> आर्थिक/बिकास > प्यूठानमा सबस्टेसन संचालनमा ढिलाई, दैनिक विद्युत आपुर्तिमा समस्या


प्यूठानमा सबस्टेसन संचालनमा ढिलाई, दैनिक विद्युत आपुर्तिमा समस्या

प्यार अलि खाँन
प्यूठान, २१ मंसिर । निर्माण सकिएको १५ महिना बितिसक्दा पनि विद्युत् सबस्टेसन संचालनमा आउन नसक्दा जिल्लाको विद्युत आपुर्तिको समस्या हट्न सकेको छैन ।

प्यूठान नगरपालिका वडा नं. ८ दम्ती स्थित सबस्टेसनमा प्रसारण लाइनको बाँकी काम ठेकेदारले समयमै पुरा नगर्दा जिल्लावासाीले समस्या भोग्दै आएका छन्। म्याद थप गरि कार्तिक मसान्त सम्ममा सम्पन्न हुनुपर्ने काम हालसम्म अधुरै रहेको छ।

नेपाल विद्युत् प्राधिकरण क्षेत्रिय कार्यालय नेपालगञ्जका इलेक्ट्रिकल इन्जिनियर ज्ञानबहादुर फर्सालले ३३ केभिए डबल सर्किट लाईन बिस्तार र ११ केभिएको फिडरको काम समयमै नहुँदा सबस्टेसन संचालनमा ढिलाई भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सबस्टेसनसम्म पुर्याउने लाइन विस्तारका सामग्रीको परिक्षण, ट्रान्सफर्मर चार्ज लगायतका काम सकिएका छन। ‘सबस्टेसनको काम पूरा भएको छ।’ फर्सालले भन्नुभयो ‘तिहार पछि काम गर्ने भनेको ठेकेदार कम्पनीले सुरु गरेको छैन्।’

सबस्टेसनको काम आर.के इन्टरनेशनलले ७ करोड ५० लाख र लाइन विस्तारको काम त्रिपुरेश्वररजयदुर्गा जेभीले ५ करोड ३६ लाख रुपैयाँ लागतमा ठेक्का लिएका हुन्।

अर्घाखाँची लैजाने विद्युत् लाइन विस्तारका लागि झिमरुक नदि किनारमा पोल गाडिएका छन। ‘हामी केहिदिन भित्र कार्यस्थल जाँदैछौं।’ फर्सालले भन्नुभयो, ‘पोल गाड्ने विषयमा स्थानीय स्तरमा केही विवाद भएकोले तार टाँग्ने काम केहि प्रभावित भएको हो।’ उहाँका अनुसार विद्युत् लाइन पूरा भएपछि मात्र सबस्टेसन सञ्चालन हुन्छ।

स्थानिय स्तरमा कुनै विवाद नरहेको वडा अध्यक्ष लिलापसिंह केसीले बताउनुभयो। ‘आयोजनावालाहरु नै आउँदैनन्।’ केसीले भन्नुभयो ‘बारम्बार फोन गरेका छौं। विवाद छ भने हामी छलफल गर्न सहजिकरण गरिदिन्छौं।’

सबस्टेसन संचालनमा नआउँदा उद्योग कलकारखाना संचालनमा समस्या आएको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले बताउनुभयो। ‘जिल्लामै विद्युत उत्पादन भएर पनि सवस्टेसन संचालनमा आउन नसक्नु दुखद् हो।’ कक्षपतिले भन्नुभयो ‘सरोकारवाला निकायले अलि तदारुकता देखाउन पर्यो।’

अहिले ३३ केभिएबाटै वितरण लाइन दिन परेको छ। दम्तीको सबस्टेसन संचालनपछि प्यूठानमा ११ केभिएको लाइन वितरण गरिनेछ ।
विद्युत प्राधिकरण जुम्री वितरण केन्द्रका प्रमुख जयनन्द बोगटीले दम्तीको सबस्टेसन संचालनमा आए जिल्लामा विद्युत् आउने-जाने समस्या धेरै न्यूनिकरण हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *