प्यूठान, २९ बैशाख । भारतद्वारा नेपाली भूमि अतिक्रमण गरेको विषयमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण जनाएको छ ।
दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करिव २२ किलोमिटर सडक निर्माण गरेको घटनाप्रति महासंघले विज्ञप्ती निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दुई देशबीच सहमति र सन्धि भई सीमाको सिमाङ्कन भइसकेको अवस्थामा भारतद्वारा त्यसलाई नजरअन्दाज गरी एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु आफैंमा दुःखद् र खेदजनक कार्य हो, विज्ञप्तीमा भनिएको छ, भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नुका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल् पुग्ने खतरा बढेको महासंघको ठहर छ ।
भारतद्वारा गरिएको अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
