> आर्थिक/बिकास > तीन महिना भित्र सब–स्टेशन संचालनमा ल्याउन प्रजिअको निर्देशन


तीन महिना भित्र सब–स्टेशन संचालनमा ल्याउन प्रजिअको निर्देशन

प्यूठान, २५ मंसिर ।
निर्माण सम्पन्न भएको विद्युत सव–स्टेशनको बाँकी काम तीन महिना भित्र पुरा गरी संचालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले निर्देशन दिनुभएको छ । विहिवार आफ्नै कार्यकक्षमा ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाई तत्काल  काम सुचारु गर्न निर्देशन दिनुभएको हो ।

‘तोकिएको समय भित्र काम नभए कार्वाही प्रक्रियामा अघि बढ्छौं ।’ ,उहाँले भन्नुभयो, ‘निर्माणको जिम्मा लिएपछि समयमै सम्पन्न गर्नु व्यवसायीको पनि दायित्व हो ।’ प्यूठानमै उत्पादन भएको विद्युत राष्ट्रिय ग्रिडमा जोडिएपछि यहाँका नागरिकले सहज रुपमा विद्युत उपभोग गर्न पाउनुपर्ने उहाँको भनाई थियो । फिल्डमा काम गर्न समस्या भएमा स्थानीय तहसँगको सहकार्यमा समाधानका लागि पहल गर्ने प्रजिअ भुसालले प्रतिवद्धता समेत जनाउनुभयो ।

 

जुम्रिदेखि दम्तीसम्म ३३ केभिए डबल सर्किट लाईन बिस्तार, ११ केभिएको फिडरको काम र केहि पोल गाड्ने बाँकी काम तीन महिना भित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि नारायण लम्सालले प्रतिवद्धता व्यक्त गर्नुभयो । केहि ठाऊँमा पोल गाड््ने विषयमा समस्या भएकाले काम रोकिएको उहाँले प्यूठान समाचारसँग बताउनुभयो । लाईन विस्तारको जिम्मा त्रिपुरेश्वर जयदुर्गे जे.भि.ले लिएको हो ।

 

प्यूठान नगरपालिका वडा नं. ८ दम्तीमा सबस्टेशनको काम पुरा भएको छ । लाईन विस्तारको काम सम्पन्न हुँना साथ सबस्टेशन संचालनमा आउने नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका अधिकृत खेम नारायण लम्सालले प्यूठान समाचारसँग बताउनुभयो ।

 

प्यूठानमा सबस्टेशन संचालनमा ढिलाई हुँदा यहाँका उपभोक्ताहरुले विद्युत अनियमितताको सास्ती व्यहोर्नु परेको छ ।

 

यस्तै खवाङ र रजवारामा समेत सवस्टेशन निर्माणको प्रक्रिया अघि बढेको नेपाल विद्यूत प्राधिकरण प्यूठान वितरण केन्द्रका प्रमुख जयानन्द वोकटीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् :

प्यूठानमा सबस्टेसन संचालनमा ढिलाई, दैनिक विद्युत आपुर्तिमा समस्या

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *