Uncategorizedराजनीति

किन एउटै मञ्चमा जुट्दैछन् मुख्यमन्त्रीसहित प्यूठानका नौवटै पालिका प्रमुख ?

प्यूठान । खेल पर्यटन विकास, स्थानीय पूर्वाधारको विस्तार र जिल्लाको सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्य सहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित प्यूठानका नौवटै स्थानीय तहका प्रमुख एउटै मञ्चमा जुट्ने भएका छन् ।

झिमरुक गाउँपालिका–८ स्थित दिहाल्ना (प्रस्तावित लालीगुराँस राष्ट्रिय क्रिकेट रंगशाला)मा कात्तिक ७ गतेदेखि सञ्चालन हुने लालीगुराँस कप टी–२० क्रिकेट प्रतियोगिता २०८३ ले जिल्लाका जनप्रतिनिधि, खेलप्रेमी र विकासका सरोकारवालालाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ ।

दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमको आयोजनामा कात्तिक ७ देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्देश्य क्रिकेट खेलको प्रतिस्पर्धामा सीमित छैन । खेलकुदलाई पर्यटनसँग जोड्दै दिहाल्नालाई सम्भावनायुक्त गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत यससँग जोडिएको आयोजक संस्थाका अध्यक्ष गोबिन्द गिरीले बताउनुभयो ।

मुख्यमन्त्री सहित झिमरुक, गौमुखी, नौबहिनी, मल्लरानी, माण्डवी, ऐरावती, सरुमारानी गाउँपालिका, स्वर्गद्वारी र प्यूठान नगरपालिकाका प्रमुखहरुको उपस्थितिले स्थानीय तहबीच विकासका विषयमा सहकार्य गर्ने सम्भावनालाई समेत उजागर गर्ने अध्यक्ष गिरीले अपेक्षा ब्यक्त गर्नुभयो ।

दिहाल्नालाई खेल पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न रंगशालाको पूर्वाधार विकास, पहुँचमार्गको स्तरोन्नती, खेलाडीका लागि आवश्यक सुविधा, आवास तथा खानपान सेवाको विस्तार र स्थानीय उत्पादनको बजारीकरण जस्ता विषयमा साझा पहल आवश्यक देखिन्छ ।

दिहाल्ना : खेल पर्यटनको सम्भावनायुक्त गन्तव्य
प्यूठानको दिहाल्ना झिमरुक, नौबहिनी र गौमुखी गाउँपालिकाको संगम क्षेत्रका रूपमा चिनिने स्थान हो । समुद्री सतहबाट करिब २ हजार १३० मिटर उचाइमा रहेको यस क्षेत्रलाई खेलकुदसँगै पर्यटन विकासका दृष्टिले पनि सम्भावनायुक्त मानिएको छ ।

यहाँ प्रस्तावित लालीगुराँस राष्ट्रिय क्रिकेट रंगशालालाई व्यवस्थित रूपमा विकास गर्न सकिएमा जिल्लाका खेलाडीले प्रतिस्पर्धात्मक खेल खेल्ने अवसर पाउनुका साथै बाहिरी जिल्लाबाट खेलाडी, प्रशिक्षक र दर्शकको आवागमन बढ्न सक्छ ।

यसले स्थानीय होटल तथा होमस्टे, यातायात, कृषि उत्पादन र साना व्यवसायमा समेत आर्थिक गतिविधि विस्तार गर्ने सम्भावना रहन्छ । तर यसका लागि प्रतियोगितामा मात्र सिमित नगरी नियमित खेल गतिविधि, दीर्घकालीन पूर्वाधार योजना र पर्यटन प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने हुन्छ ।

एक लाख रुपैयाँ पुरस्कारको प्रतिस्पर्धा
प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरिनेछ ।

प्रतियोगिताले स्थानीय तथा जिल्लास्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवालाई खेलकुदमा आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ ।

यसअघि पनि दिहाल्नामा लालीगुराँस कप टी–२० प्रतियोगिता आयोजना हुँदै आएको छ । तेस्रो संस्करणका रूपमा आयोजना हुन लागेको प्रतियोगिताले यस क्षेत्रको खेलकुद पहिचानलाई थप स्थापित गर्ने लक्ष्य राखेको छ ।

Related Articles

Back to top button