प्यूठान । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका गठबन्धनका दलहरुले पालिका स्तरमा चुनावी तालमेल गर्न थालेका छन् । जिल्ला स्तरमा तालमेल नभएपछि उनीहरुले पालिका स्तरमा तालमेल गर्न लागेका हुन् ।
सरुमारानी गाउँपालिकामा गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने सहमती भएको छ । सहमति अनुसार नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष सहित १ वडा अध्यक्ष, नेकपा माओवादी केन्द्रले गाउँपालिका उपाध्यक्ष सहित ४ वडा अध्यक्ष र नेकपा एकीकृत समाजवादीले एक वडा अध्यक्ष पाउनेछन् ।
जुन वडामा जुन दलको अध्यक्ष उम्मेदवार बनेमा सोही चुनाव चिन्हमा अरु सदस्यले उम्मेदवारी दिने गरि सहमति गरिएको विज्ञप्तीमा उल्लेख छ ।
यसैबीच, माण्डवी गाउँपालिकामा पनि गठबन्धनबीच सहमति भएको छ । उक्त सहमती बारे अहिले विहान ८ बजे पत्रकार सम्मेलन गरि जानकारी दिने कार्यक्रम रहेको छ । यसअघि स्वर्गद्धारी नगरपालिकामा पनि गठबन्धनबीच सहमति भैसकेको छ ।