पाँचतारे होटलको ए.सी. रुममा बसेर बफे डिनर गर्न कुनै लाज छैन तर जनताको प्रत्यक्ष जीवनसँग गाँसिएको सवालमा तै चुप मै चुप गरेर लाज पचाउनेहरुले देश र जनताको बारेमा सोच्लान भनेर विश्वास गर्ने हामी कस्ता बुद्धु ? जनताकै बारेमा सोच्दा हुन भने त दिइएको जिम्बेवारी पूरा नगरेर जुँगाको लडाईमा देशलाई नै बन्धक राख्दा हुन र ? दैनिक जीवन गुजारा चलाउन जनतालाई कति गाहे भै रहेको छ, मानिस बाच्न नसकेर, रोजगारी नपाएर, सन्तानलाई पढाउन नसकेर आत्महत्या गर्ने अवस्थामा पुगिसकेका छन् तर शासनको बागडोर हातमा लिने टाउकेहरु महको माखो बन्दै अनि स्याल बनेर सत्तारुपी सिनोलाई आफ्नो अभिष्ट बनाइ रहेका छन् यसले देशको भविष्य कता जाने हो कुनै निश्चितता छैन् ।

 

जनता अहिले ‘कौडी न सौडी बजारतिर दौडीको स्थीतिमा छन् । बाँच्नलाई चारो हाल्नै पर्ने आम्दानी घटदो । धेरै नागरिकलाई विदेश पठाउँदा राजस्व धेरै आउँछ भन्ने नेताका जनताले सुख पाउलान भनेर सोच्नु त सोच्ने मानिसको नै मूर्खता हो । देशमा रोजगारीका अवसर सृजना गरेर रोजगारी दिनुको सट्टा नयाँ- नयाँ मुलुकमा रोजगारी सम्झौता गर्न ठिक्क छ सरकारलाई अनि दक्ष जनशक्तिलाई विदेश पलायन गरेर लाटादेशका…तन्नेरी बन्न खोज्दैछन् यस जमानाका शासक । देशका जनतालाई वेरोजगारीको फाल्टु जोकर गराएर राजनीतिका कार्यकर्ता बनाउन लागिपरेका हाम्रा शासकहरुको दूरदृष्टिलाई मान्नै पर्छ । राजनीतिको नाममा जनतालाई बलिका बोका गराउन र बेरोजगारीलाई राजनीतिको नोकरी दिएर आफू कुभ्भकणर्को निन्द्रामा मस्त नेता भनाउदाहरुले देशमा बेरोजगरीको बिगविगि र भएका रोजगारवालाहरुलाई समेत बाच्न मुस्किल पर्ने अवस्था आउँदा अब जनता सुखी बन्छन भन्नु त दिवास्वप्न मात्र हुन जाने देखिन्छ । हाम्रो प्रणाली होइन हाम्रो प्रणालीलाई हाक्ने नेतृत्व सक्षम र जनउत्तरदायी नहुदाँसम्म जनता सुखी हुन्छन भन्न खोज्नु मुर्खता सिवाय केही हुनेवाला छैन ।

 

जनता भोको पेटमा विदेशको चर्को घाम खान बाध्य रहेको अवस्थामा नेतृत्व नै हानथापमा उत्रेपछि सुखी नेपाली हुने कुरा सदैव असम्भव हुने देखिन्छ । कोरोनाको कहरले जर जर पारेको अर्थ व्यवस्थामा आर्थिक सूचकाङ्क ओरालो लागेको अवस्थामा जनता कहाँबाट सुखी देखिन्छन ? नयाँ संविधान जारी गरेपछि देश स्थायी सरकारको पक्षमा लागेको कुरा जनमतबाट अनुमोदन हुदा पनि जुँगाको लडाइले बेला न कुबेला निर्वाचनको रडाको मच्चाउदा जनता कसरी सुखी बन्ने होलान । जबसम्म राजनीतिको दाउपेचमा देश अल्झि रहन्छ तबसम्म सुखी नेपालीको परिकल्पना नगरे हुन्छ । अहिलेको राजनीति र कुर्चीको दाउपेचमा जनता कदापी सुखी हुन सक्दैनन् र देशले विकासको पथमा लम्कन सक्दैन त्यसैले जनता सुखी बनाउने हो भने नेताको सदबुद्धि आई स्थायी राजनीतिक निकास आवश्यक छ नत्र सुखी नेपालीको नारा केबल नारामा मात्र सिमित हुने स्थिति देखिन्छ । समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *