प्यूठान । कालिका अङग्रेजी आवासीय माध्यमिक विद्यालय बिजुवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार तथा राहतका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले देशभर सञ्चालन गरेको विपद् राहत सहयोग अभियानमा ऐक्यवद्धता जनाउँदै विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयको सहभागितामा सङ्कन गरिएको रकम प्याब्सन प्यूठानका सचिव शरद गौतमले जानकारी दिनुभयो ।
विद्यार्थीहरुबाट र५२ हजार १८० रुपैंया, शिक्षक तथा कर्मचारीवाट ३८ हजार ३५३ रुपैंया र विद्यालयको तर्पबाट १ लाख ९ हजार ४ सय ६७ रुपैंया संकलन भएको विद्यालयले जनाएको छ ।
संकलित रकम जिल्ला प्याब्सन मार्पत केन्द्रीय प्याब्सन हुदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रिन्सिपल दुर्गा बहादुर गुरुङ्ले बताउनुभयो । बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिदै उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरेको गुरुङले बताउनुभयो । उहाँका अनुसार विपद्का समयमा पीडितहरु प्रति दुःखमा साथ दिने सरकारको विकाससँगै विद्यार्थीमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले समेत अभियानमा सहभागी गराइएको हो ।
प्याब्सनको देशव्यापी राहत अभियानमा विद्यालय परिवारको सहभागिताले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्नुका साथै राहत तथा पुनःस्थापनाका लागि सहयोग पुग्ने विद्यालयले बिश्वास व्यक्त गरेको छ ।






