Bannerआर्थिकआर्थिक/बिकासराष्ट्रिय

४५ रोपनी बाँझो जमिनमा प्यूठानका पूर्वअधिकृतको कृषि यात्रा

प्यूठान । ३२ वर्ष ६ महिना सरकारी सेवामा बिताएका प्यूठानको मल्लरानी गाउँपालिका–४ खलंगाका गोपाल प्रसाद नकर्मीको अवकाश पछिको दैनिकी अहिले माटो, बिरुवा र फलफूलसँग बितिरहेको छ । सरकारी कार्यालयमा फाइल र कागजपत्रसँग व्यस्त रहने नकर्मी अहिले बिहानैदेखि आफ्नै बारीमा पुग्नुहुन्छ ।

६५ वर्षीय उहाँले सरकारी सेवाबाट अवकाश लिएपछि लामो समयदेखि बाँझो रहेको पुख्र्यौली जमिनलाई उत्पादनशील बनाउने अभियान थाल्नुभयो । करिब ४५ रोपनी जमिनमा उहाँले कृषि बगैंचा स्थापना गर्नुभएको छ । एक समय बाँझो रहेको जमिन अहिले विभिन्न प्रजातिका फलफूल, तरकारी र नगदेबालीले हराभरा बनेको छ ।

नकर्मीले २०७६ सालमा नेपाल सरकारको अधिकृत पदबाट अवकाश लिनुभयो । मुखियाबाट सरकारी सेवा सुरु गर्नुभएका उहाँ नायब सुब्बा हुँदै अधिकृत बन्नुभयो । तीन दशकभन्दा बढी समय सरकारी सेवामा बिताएपछि अवकाशको जीवन घरमै बसेर बिताउने भन्दा माटोसँग जोडिएर केही उत्पादन गर्ने उहाँको सोच बन्यो ।

‘बाँझो रहेको पुख्र्यौली जमिनको सदुपयोग होस्, त्यसबाट आम्दानी पनि होस् र आफ्नो स्वास्थ्यका लागि पनि राम्रो होस्’ भन्ने सोचले कृषि कर्ममा लागेको नकर्मी बताउँनुहुन्छ । कृषिमा नयाँ सुरुवात भने उहाँका लागि सहज थिएन । कृषि क्षेत्रमा आवश्यक पूर्वाधार र प्रविधिको अभाव बीच उहाँले तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम प्यूठानबाट टनेल निर्माण तथा मल उत्पादनमा सहयोग पाउनुभयो । त्यसपछि उहाँले व्यवस्थित रूपमा कृषि बगैंचा विस्तार गर्न थाल्नुभयो ।

त्यतिबेला प्यूठानका किसानले बाँदर, बदेललगायतका जंगली जनावरबाट खेतीबालीमा ठूलो क्षति व्यहोर्नुपरेको थियो । जंगली जनावरबाट तुलनात्मक रूपमा कम क्षति हुने अदुवा र हलेदो खेतीलाई विकल्पका रूपमा रोज्दै नकर्मीले कृषि यात्रा अघि बढाउनुभयो ।

तर अहिले उहाँको कृषि बगैंचा अदुवा र हलेदोमा मात्र सीमित छैन । मल्लरानी अर्गानिक कृषि फर्म प्रा.लि. नाम दिएर शुरु गरेको कृषि बैचामा अहिले केरा, कागती, सुन्तला, कमला, खुर्सानी, आँप र कफी लगायत विभिन्न प्रजातिका फलफूल तथा तरकारी उत्पादन भइरहेका छन् । मौसमी तरकारी तर्फ सिमी, बोडी, धनियाँ, फर्सी लगायतका उत्पादन पनि हुने गरेका छ्न ।

उत्पादन भएका फलफूल तथा तरकारी स्थानीय बजारमा बिक्री हुने गरेका छन् । टनेल भित्र विभिन्न तरकारीका बिरुवा उत्पादन गरी किसानलाई बिक्री गर्ने गरिएको छ । यसबाट नकर्मीलाई कृषि उत्पादनसँगै बिरुवा बिक्रीबाट समेत आम्दानीको अवसर मिलेको छ । कफी र कागतीको उत्पादनबाट समेत आम्दानी भइरहेको उहाँ बताउँनुहुन्छ । कृषि बगैंचालाई क्रमशः विस्तार गर्दै लैजाने र जमिनको अधिकतम उपयोग गर्ने उनको योजना छ ।

सरकारी सेवाबाट अवकाश पाएपछि धेरै मानिस आरामको जीवन रोज्छन् । नकर्मीले भने अवकाश पछिको समयलाई उत्पादनसँग जोडेका छन् । वर्षौँदेखि बाँझो रहेको पुख्र्यौली जमिनमा कृषि कर्म सुरु गरेर उहाँले अवकाश पछिको जीवनलाई नयाँ अर्थ दिनुभएको छ ।

उहाँको बगैंचा अहिले व्यक्तिगत आम्दानीको माध्यम मात्र बनेको छैन, बाँझो जमिनलाई उत्पादनमा जोड्न सकिन्छ भन्ने उदाहरणसमेत बनेको छ । कृषि क्षेत्रमा सम्भावना खोज्ने हो भने उमेर र पेशागत पृष्ठभूमि बाधक हुँदैन भन्ने सन्देश नकर्मीको यात्राले दिएको छ ।

सरकारी सेवामा तीन दशकभन्दा बढी समय बिताउनुभएका नकर्मीको अहिलेको परिचय पद र जिम्मेवारी भन्दा फरक छ । ४५ रोपनी पुख्र्यौली जमिनमा फैलिएको हरियाली बगैंचा नै उहाँको अवकाश पछिको नयाँ परिचय बनेको छ । माटोसँग जोडिएको यही यात्रामा उहाँले आम्दानीसँगै स्वस्थ र सक्रिय जीवनको आधार समेत खोजिरहेका छन् ।

Related Articles

Back to top button