प्यूठान । निर्माण सम्पन्न भएको ५ वर्ष वितिसक्दा समेत संचालनमा आउन नसकेको दम्ती विद्युत सव–स्टेशन सम्झौता तोडेरै भएपनि नेपाल विद्युत प्रविधिकरणले स्टेशन सञ्चालनमा ल्याउने भएको छ । मंगलबार भएको सर्वपक्षिय बैठकले बाँकी रहेका कामहरु तत्काल सम्पन्न गरी संचालनमा ल्याउने निर्णय गरेको हो ।
५ करोड ३६ लाख ६० हजार ६८२ मा श्री त्रिपुरेश्वर जय दुर्गे जेभीले २०७४ जेठ १७ गते निर्माण सम्झौता गरेको हो । २०७९ असार ७ गतेसम्म निर्माण कम्पनीले ७३।५ प्रतिशत रकम भुक्तानी लिइसकेको छ । ‘स्थानीयले काममा अवरोध गरेको’ भन्दै निर्माण कम्पनीले काम रोकेको नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख ईन्जिनियर प्रज्वल हुमागाईले बताउनुभयो ।
निर्माण कम्पनीसँग सम्झौता तोडेरै भए पनि सव–स्टेशन निर्माणको बाँकी काम सम्पन्न गर्ने नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । डेढ वर्षदेखि निर्माण कम्पनी सम्पर्कमा नरहेको कार्यालय प्रमुख ईन्जिनियर राजिव कुमार सिंहले बताउनुभयो । केहि ठाँऊमा विद्युत पोल राख्नुपर्ने, रुख कटान गर्नुपर्ने र पुल रहेको स्थानमा अन्तरग्राउण्ड गर्नुपर्ने काम बाँकी रहेको उहाँले बताउनुभयो ।
जिल्लावासीलाई विकास विरोधी आरोप लगाएर निर्माण कम्पनीले काम रोक्नु गलत भएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी)ले बताउनुभयो । जिल्लामै उत्पादन भएको विद्युत सवैले निर्वाध रुपमा उपभोग गर्न पाउनुपर्ने भन्दै उहाँले राजनीतिले विकास पनि गर्ने हो विकासमा राजनीति नगरी विकासको काममा जिल्लाका सवै पक्ष एक जुट रहेको उल्लेख गर्नुभयो ।
काम कार्यान्वयनमा स्थानीय पालिका, वडासँग कुनै समन्वय नगरी स्थानीयले काम रोके भन्नु वाहानावाजी मात्र भएको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बताउनुभयो । आफुहरु कामको सहजिकरणका लागि तयार रहेको भन्दै उहाँले सव–स्टेशन तत्काल संचालनमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
३३ केविए प्रशारण लाईनलाई ११ केविए मार्फत वितरण गर्न सव–स्टेशनको भुमिका हुन्छ । सव–स्टेशन संचालनमा आएमा विद्युत वितरण र विद्युतिय जोखिमले हुने क्षति न्यूनिकरण गर्न मद्दत पुग्दछ ।
यो पनि पढ्नुहोस् :
प्यूठानमा सबस्टेसन संचालनमा ढिलाई, दैनिक विद्युत आपुर्तिमा समस्या
यो पनि पढ्नुहोस् :
