> विचार > शिक्षकलाई फुर्सद छैन महोदय, शिक्षक सुतेका छैनन्


शिक्षकलाई फुर्सद छैन महोदय, शिक्षक सुतेका छैनन्

केही समय अगाडी एकजना शिक्षाविद्को अभिव्यक्ति सामाजिक सञ्जालमा शिक्षकहरु “सुतिरहेका छन्” भन्ने भनाई छरपष्ट भएका थिए मैले पनि पटक पटक मस्तै घोतलिएर हेरेँ ,पढेँ कता कता बिजायो चस्चसी घोच्यो र केही नलेखिरहन सकिन ।

संसारका सबै चिज परिवर्तनशील छन् । समाज पनि परिवर्तनशील छ । यो समाज परिवर्तनका वाहक भनेकै शिक्षक हुन् । समाजमा कानुनी राज्यको स्थापनाको लागि होस् वा समाजमा व्याप्त कुरीति कुसंस्कार हटाउने कुरा किन नहोस् सबै क्षेत्रमा शिक्षक सदा अग्रपङ्तिमा खटेका छन् । यसरी महत्वपूर्ण सामाजिक जिम्मेवारी वहन गर्ने शिक्षकले आफ्नो पेसामा पनि सधैँ प्रजातन्त्र , समानता , समावेसितालाई नै व्यवहारमा लागु गर्दे अनवरत नयाँ नयाँ ज्ञान र सीप हजारौँ वालवालिकालाई बाँडिरहेका छन् ।

सामाजिक परिवर्तनको वाहक मात्रै होइन हरेक रानैतिक परिवर्तनमा शिक्षकहरु अग्र स्थानमा रहेर सहयोग गरेका इतिहाँस साछी छन् । निरङ्कुस राणाहरुलाई घुँडा टेकाउन गाउँ गाउँमा पाठशाला खोलेर सबैलाई जागरुक बनाउने शिक्षक नै हुन् भने पञ्चायती एकदलीय निरङ्कुशतालाई फाल्नका निम्ती भूमिगतरुपमा भएपनि तत्कालिन नेपाली कांग्रेस र कम्युनिष्टलाई सही मार्ग निर्देश गर्नेपनि शिक्षक नै हुन् र संघीय लोकतान्त्रिक व्यवस्था ल्याउनमा पनि अनवरत रुपमा आन्दोलनको अग्र मोर्चामा रहेर खट्ने पनि शिक्षक नै हुन् । समाज परिवर्तन होस् वा राजनैतिक परिवर्तन होस् परिवर्तनमा महत्वपूर्ण योगदान गर्ने शिक्षक नै हुन् । त्यतिमात्रै पनि होइन शिक्षकबाटै ज्ञान र सीप आर्जन गर्नेहरु नै हुन् आज राज्य सञ्चालनको नेतृत्व अनि विभिन्न पदस्थ राष्ट्रसेवक कर्मचारी पनि तथापि विगत सबैले विर्सदा रहेछन् यसकै प्रतिफल हो बर्षेनी शिक्षा क्षेत्रमा बिनियोजन गर्ने रकम प्रतिशत क्रमस घट्दै जानु , शिक्षा संविधानतः मौलिक अधिकार भनिएपनि शिक्षामा निजिकरण गरेर सर्वसाधारणको पहँच वाहिर गराइनु , सेना प्रहरी र निजामति कर्मचारीका लागि अस्पतालको व्यवस्था हुनु शिक्षक त विरामी नै नपर्ने भएर होला यसतर्फ ध्यान नदिनु , शिक्षकले न्यूनतम पेशागत सेवासुविधा प्राप्त गर्न सधैँ आन्दोलनमा जान वाध्य पारियो अझैसम्म वालविकासका शिक्षकले मासिक ६००० रुपैयामा गुजारा गर्न बाध्य छन् । विद्यालय कर्मचारीहरुले मासिक २५०० देखि ११००० सम्म मात्रै तलवमा काम गर्न वाध्य नै छन्। दरवन्दी छैन सधै जागिरको चिन्तामा दिन विताएका छन् । संघीय संरचनामा पालिकैपिच्छे फरक तलवमानका शिक्षक भर्ना गरी बौद्यिक श्रमशोषण भइरहेको छ । खरदारमा नियुक्त कर्मचारी सचिव स्तरसम्म पुग्न सक्छ तर शिक्षक भने सम्वन्धित तहभन्दा उपल्लो तहमा उक्लन पाउदैन यस्ता कुरामा शिक्षाविद्को आँखा नपुग्ने ?

यसरी सेवा सुविधाबाट बञ्चित भएरपनि सदैव समाजमा र पेशामा प्राप्तीको आसा नगरी खट्ने शिक्षकमाथि लगाइनु आरोप सिवाय अरु केही हुन सक्दैन । शिक्षकलाई राज्यले नै भेदभावपूर्ण व्यवहार गरेको कुरा दिनको घाम झै छर्लङ्ग छ । जसले जुनसुकै रुपमा लिएपनि …..कराउदै गर्छ हात्ती लम्कदँै गर्छ भने झै आफ्नो स्वाभिमानमा गर्व गर्ने शिक्षक कसले के भन्छ भन्दा पनि आफु के गर्ने हो भन्ने कुरामा सचेत रहने स्वभाव अनि आफ्नो कर्तव्यलाई सदैव प्रमुख मानेर क्रियाशील भइरहन्छन् यसको ज्वलन्त उदाहरण हो प्रविधिमैत्री शिक्षक समाजको नेतृत्वमा धेरै धन्दा धेरै शिक्षक समाहित भएर प्राविधिक क्षमताको विकासमा लिन भइरहेका छन् ।

कोरोना महामारीले बिश्व आक्रान्त बनेको छ । नेपालमा पनि १००० को हाराहारीमा संक्रमित हुनेको संख्या पुगेको छ भने ४ जनाको दुखद मृत्यु समेत पुष्टि भइसकेको छ ।देश पूर्ण लकडाउनमा छ , वालवालिका रमाइ रमाइ विद्यालयमा गएर पढ्ने यो समयमा प्राय शिक्षण संस्था कोरोनाको क्वारेन्टाइनको रुपमा प्रयोग भएका छन् । यो अवस्थामा शिक्षकहरु कसैको नजरमा सुतेका होलान तर स्वाभिमानी शिक्षकहरु आ–आफ्नो प्राविधिक दक्षताको विकास गर्नुपर्छ भन्ने उद्धेश्यका साथ प्रविधिमैत्री शिक्षक समाजले कुनै लगानी र कुनै बजेट विना सञ्चालन गरेका केन्द्रिय स्तरमा १०० घण्टे तालिम , प्रदेश स्तरमा ७ प्रदेशमै ७ देखि १५ दिन सम्मका तालिम सम्पन्न भइसकेका छन् । हाल आएर विषयगतरुपमा विषगत समूहका तालिमबाट छुट्टा छुट्टै विषयगत डिजिटल सामग्री निर्माण गर्ने उद्धेश्यले सबै विषयका तालिम अनवरत सञ्चालनमा छन् भने करिव ३० जिल्लामा जिल्लास्तरीय आधारभूत प्रविधिसम्वन्धि तालिम सञ्भालनमा आएका छन् सबै तालिममा शिक्षकहरुको उत्साहजनक सहभागिता रहेका छन् । सायद राज्यले सञ्चालन गरेको भए करोडौँ रुपैया लगानीमा पनि सम्भव थिएन ।

शिक्षकहरुकै स्वत स्फुर्त तवरले सञ्चालन भएका छन् । यस्ता अनुकरणीय कार्यप्रति न त सञ्चार जगतको आँखा जान्छ न शिक्षविद्को । यसरी सारमा भन्नुपर्दा २१ औँ शताव्दीको प्रविधिको युगमा शिक्षक प्रविधियुक्त बन्नुपर्छ र विद्यालय खुल्दासाथ विद्यालयमा प्रविधिको अधिक्तम प्रयोगबाट शिक्षण सिकाई गर्नुपर्छ भनेर शिक्षकहरु लकडाउनमा प्रविधिसम्वन्धि सीप आर्जन गर्न अहोरात्र खटिरहेका छन् । सम्भावना र पहुँच भएसम्म वालवालिकालाई अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गरेका छन् भने धेरै शिक्षकले गुगल क्लास रुमको माध्यमबाट विद्यार्थीलाई पठनपाठनमा समावेस गरिरहेका छन् जसले विद्यार्थीलाई क्रियाशिल बनाइरहेको छ । यसरी सहज होस वा असहज अवस्था किन नहोस शिक्षक आफ्नो कर्तव्यमा लागिरहेका छन् बरु शिक्षकलाई लकडाउनमा फुर्सद छैन । शिक्षक क्रियाशिल नभए सबै स्थिर रहन्छन् , अहिले पनि गाउँ गाउँमा कोरोना सम्वन्धि सचेतना जगाउने शिक्षक हुन् , क्वारेन्टाइनको व्यवस्थापनमा सहयोग गर्ने शिक्षक हुन् , लकडाउनको समय प्राविधिक दक्षता अभिवृद्धिमा लगाउने शिक्षक हुन् । यसैले बरु शिक्षकलाई फुर्सद छैन, महोदय शिक्षक सुतेका छैनन् शहरको सोफामा बसेर मनलागि नबोल्नुहोस् शिक्षक सुते सबै निदाउछन् ।

ध्रुब गिरी
अध्यक्ष– प्रविधिमैत्री शिक्षक समाज, प्यूठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!