Bannerराष्ट्रिय

प्यूठान कारागारमा कैदी मृत फेला

प्यूठान । जिल्ला कारागार प्यूठानमा कैद भुक्तान गरिरहेका एक कैदी कारागारभित्रै झुण्डिएको अवस्थामा फेला परेका छन् ।

गौमुखी गाउँपालिका–३ घर भएका २७ वर्षीय ओमबहादुर घर्ती आइतबार दिउँसो २:३५ बजे कारागार कार्यालयको बाथरुमभित्र कपडा झुण्ड्याउने हुकमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक कौषलराज पराजुलीले जानकारी दिनुभयो ।

हाडनाता जबर्जस्ती करणी मुद्दामा १६ वर्ष कैद सजाय पाएका घर्तीले ६ वर्ष कैद भुक्तान गरिसकेको करागार श्रोतले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि कारागार कार्यालयबाट प्रहरी सहायक निरीक्षक सिताराम चौधरीको कमान्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो । टोलीले डोरी काटेर घर्तीलाई तत्काल जिल्ला अस्पताल बिजुवार प्यूठान पुर्‍याएकोमा दिउँसो ३:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानबाट प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीको नेतृत्वमा पाँच जनाको टोली खटिएको छ । मृतकका आफन्तलाई खबर गरिसकिएको र घटनाबारे थप विवरण बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर

Related Articles

Back to top button