प्यूठान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोख्रेलले वर्तमान सरकार सामाजिक सञ्जालको बलमा स्थापित भएको भन्दै यसको पतनको बाटो पनि सामाजिक सञ्जाल नै बन्न सक्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस प्यूठानले १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सम्मान तथा अन्तरक्रियाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै पोख्रेलले वर्तमान सरकारले आफ्ना आलोचक तथा विरोधीहरूलाई विभिन्न माध्यमबाट त्रसित बनाउने काम गरिरहेको आरोप लगाउनुभयो ।
उहाँले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउन खोज्नुको मुख्य कारण इनम सापकोटा पक्राउ प्रकरणसँग जोडिएको दाबी गर्नुभयो । सापकोटाको फोन प्रधानमन्त्रीका सल्लाहकार तथा सचिवालयसम्म पुर्याएर सूचना मेटाउने प्रयास भएको विषय बाहिर ल्याएकै कारण आईजीपीलाई हटाउन खोजिएको उहाँको भनाइ थियो ।
कांग्रेस सभापति गगनकुमार थापालाई गिरफ्तार गर्ने चर्चाका विषयमा टिप्पणी गर्दै पोख्रेलले थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रभावशाली लोकतान्त्रिक पार्टीका सभापति भएकाले उहाँलाई कसैले छुन नसक्ने दाबी गर्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य निमा गिरीले इनम सापकोटाको बयान भन्दै सार्वजनिक भएको अडियो प्रधानमन्त्रीको सचिवालयले पहिले नै रेकर्ड गरेको दाबी गर्नुभयो । अदालतमा दिइएको बयानको रेकर्ड प्रहरी र सरकारी वकिलसँग मात्रै रहने उल्लेख गर्दै उहाँले त्यसरी अडियो सार्वजनिक गर्नु सार्वजनिक सूचना सार्वजनिक गर्ने अपराध भएको टिप्पणी गर्नुभयो ।
त्यस्तै, अर्का केन्द्रीय सदस्य अमरप्रसाद भण्डारीले वर्तमान सरकारले विधि, नीति, संविधान र राजनीतिक दलहरूको मान्यतालाई बेवास्ता गरिरहेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रकाश श्रेष्ठले कांग्रेस विधि, थिति र नीतिमा चल्ने पार्टी भएको बताउनुभयो । पार्टीको आधिकारिकताका लागि कुनै बिचौलियासँग मोलमोलाइ गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट प्यूठानका तीन जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनीहरूलाई सम्मान गर्नुका साथै समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला सभापति बिष्णु कुमार गिरीले जानकारी दिनुभयो ।










