सुजल श्रेष्ठ
प्यूठान । जिल्लामा पछिल्लो समय दुई बाली धान खेती गर्न थालिएको छ । धानको उत्पादन बढाउन वर्षे धानसँगै चैते धान खेती गर्न लागिएको हो । धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानले चैते धान खेतीको प्रर्वद्धन गर्दै आएको छ ।
परियोजना कार्यान्वय इकाई प्युठानका प्रमुख चुमानसिंह गिरीले ६ वर्षदेखि धान जोनमा कार्यक्रम गर्दै आएको बताउनुभयो । जिल्लामा छ हजार ५७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको उहाँले बताउनुभयो । धान उत्पादन बढाउन दुई हजार ७९९ हेक्टर क्षेत्रफलमा चैते धान खेती पनि गर्ने गरिएको छ ।
परियोजना सञ्चालन भएको ६ वर्षको अवधिमा एक हेक्टरमा तीन मेट्रिकटन उत्पादनबाट बढेर एक हेक्टरमा चार दशमलव आठ मेट्रिकटन उत्पादन पुगेको कर्यालयको तथ्याङ्क छ । कार्यालयले धानको उत्पादन बढाउनका लागि ८ जातका धानको वीऊ सिफारीस गरि प्रयोग गर्दै आएको छ । “खेती गर्ने क्षेत्र बढाउन सकिदैन,” उहाँले भन्नुभयो, “त्यसैले उत्पादन र उत्पादकत्व बढाउन तर्फ केन्द्रित भएका छौं ।”
चैते धानका लागि चैते ५, हर्दिनाथ १ र हर्दिनाथ ३ प्रयोग गरिएको छ । प्युठान नगरपालिकाको २, ८, १०, ऐरावती गाउँपालिकाको १ र ५ नम्वर वडामा चैते धान खेती गरिएको छ । फागुनमा रोपेर असारमा बाली भित्र्याउने गरि चैते धान खेती गरिन्छ । तर यो वर्ष १५ दिन ढिला भएको गिरीले बताउनुभयो ।
चैते धान खेती प्रर्वद्धनका लागि सिंचाई कुलो, मेसिन औजार, वीऊ, औषधी उपलब्ध गराउने गरिएको छ । जिल्लामा परियोजना लागु भएपछि धानमा जिङ्क प्रयोग गर्न थालिएको समेत कार्यालय प्रमुख गिरीले बताउनुभयो ।
