प्यूठान । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र पुन ‘सिजल’ले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य सेवा र शिक्षालाई एकीकृत ढङ्गले अघि बढाउनुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य क्षेत्रमा देखिएका अधिकांश समस्याको समाधानका लागि नागरिकको चेतनास्तरमा सुधार आवश्यक रहेको उहाँले बताउनुभयो । मानव स्वास्थ्यमा देखिने समस्यामा मानिसको जीवनशैली, स्वभाव तथा चालचलनको ठूलो प्रभाव पर्ने उल्लेख गर्दै मन्त्री पुनले बजारमा पाइने रेडिमेट खानेकुराको बढ्दो प्रयोग तथा प्लास्टिकजन्य फोहोरका कारण नसर्ने रोगको अवस्था भयावह बन्दै गएको बताउनुभयो ।
स्वास्थ्य कार्यालय प्यूठानको अनुगमनका क्रममा बोल्दै मन्त्री पुनले स्वास्थ्यसम्बन्धी समस्या न्यूनीकरणका लागि उपचारात्मक सेवासँगै जनचेतना र शिक्षामा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो । नागरिकको चेतनास्तरमा सुधार ल्याउन सके स्वास्थ्य क्षेत्रका धेरै समस्या समाधान गर्न सकिने उहाँको भनाइ थियो ।
अनुगमनका क्रममा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ मा कार्यालयले हाँसिल गरेका मुख्य उपलब्धि, सिकाइ तथा देखिएका चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जिसीले प्यूठान अस्पतालको भवन निर्माण कार्य अलपत्र अवस्थामा रहेको तथा स्थानीय तहमा सञ्चालित आधारभूत अस्पताल सञ्चालनमा समेत समस्या रहेको बताउनुभयो ।
उहाँले स्थानीय तहका आधारभूत अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्थापन गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।





