> विचार > लक डाउनमै बसेर सुरक्षित भई साथ दिनुहोस्


लक डाउनमै बसेर सुरक्षित भई साथ दिनुहोस्

१) सरकारले लक डाउनलाई थप कडाई गरको छ ? त्यसका लागि तपाईको स्थानीय तहले कसरी काम गर्दैछ ?
नगरपालिकाकाले नगरक्षेत्रका जनतालाई सूसुचित गराउने, कोरोना भाईरस सर्ने लक्षणका बारेमा जानकारी, बच्ने उपायका बारेमा जनचेतनामूलक कामहरु गर्दै आएको छ । नगरक्षेत्रका जनतासँगै भारत तथा तेश्रो मुलुकबाट आउने जनताहरुलाई सचेत पूर्वक बस्नका लागि, घरमै बस्नका लागि प्रयत्न गरेका छौँ । शहर बजारमा लक डाउनको पूर्ण पालना भएको देखिन्छ तर गाउँघरमा लक डाउनको पालना नभएको देखिएको छ । गाउँघरमा चेतनाको कमीका कारणले गर्दा लक डाउनमा समस्या परेको छ । ग्रामीण क्षेत्रका जनतालाई जम्मा हुन नदिनका लागि जनप्रतिनीधि, स्वास्थ्यकर्मी, प्रहरी परिचालित छन् । सबै जनताहरु सुरक्षित हुनका लागि सरकारले गरेको लक डाउनलाई सफल पार्नका लागि जनप्रतिनिधिसँगै सबै क्षेत्रको सहयोगको आवश्यकता देखिन्छ ।

२) लक डाउनकै कारण समस्यामा परेका ज्यालादारी श्रमिक, असहायको पहिचान र राहत वितरण के कसरी हुँदैछ ?
नगरपालिकाले जनताको जीवन रक्षाका लागि नगर कार्यपालिकाको बैठक बसेर राहत कोषको स्थापना गरेका छौँ । नगरक्षेत्रका कुनै पनि जनताहरु भोकमरी नपरोस भन्ने उदेश्यले कार्यविधि बनाएर लगत संकलनको काम सकाएका छौँ । पहिलो चरणमा १० वटै वडाका अतिविपन्न, ज्यालामजदुरी गर्ने मजदुरीको लगत संकलन पश्चात राहत दिने काम सुरु भएको छ । सर्बदलीय संयन्त्रको निर्णय गरेर सेवाग्राही छनोट गरिएको छ । हालसम्म ६ सय ५० जनालाई राहत स्वरुप खाद्यान्न दिएका छौँ र बाकीँ रहेकालाई दुई दिन भित्रमा राहत दिने काम सकाउने योजनामा छौँ । नगरपालिकाले दोस्रो चरणमा पनि राहत दिने काम सुरु गर्ने गरि पूर्वतयारी गरेका छौँ । राहत दिनका लागि विभिन्न व्यवसायीले समेत सहयोग गरेका छन् ।

३) क्वारेन्टाइनको अवस्था के हो ? बाहिरबाट आएका कति हुन ? कति बसेका छन ? किन बस्न मानेनन ?
नगरपालिकाले विपद्को पूर्व तयारीका लागि नगरक्षेत्रका विभिन्न ठाउँमा गरि ९७ बेडको क्वारेन्टाईन निर्माण गरेका छौँ । जनताहरु एकैचोटी भारत र तेस्रो मुलुकबाट आएकालाई ध्यान दिन सकेनौ । गाउँमा सबै व्यक्ति भित्रिनु भयो उहाँहरुलाई घरमै बसाल्न आग्रह ग¥यौ । सबै गाउँमा घुलमिल गरेको स्थितीले हामीहरुले नगरले बनाएका क्वारेन्टाईनमा बसाल्न सकेनौ । उहाँहरुलाई केहि समस्या आएमा क्वारेन्टाईनमा लिने गरि पहिलो सुरक्षित माध्यमका रुपमा होम क्वारेन्टाईनमा राखेका छौँ ।
विदेशबाट आएका दुई जनालाई पनि होम क्वारेन्टाईनमा राखिएको छ । प्रकोप हुन नदिनका लागि र बैदेशिक रोजगारीबाट आएका व्यक्तिलाई सुरक्षित राख्नका लागि जनप्रतिनीधि, स्वास्थ्यकर्मी एकजुट भएको स्थिती छ । कोरोना संक्रमण सार्न नदिनका लागि साबधानी अपनाएका छौ । विपद् जस्तोसुकै अवस्थामा पनि आउने सक्ने हुँदा अझ क्वारेन्टाईन अझै बढाउने सोँचमा छौँ । क्वारेन्टाईनमा शौचालय, खानेपानी, खाना, औषधीको पूर्व तयारी गरेका छौँ । नगरपालिका भित्र तेस्रो मुलुक र भारतबाट ४ सय ७७ जनालाई होम क्वारेन्टाईनमा बस्नका लागि आग्रह गरिएको छ भने उनीहरुको दैनिक रुपमा स्वास्थ्य अवस्था समेत बुझिएको छ ।

४) अहिलेको महामारीमा जनताले स्थानीय सरकारको अनुभुती गर्न पाए त ? कसरी ।
नगरपालिकाले नगरक्षेत्रका कुनै पनि जनतालाई खाद्यको समस्या लगायत अन्य समस्याहरु भोग्न नपरोस भनेर पूर्व तयारीमा छौँ । दैनिक ज्यालादारी गर्ने मजदुर र अन्य गरिब परिवारलाई खाद्यान्नको व्यवस्था गरेका छौँ । नगरक्षेत्रका जनताको रक्षाको तयारीमा छौँ । जनताले जिताएर यो स्थानमा आएका छौँ त्यसैले यो समयमा जनताले दिएको जिम्मेवारीलाई जस्तो सुकै जोखिमको सामना मोलेर भएपनि जनतालाई साथ दिइरहेका छौं र दिन्छौँ ।

५) यो महामारी नियन्त्रणका लागि स्थानीय तहलाई के सहयोग आवश्यक छ ?
विपद् रोक्नका लागि पहिलो आवश्यकता स्वास्थ्यकर्मीलाई सुरक्षित सामाग्रीको आवश्यता छ । कोरोनाको औषधी उपचार छैन् । नगर क्षेत्रका जनताले लक डाउनमै बसेर सुरक्षित भई साथ दिनुपर्छ । स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई सुरक्षित बनाउनका लागि हामीहरु एकजुट हुनुपर्ने देखिन्छ । जनताहरु घरमै बसेर लक डाउनलाई साथ दिनु पनि अर्को आवश्यता देखिन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले हामी सवैले ध्यान दिनुपर्दछ । ठूलाठूला विकसित देशमा श्रोत साधन हुँदाहुँदै पनि नियन्त्रण नभएको अवस्था छ । नेपालमा अझै महामारीको रुपमा नफैलेकाले पनि हामीहरु समयमै सहज र सचेत बन्न आवश्यक देखिन्छ । त्यसका लागि म सवै नगरवासीसँग आग्रह गर्दछु ।

  • प्रस्तुती : सागर शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *