‘म काम गर्न सक्दो रहेछु । मसँग जाँगर रहेछ ।’ कोरिया नआइपुगेको भए यो कुरा थाहा नपाई मर्ने थिएँ कि ! यत्ति थाहा पाउन म कोरिया आइपुग्नुपर्‍यो ।

***

नेपालमा मैले रोजेको जिन्दगी बाँचेको थिएँ । खान र घुम्न पुग्ने जागिर थियो । मेरो जिन्दगीमा घरपरिवारको कुनै प्रश्न थिएन ।

बिन्दास् !

दशैंमा अनिवार्य घर जानुपर्थ्यो । बाँकी कुनै दिन घर फर्कने बाध्यता थिएन ।

घर जानु मेरो रहरको विषय होइन । मेरो रहर : खल्तीमा पैसा हुँदा बेस्मारी घुम्नु हो ।

मेरा सहकर्मीहरुले घर-घडेरी जोडे । परिवार पाले । मलाई ठेगाना बताउन भए पनि घर चाहिन्छ भन्ने ज्ञान भएन । अहिले पनि छैन ।

‘जिन्दगी जसरी’नि चल्छ । भोलि कसले देखेको छ ? आज मरे भोलि दुई दिन !’

म यो भनाइबाट प्रभावित । यो भनाइ जति स्वतन्त्र भनाइ अरु कुनै लाग्दैन ।

एक दिन मेरो मूत्रनलीमा पिसाब होइन, रगत बग्यो ।

काठमाडौं मोडल हस्पिटलका डाक्टर सा’बले भने – ‘सिरियस केस !’

म रोगसँग डराइनँ, तर खल्तीसँग डराएँ । खल्तीमा दुई हजार छ । अब गर्ने के ? पढाइ र जागिरको बहानामा घर छाडेको बाह्र वर्ष भयो ।

घर नफर्कनुको उत्तर जागिरसँग छ, तर उपचार गर्ने खर्च छैन ।

मैले यसबेला घर सम्झेँ । साथीभाइ सम्झेँ । अरु बेला कहिल्यै नसम्झने साथीलाई पनि बिरामी छु भनेर टेक्स्ट पठाएँ । बिर्सिसकेका साथीहरुलाई पनि बल गरीगरी सम्झेँ ! कारण : पछि पैसा माग्न सजिलो होस् भनेर ।

‘अस्पतालमा छु । डाक्टरले इमर्जेन्सीमा पठायो । पैसा थोरै मात्र बोकेर आएँ । केही पैसा लिएर आउनू ।’ दाजुलाई फोन गर्ने हिम्मत भएन, टेक्स्ट पठाएँ ।

जिन्दगी मैले बाँचेको कारण मलाई रोग लागेको हो । यसको जिम्मेवार स्वयम् हुनुपर्छ । जिन्दगी बाँच्न चाहिँ आफू बाँच्ने, रोग लाग्दा चाहिँ अरुले जिम्मेवारी लिनु हुन्न

दाजुले टेक्स्ट अनुसारको काम गर्नुभयो । अत्तालिँदै अस्पताल आउनुभयो ।

‘जिन्दगी मैले बाँचेको कारण मलाई रोग लागेको हो । यसको जिम्मेवार स्वयम् हुनुपर्छ । जिन्दगी बाँच्न चाहिँ आफू बाँच्ने, रोग लाग्दा चाहिँ अरुले जिम्मेवारी लिनु हुन्न ।

भोलि म मरेँ भने पनि म बाँचेको कारण नै मरेको हुँ । मृत्युको जिम्मा पनि मैले नै लिनुपर्छ । म मर्छु तर सामाजिक परम्परा र संस्कार मसँगै मर्दैन । मृत्युपछि पनि खर्च लाग्छ । जस्तो दाउरा वा इलेक्ट्रिसिटी, मलामी खर्च, धार्मिक परम्परागत संस्कार आदि । यसको खर्चको व्यवस्था पनि आफैंले गरेर मर्नुपर्छ ।

बाँकी सम्पत्ति नभए पनि जिन्दगी चल्छ । पृथ्वीमा आधा मान्छेको आफ्नै घर छैन । जग्गा छैन । सम्पत्ति छैन । तर, आफ्नो रोगको उपचार आफ्नै खर्चमा गर्छन् । भिख मागेर बाँच्ने मान्छेले पनि आफ्नो उपचार आफ्नै खर्चमा गर्छ ।

मसँग काम गर्न सक्ने शक्ति छ । मैले आफ्नो उपचार आफ्नै खर्चमा गर्नुपर्छ । आफूले बाँचेको प्रत्येक जिन्दगीको जिम्मा आफैलै लिनुपर्छ । त्यसको भागीदार आफैं हुनुपर्छ ।’

यस्तो सोचेको एक वर्षपछि म कोरिया आइपुगेको हुँ ।

***

कोरियामा पहिलो दिन काग कराएको सुनेँ । घाम दुई पहाडको चेपबाट उदाएको देखेँ । त्यस दिन मैले खोर्सानी बारीमा काम गरेँ । चपस्टिकले भात खाने असफल प्रयास पनि गरेँ ।

मौसम सफा थियो । कतै-कतै आकाशमा कपास जस्ता न्याना बादलका टुक्रा देखिन्थे ।

पहाडहरु होचा भए पनि आकाशसम्मै चुलिएका छन् । यसकारण यहाँको आकाश निकै होचो देखिन्छ ।

मे महिना भएकोले हावामा चिसोको लहर अझै बाँकी छ । प्रत्येक किसान बारीमा निस्किएर माटो र बोटबिरुवासँग खेलिरहेका छन् ।

नेपालकै कुनै पहाडी भूगोलमा छु भन्ने भ्रममा रमाइरहेको छु । यदि म कान नसुन्ने भइदिएको भए थुप्रै समय यो सुन्दर भ्रममा बाँचिरहन सक्थेँ । तर, छिनछिनमै सुनिने कोरियन भाषाले मलाई उचालेर एकैपल्ट यथार्थमा थेचार्छ ।

म भ्रमबाट ब्युँझेर लजाउँदै मुस्कुराउँछु ।

पहिलो दिन लगातार चौध घण्टा काम गरेँ । त्यसपछिका दिनहरुमा सोह्रदेखि अठार घण्टा !

यो मेरो कल्पना भन्दा बाहिरको विषय थियो ।

नेपालमा आठ घण्टा खेतबारीमा काम गरेको याद छैन ।

कोरिया आउनुभन्दा एक महिना अघि घर गएको थिएँ । बारीमा मकै हुर्कँदै थियो । गोड्ने बेला भएको रहेछ । बाले खेताला लाउनुपर्छ, एक्लै सकिँदैन भन्नुभयो ।

‘म कृषिमा काम गर्न कोरिया जाँदै छु । यति मकै गोड्न किन खेताला ? म आफैं गोड्छु,’ बालाई फूर्ति देखाएँ ।

बाले पत्याउनुभएन । मलाई नपत्याउनेमा बा एक नम्बरमै हुनुहुन्छ ।

एक घण्टा मकै गोडेपछि मेरो केही लागेन । घाम पग्लिएर मेरो निधारमा चुहिन थाल्यो ।  मैले हारेँ । बाले खेताला पाउनुभएन । एक्लै गोडिसक्नुभयो ।

भोलिपल्ट जिउ दुखेर हिँड्न नसक्ने भएँ म । नसाहरु गाठो परे !

कोरियामा घरको कामको साँवा, ब्याज, ब्याजको पनि स्याज हिसाब गरेर काम गरिरहेको छु ।

यहाँ नसाहरु गाँठो पर्दै गए । फुक्दै गए । बटारिँदै गए । आफैं दुखे । आफैं निको भए । आफैं बलियो बने ।

***

कोरियामा पाँच जनाभन्दा थोरै विदेशी कामदार भएको कम्पनी र कृषिमा काम गर्नेहरुको लागि श्रम ऐन लागू हुँदैन । यसकारण साहु सबैभन्दा माथि हुन्छ

दैनिक अठार घण्टासम्म काम गरे पनि तलब आठ घन्टाको मात्रै पाइन्थ्यो । कोरियामा पाँच जनाभन्दा थोरै विदेशी कामदार भएको कम्पनी र कृषिमा काम गर्नेहरुको लागि श्रम ऐन लागू हुँदैन । यसकारण साहु सबैभन्दा माथि हुन्छ । मजदुरको लागि सबै ढोका बन्द ! खेतबारीमा काम गर्ने धैरैजसोले बाह्र घण्टाभन्दा माथि अनिवार्य काम गरेकै हुन्छन् ।

पहिलो महिनाको तलब थापेपछि झोला प्याक गरेँ ।

मैले यहाँ गर्ने काम नेपालमै गर्न सक्छु । अब फर्किन्छु । खेतबारी बाँझो छ । बाँझो फोर्छु । जे फल्छ त्यही रोप्छु ।

बुढा बाबुआमा । मिनेट-मिनेटमा हालखबर सोधिरहने साथीभाइ, आफन्त । सबै उतै त छन् ।

पखेटा फटफटाउँदै उड्न पाउने मेरो स्वतन्त्र जीवन त्यागेर यातनागृह जस्तो ठाउँमा बस्न सक्दिनँ । ढोकामा निस्केँ । पैंताला संघारको दशगजामा अडियो ।

तीस वर्षसम्म सिन्को नभाँचेको मान्छे । अब गर्छ भन्ने के ग्यारेन्टी ? म अरुलाई जत्ति नै आफूलाई पनि अविश्वास गर्न सक्छु ।

आफैंलाई विश्वास गर्न नसकेपछि फेरि झोला बिसाएँ । काम गर्न थालेँ ।

***

म बस्ने घरमा इन्टरनेट थिएन । घर छेउमा एउटा चर्च थियो । राति दश बजे ल्यापटप बोकेर चर्च जान्थेँ । इन्टरनेट चलाउँथेँ । धन्न नेपालदेखि ल्यापटप ल्याएछु !

नेपालमा हुँदा भर्चुअल दुनियाँको लतमा फसेको रहेछु । कोरिया आएर इन्टरनेट चलाउन नपाउँदा ड्रग्स खान नपाएर छटपटाएको सिक म्यान जस्तो भएँ ।

पछि लत छुट्यो । चर्च जान छाडेँ ।

म दुनियाँबाट डिसकनेक्ट भएँ । साथीभाइ, आफन्तसँग मात्र हैन, आमासँग पनि डिसकनेक्ट !

अठार घण्टासम्म काम गरेर सुत्ने बेलामा आफैंलाई एकपल्ट चिमोट्थेँ । दुख्न छाडिसक्यो कि भन्ने शंका मेटेर मात्र निदाउने हिम्मत आउँथ्यो ।

घरिघरि लाग्थ्यो, म मान्छेबाट कतै गधा भइसकेँ कि ! वा गोरु पो भइसकेँ कि ! वा मलाई भात मीठो नभएर घाँस पो मीठो हुन्छ कि !

कहिलेकाहीँ लाग्थ्यो, म बौलाइसकेँ कि ! आफू बौलाएको कसरी थाहा पाउने ?

भाषा नबुझेपछि सबै कुरा इशारामा चल्थ्यो । बहर गोरु दाए झैं साहुले काम सिकाउँथ्यो । बहर गोरु दाउन कम्ता अप्ठेरो हुन्न । साहुलाई पनि भयंकर अप्ठेरो भयो । पछि गोरुले मान्छेको भाषा बुझेर सही मेलोमा हिँडे झैं म पनि मेलो टिप्न थालेँ ।

कहिलेकाहीँ लाग्थ्यो, म बौलाइसकेँ कि ! आफू बौलाएको कसरी थाहा पाउने ? न मैले बुझ्ने भाषा छ । न मेरो मगजको हाल थाहा पाउने मान्छे छन् । ‘तँ बौलाइस्’ भन्न पनि आफूलाई चिन्ने मान्छे चाहिन्छ । समाज चाहिन्छ । गोरु बौलाएको मान्छेले कसरी थाहा पाउने ?

***

तीन महिनापछि साथीले मोबाइल किनेर पठाइदियो ।

अनि फेरि आफ्नो दुनियाँमा फर्कन थालेँ । मोबाइल पठाइदिने साथीलाइ मैले ईश्वरको अवतार भनेँ । अतिशय भावुकता किन नहोस्, उसलाई मैले ईश्वरको अवतार भनेकै हुँ ।

गुमनाम मसिना थुम्काहरुले घेरिएको सानो कृषि उपत्यकाबाट साथीभाइको दुनियाँमा निस्केँ । कानले नबुझ्ने भाषा, जिभ्रोले मन नपराउने खाना, मेरो आँखाले नरुचाउने दृष्यबाट मेरो हालखबर सोध्ने साथीभाइ र आफन्तको दुनियाँमा निस्केँ ।

काम गर्दा बस्ने फुर्सद पटक्कै हुँदैनथ्यो । तर, ट्वाइलेट जान पाइन्थ्यो । फेसबुकतिर साथीभाइले ‘के छ’ भनेर सोधेको प्रश्नमा ट्वाइलेट गएको समय पारेर उत्तर लेख्थेँ – बिन्दास छ !

***

चार महिनापछि शरीर र आत्मालाई डिसकनेक्ट गर्ने अभ्यास गरेँ । खुसी मान्ने शरीर होइन, आत्मा हो । आत्मा खुसी हुने बाटो खोजेँ ।

सागबारीमा काम गर्ने भएकोले गीत सुन्न पाइन्छ । साहुले नै सागबारीमा स्पिकर जोडेर गीत सुन्ने व्यवस्था मिलाइदिएको छ । तर, कोरियन भाषाको गीत ! यसबेलामा म शब्द नबुझ्ने गीत होइन, शब्द र संगीतमा डुब्ने गीत सुन्न चाहान्छु ।

‘आमा रुँदै गाउँबेंसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’ टाइपका भावुक गीत सुन्न चाहान्छु ।

पछि मोबाइलमा अडियो किताब र गीत सुन्दै काम गर्न थालेँ । मेरो आत्मा अडियो किताब र गीतसँग रमाउन थाल्यो । एउटै किताब दश/बाह्र पल्ट सुनेको छु ।

काम गाह्रो हुन्छ भन्ने थाहा पाउनै छाडेँ ।

पछि-पछि यो आइडिया अलिक गलत हो जस्तो लाग्यो । यसले ध्यानको सन्तुलन गुमायो । म ध्यानलाई सन्तुलन राख्न चाहान्छु । अडियो सुन्दै काम गर्दा कामबाट निस्किने मसिनो ध्वनिसँग इरिटेट हुन थालेँ ।

यो खराब हुन सक्छ भन्ने लाग्यो ।

पछि मैले नयाँ ध्यानको तरिका अपनाएँ । जस्तो खोर्सानीको भेट्नो कैंचीले काट्दा चट्चट् आवाज आउँछ । कैंचीको दुई धार बज्छन् । हो, त्यही कैंचीको संगीतमाथि ध्यान गर्न थालेँ । मगजको अन्तिम गहिराइले कैंचीको संगीत मात्र सुन्ने काम गर्न थाल्यो । मज्जा कैंचीको संगीतबाट लिन थालेँ । सागको बोटबाट पात चुँड्दा आउने ध्वनिमा ध्यान गर्न थालेँ ।

वाह, त्यो कैंचीको संगीत ! वाह, त्यो बोटबाट पात चुँडिँदाको ध्वनि ! चरम आनन्द !

अब मलाई जति घण्टा काम लगाए पनि हुन्छ । जे भने पनि हुन्छ । थाक्न छाडेँ । रमाउन थालेँ । कामलाई ध्यानको रुपमा फेरिदिएँ ।

कैंचीको रिदम नटुटोस् भनेर छिटोछिटो काम गर्न थालेँ । मेरो कामको गतिलाई साहुले मन परायो । मलाई असल भन्यो ।

आफू काममा रमाउन थालेपछि नजिकका साथीभाइलाई लामो-लामो म्यासेज लेखेँ – ‘म कोरियाको सागबारीमा काम गर्छु । मैलै रोपेको बिरुवामा फल लागेको छ । काँक्राको फूल मेरो आमाले करेसाबारीमा रोपेको जस्तै सुन्दर छ ।’

Sayan-2

जब मैले कामलाई ध्यानमा परिवर्तन गरेँ, तब मलाई रिस उठ्न छाड्यो । जसले जे भने पनि हुने । जसले जे गरे पनि पटक्कै रिस नउठ्ने । दुनियाँ मन्दिर अगाडि चिच्याइरहेको भिखारी जस्तो ! मेरो आत्मा चाहिँ मन्दिरभित्र सानले बसिरहेको निर्जीव देउता जस्तो ! भिखारीले जति चिच्याए पनि मन्दिरको देउताले सुन्नेवाला छैन ।

***

कोरियामा मैले मात्र होइन, सबैले मैले जसरी नै काम गर्छन । यहाँ काम पहिलो ईश्वर हो । काममा मान्छेको आस्था छ । त्यसपछि मात्र मान्छे चर्च जान्छन् । गुम्बा जान्छन् । काममा मैलै जसरी नै मान्छेले ध्यान विधि अपनाउँछन् र आत्मालाई खुसी राख्छन् ।

यहाँ मालिक र मजदुरले बराबर काम गर्छन् ।

साहु मेरो के कुराबाट प्रभावित भएछ कुन्नि ! एक दिन सोह्र घण्टा काम गरेपछि भन्यो – ‘तँ थाकिस् होला, गएर सुत् । बाँकी काम म सकेर सुत्छु ।’

म त एकाएक झस्केँ । उसको मंगोल अनुहारमा मेरो बाको जस्तो चुच्चो नाक र बाक्लो दाह्री खोजेँ । यस्तो त मलाई घरमा बाले मात्र भन्नुहुन्थ्यो ।

त्यसबेला चौपट्ट खुसी भएँ । त्यो रात मलाई ऐंठन भएन । केटाकेटीमा गुच्चा खेलेको सपना देखेँ । बिहान उठ्दा जिउ चंगा भयो ।  क्या खुसि ! म त सानो कुरामा रमाउने भइसकेछु ।

***

मैले सागबारीमा काम गर्छु भन्ने थाहा पाएपछि नेपालका मेरा केही साथीले मज्जाले हेपे । मेरो कुनै विचार छैन, गिदीमा कुनै बुद्धि छैन भन्ने आशयले कुरा गरे ।

एक दिन एक कवि साथीसँग नेपाली कवितामाथि डिस्कोर्स भएको थियो ।

उनले निकै हेपेको भाषामा भने -‘कोरियामा बेल्चा हान्ने मान्छेले कवितामाथि ठूलो कुरा नगर् । तैंले यस्तो कुरा गरेको सुहाउँदैन !’

पछि उनै साथीले मलाई आइफोन पठाइदिन भने ।

मैले हाँसिरहेको इमोजी पठाएर ती मित्रसँग कुरा गर्दागर्दैको इनबक्स बन्द गरेँ ।

***

एकदिन मैले गरिरहेको कामभन्दा अलिक फरक प्रकृतिको काम गर्नुपर्ने भयो । जुन सानो गल्तीले पनि ठूलो दुर्घटना हुन सक्थ्यो ।

सुरुमा मैले त्यो काम गर्न सक्दिनँ भनेँ । पछि साहुले मलाई काम गर्न प्रेरित गराएरै छाड्यो ।

यदि मैले त्यो काम नगरे अरु कसैले गर्थ्यो । दुर्घटना भए मेरो साटो अरु कोही घाइते हुन्थ्यो । मेरो साटो अरु कोही दुख्थ्यो । मेरो साटो अरु कोही मर्थ्यो ।

एक मालिकको लागि त मेरो मृत्यु र अरु कोहीको मृत्यु बराबर हो । मेरो मृत्यु र अरु कसैको मृत्युमा एक मालिकको नाताले ऊ बराबर दुख्छ । सबै कामदारको मृत्युको रङ एक मालिकको लागि एकै हो ।

यसकारण जतिसुकै जोखिम भए पनि मेरो साटो अर्को मान्छे खोजेर काम लाउँदैन । संसारभरिका मजदुर र मालिकको सम्बन्ध यत्ति हो !

नेपालमा मैले काम गर्ने अटोमोबाइल्स कम्पनीमा एक टेक्निसियन कामको सिलसिलामा दुर्घटनामा पर्‍यो । उपचार निकै लामो समयसम्म गर्नुपर्ने भयो ।

देशमा म जसरी शारीरिक श्रम नगरी हल्लिएर बाँच्नेहरुको लागि कोरिया सुधारगृह हो । लागूपदार्थको एक दुर्व्यसनी सुधार गृहबाट निस्कँदा जुन मनस्थितिमा हुन्छ, ठीक त्यही मनस्थितिमा छु यतिखेर

एक दिन फाइनान्स डिपार्टलाई मालिकको आदेश आयो – ‘तीन महिनाको तलब दिएर उसलाई कामबाट निकालिदेऊ । सधैं उपचार गरिरहन सकिँदैन ।’

अहिले आएर थाहा पाउँदै छु, जहाँसुकैको होस् मालिकको रङ एकै हुँदो रहेछ । हृदय एउटै तारबाट हल्लिँदो रहेछ ।

***

देशमा म जसरी शारीरिक श्रम नगरी हल्लिएर बाँच्नेहरुको लागि कोरिया सुधारगृह हो । लागूपदार्थको एक दुर्व्यसनी सुधार गृहबाट निस्कँदा जुन मनस्थितिमा हुन्छ, ठीक त्यही मनस्थितिमा छु यतिखेर । ऊ कति चंगा हुन्छ ! ऊ कति विगतसँग पछुताउँछ ! ऊ कति हिम्मतिलो बन्छ ! ऊ कति बलियो हुन्छ अब !

कोरियाबाट घर फर्कँदा मसँग आत्मविश्वास हुनेछ । जाँगर हुनेछ ।

मभित्र अनेकन मान्छे रहेछन् । मैले आफूभित्र काम गर्न सक्ने मान्छे भेटेँ । जाँगर भएको मान्छे चिनेँ । दैनिक अठार घण्टासम्म काम गर्न सक्ने बल भएको मान्छे पनि मैंसँग रहेछ ।

तीस महिना कोरिया बस्दा सिकेको सबैभन्दा ठूलो कुरा चाहिँ काम गर्नु दुःखको विम्ब होइन रहेछ । कामलाई दुःख मान्ने हो भने पृथ्वीका सारा मजदुरको अपमान हुन्छ ।

काम अर्थात् ‘काम’ जत्तिकै उत्तेजित र सुन्दर हुनुपर्दो रहेछ ।

ट्विटर – @rashayans

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close