> विचार > प्रविधिमैत्री शिक्षक तालिम शिक्षा क्षेत्र कै नयाँ आयाम


प्रविधिमैत्री शिक्षक तालिम शिक्षा क्षेत्र कै नयाँ आयाम

ध्रुब गिरी

नेपालको शैक्षिक इतिहाँस हेर्दा अत्यन्तै नाजुक देखिन्छ । वि.सं १९१० सालमा दरवार हाइस्कूलको स्थापना नै नेपालको पहिलो औपचारिक विद्यालय हो । यस विद्यालयमा सर्वसाधरणको प्रवेशका लगि बर्षौ कुर्नु परेको थियो । राणाकालमा जनता शिक्षित भए आफ्नो गुञ्जयास नहुने नियतले सुधारवादी मानिने तत्कालिन राणा प्रधानमन्त्री देव समशेरले नेपालमा विद्यालय खोल्न छुट्याएको तत्कालिन नेपाली रुपैयाँ ३ लाखमध्ये २ लाख नेपाली रुपैया अर्का प्रधानमन्त्रीले वेलायतको अनाथालयमा सहयोग गरेका थिए । आज नेपालको विकासका लागि वेलायतकै सहयोगको याचना गर्नुपरेको छ ।  शैक्षिक अभिलेख हेर्ने हो भने वि.सं. २००७ सालसम्म नेपालमा जम्मा ३२१ प्राथमिक विद्यालय , ११ माध्यमिक विद्यालय , १ मात्रै त्रिभुवनचन्द्र कलेजको स्थापना भएको पाइन्छ र शाक्षरता प्रतिशत जम्मा २ मात्रै थियो  ।

यसरी राणाकाल शिक्षाको लागि अँध्यारो काल रह्यो , प्रविधि र प्राविधिकका त कुरै छोडौँ शिक्षामा पहुँच नै आकासको फल सावित थियो । प्रजातन्त्रको आवागमनसंगै गाउँगाउँमा विद्यालय स्थापना गर्ने लहर चल्यो विद्यालय खुले तर त्यतिवेला पनि राज्यको अपनत्व थिएन । राष्ट्रिय शिक्षा पद्धतिको योजना ( २०२८–२०३२ ) लागु भएपश्चात नेपाली शैक्षिक जगतमा केही नयाँ परिवर्तन भयो तथापि राज्यको केही अपनत्व , शिक्षामा एकरुपता गर्ने  , शिक्षकको योग्यता निर्धारणका विषयमा बाहेक शिक्षामा व्यवहारिकता र प्रविधिका कुरामा अमुक नै रह्यो हालसम्म सामान्य संशोधन बाहेक अरु परिर्वन विना नै करिब ५० वर्षसम्म यही योजना बमोजिमका शैक्षिक ऐन ,नीति नियम लागु भइ चलि आएका छन् ।

यो अन्तरालमा नेपालमा थुप्रै राजनैतिक परिवर्तन भए , २०४६ मा संवैधानिक राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्र आयो , नयाँ जनवादी शिक्षाको नारा बोकेको जनवाद ल्याउन भनी १० बर्ष सशस्त्र युद्ध भयो , २०६२।२०६३ को आन्दोलन भइ नेपालमा नयाँ संविधान सहित संघीय लोकतान्त्रिक गणतन्त्रको समेत स्थापना भइसकेको छ । जुनसुकै परिवर्तन भएपनि न शिक्षामा गुणात्मक परिवर्तन भयो न शिक्षासंग प्रविधि र दैनिकीलाई जोड्ने उपयुक्त योजना नै आए ? वर्षेनी शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुको  वदला निरन्तर घटाउदै जाने काम निरन्तर भइरहे त्यतिमात्रै होइन सबै कार्यालयका कार्यालय सहयोगी र प्रशासनीक कर्मचारी स्थायी भए तर  विद्यालय कर्मचारी र कार्यालय सहयोगीको दरवन्दी समेत व्यवस्था  हुन सकेको छैन । बरु शिक्षा क्षेत्रलाई नीजिकरणको नाममा व्यापारिकरण गरियो ,शिक्षालाई नाफा गर्ने माध्यम बनाइयो जति पैसा खर्च गर्न सक्यो उस्तै शिक्षा आर्जन गर्ने गरी संविधानतः शिक्षा मौलिक अधिकारको उपहास गरियो । यसरी शिक्षा क्षेत्रमा राज्य सधैँ उदासिन बनिरहँदा शिक्षकलाई आफ्ना पेशागत सुरक्षा गर्न वेलावेलामा आन्दोलित बन्न बाध्य पारियो । आन्दोलन शिक्षकको रहर नभइ वाध्यता थिए । राज्यले जस्तोसुकै व्यवहार गरेपनि शिक्षामा परिवर्तन त्यतिवेला आउछ जतिवेला स्वयम् शिक्षक नै परिवर्तन हुन्छन र परिवर्तनका लागि काम गर्छन ।

यसैले २०६७ सालमा अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मूल नारासहित  विद्यालयमा कार्यरत कर्मचारी र शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको गठन भयो र क्रियाशिल वनाइयो यसको मूल उद्धेश्य नै पेशागत सुरक्षा सहित शिक्षामा रचनात्मक परिवर्तन गर्नु हो । यही नारालाई आत्मसाथ गर्दै शिक्षामा परिवर्तन गर्न आजको एक्काइसाँै सताब्दीमा पहिलो कुरा नै शिक्षालाई प्रविधिमैत्री वनाउन अनिवार्य भएकोले शिक्षकलाई प्रविधियुक्त गराई कक्षाकोठामा प्रविधिको अधिक प्रयोगबाट कक्षा शिक्षण सञ्चालन गर्ने हेतुले शिक्षकहरु कै सक्रियतामा प्रविधिमैत्री शिक्षक समाज केन्द्रिय समिति र ७ वटै प्रदेशमा प्रदेश स्तरीय प्रविधिमैत्री शिक्षक समाज गठन गरेर जुम कलाउड मिटिङ नामक सफ्टवयरको माध्यमबाट केन्द्र स्तरमा र प्रदेश स्तरमा छुट्टा छुट्टै अनलाइन प्रशिक्षण प्रभावकारी रुपमा सम्पन्न भइसकेका छन् ।

प्रदेश नं ५ को अनलाइन प्रशिक्षणमा १०० जनाको सहभागितामा ९ दिन तालिम सम्पन्न भइसकेको छ । एकातर्फ कोरोना भाइरस (कोभिड –१९)को महामारी यसले गर्दा सिर्जित बन्दाबन्दीको अवस्था अर्कोतर्फ शिक्षामा प्रविधिको प्रयोगका लागि थालनी गरिएको प्रविधिमैत्री शिक्षक तालिम आफैमा एउटा उल्लेखनीय कार्य हो । यस तालिममा म पनि सहभागि भएकोले तालिमले शिक्षकमा प्रविधि सीपको विकास गराई यो सीपलाई विद्यालय सञ्चालन र कक्षाकोठामा प्रयोग गर्नसके साँच्चै युग सुहाउदो शिक्षक , युग सुहाउदो कक्षा शिक्षण हुने कुरामा म विश्वस्त छुँ ।

अन्तमा शैक्षिक उपलब्धी बृद्धि गर्न , कक्षाकोठामा रमाइलो वातावरणको सिर्जना गरी प्रभावकारी शिक्षण गर्न , सामुदायिक विद्यालयका शिक्षकले खेप्नु परेका आरोपलाई व्यवहारिक तवरले जवाफ दिन , विद्यालय सञ्चालनमा नयाँपन ल्याउन , शैक्षिक उपलब्धी बृद्धि गर्न र युग सुहाउदो जनशक्ति उत्पादन गरी शैक्षिक परवर्तन गर्न प्रविधिमैत्री शिक्षक तालिम नयाँ आयाम हो । यसले राज्यले शिक्षामा गर्न नसकेको परिवर्तन गर्न सक्नेछ .

(लेखक महेन्द्र माध्यमिक विद्यालय खलंगा, प्यूठानमा शिक्षक हुनुहुन्छ ।)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!