> विचार > कोरोना र कृषि


कोरोना र कृषि

आनन्द क्षेत्री

विश्व कोरोना मय छ । एउटा सुक्ष्म जीवसँग सशंकित छ । हालसम्म विश्वका दुईलाख भन्दा बढी व्यक्तिले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन, भने दशौं लाख संक्रमित छन । यो भाइरससँग लड्न विश्व नै संघर्षमा जुटे पनि अहिलेसम्म कुनै पनि खोप वा औषधिको निर्माण भइसकेको छैन । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले यसको संक्रमणबाट जोगिनु भनेकै सामाजिक दूरी कायम राख्नु हो । यही कुरालाई मध्यनजर गर्दै विश्व समुदाय नै एक किसिमले बन्द अर्थात लकडाउनमा छ ।

यही कुराको अबलम्वन गर्दै महामारीबाट बच्न नेपाल सरकारले पनि चैत ११ गते देखि लकडाउन घोषणा गर्यो । त्यस पश्चात मानिसहरू विलासी वस्तुमा भन्दा खाद्य वस्तुको खरिदमा तल्लीन हुनाले नेपाली बजारमा एक किसिमको अभाव सिर्जना भएको छ । महंगी बढ्यो र दाउ हेरी भाउ गर्ने व्यापारीको कालोबजारी समेत मौलाएको छ । यो अवस्थामा आम मानिसहरूले कृषिको महत्व बुझिसकेका छन । भारतमा संक्रमितको संख्या निरन्तर बढिरहेकाले नेपालमा यसको प्रभाव उच्च हुन जान्छ जसले गर्दा लक्डाउन कायम नै रहन जरुरी हुन्छ ।

मानिस संक्रमणबाट जोगिन जस्तो सुकै प्रयास गरेता पनि भोकमरीको चपेटा कृषिजन्य वस्तुको उपभोग बिना टर्दैन । हालको समय अन्नपात भित्राउने, मकै छर्ने, चैते धान रोप्ने हो । रोप्न र गोडमेल गर्नमा एक डेढ हप्ता ढिला गरे पनि पाकिसकेको बाली भित्राउनमा ढिला, तयार भइसकेको जन्तु जनावरलाई दाना खुवाएर घाटामा चल्न सक्ने अवस्था पनि हुँदैन ।

कोरोनाको त्रासले कृषि उत्पादनमा ह्रास आउनु हुँदैन । त्यसो त नेपाल विगत कैयन वर्ष देखि निरन्तर व्यापार घाटामा छ ।
विश्व स्वास्थ्य संगठनको निर्देशन हुबहु पालन गर्न कठिन भएतापनि कृषक यस विषम परिस्थितिमा न्यूनतम सामाजिक दूरी कायम राखेर कृषि क्रियाकलापहरुमा होमिन जरुरी छ । सरोकारवाला निकायहरुले पनि सम्बन्धित कुरालाई ध्यानमा राखी होसियारी पूर्वक निर्णय गर्नु पर्छ ।

उत्पादित वस्तु उचित मूल्यमा सरकारले खरिद गरी भौंतारिएका उपभोक्ता सामु पु¥याउनु पर्दछ । यो राज्यको कर्तव्य पनि त हो र कृषिलाई प्रोत्साहन गर्नु पर्दछ ।

कोरोना लक डाउनको समयमा नेपाली भूमिमा रहनु भएका सबै नागरिकले फुर्सदको समय भर्चुअल संसारमा मात्र व्यतीत गराउनु भन्दा बाँझिएको जमीनलाई उर्वर बनाउन लाग्नु पर्छ । आफूसँग उपलब्ध स्रोत, साधन, बुद्धिविबेक प्रयोग गरि अधिकतम उत्पादनमा टेवा पु¥याउनु पर्दछ । रेमिट्यान्सको भरमा चलेको हाम्रो देशको अर्थतन्त्र हाल धरासयी छ । लाखौं युवाको रोजगारी देशप्रदेशमा धरापमा छ । राज्यले राजस्व समेत असुली गर्न नपाएको अवस्था छ ।

यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई जोगाउन देशवासीले बाँझिएको माटो फोरेर नेपाललाई साँच्चिकै कृषिप्रधान देशमा परिणत गर्नु पर्दछ । उब्जनशिल भूमिलाई उत्पादनमुखी बनाउन ढिला गर्नु हुँदैन ।

कोरोना कहरले कृषिमा सृजित अर्को समस्या छ–उपभोगको । एकतिर उपभोक्ता कृषि जन्य वस्तु जस्तै ः चामल, तरकारी, अण्डा, मासु, फलफूल इत्यादिको खोजीमा छट्पटाइरहेका छन भने अर्को तिर किसानको तरकारी नबिकेर खेतमा डोजर लगाउन बाध्य छन । कुखुरा र अन्य जनावरलाई दाना खुवाउन असमर्थ छन त कतिपय भण्डारण गर्नै नसक्ने अवस्थामा छन । सञ्चार माध्यममा कुखुरा खाल्डोमा हालेको, दूध बाटोमा पोखेको समाचार आएका छन ।

यो समस्या को समाधान राज्यबाट हुनुपर्दछ । उत्पादित वस्तु उचित मूल्यमा सरकारले खरिद गरी भौंतारिएका उपभोक्ता सामु पु¥याउनु पर्दछ । यो राज्यको कर्तव्य पनि त हो र कृषिलाई प्रोत्साहन गर्नु पर्दछ । अन्य विपन्न नागरिक एबम दैनिकी ज्याला मजदुरी गरेर छाक टार्नेहरु, अर्थात आपतमा परेका जोकोहि नागरिकको लागि सरकारले थप राहत प्याकेजको व्यवस्था गर्नु पर्दछ । ऋण लिएर कृषि गरेका किसानहरुलाई ब्याजदरमा सहुलियत गरिनु पर्दछ ।

अतः कोरोनाले देशको अर्थतन्त्र ठप्प नपरोस, कृषि उत्पादनमा कमी नआई वृद्धि होस, कोही कुनै नागरिक खाद्य वस्तुको अभावमा ज्यान फाल्न नपरोस । तपाईं हामी जति सक्छौं उत्पादनमा जुटौं । कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाऔं । विदेशिएका युवा जनशक्तिले देश भित्रै कृषिमा अवसर खोजौं । देशप्रति जिम्मेवार बनौं, सुरक्षित रहौं, उत्पादन बढाऔं, कोरोनाबाट बचौ । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *