प्यूठान । जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर तयार गरिएको ‘जन्म ठाउँ’ बोलको मर्मस्पर्शी लोकदोहोरी गीत चर्चामा आएको छ । जन्मभूमिप्रतिको माया, स्थानीय पहिचान र जिल्लाको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई गीतमार्फत उजागर गर्ने प्रयास गरिएको छ ।
प्रविन घर्ती मगर र सरिता सुनारको स्वर रहेको गीतमा प्यार अलि खान र नारायणी खत्रीले अभिनय गरेका छन् । गीतको भिडियोमा प्यूठानका विभिन्न ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई समेटिएको छ । यसले जिल्लाको सुन्दरता, मौलिकता र पर्यटकीय सम्भावनालाई गीत–संगीतको माध्यमबाट दर्शकमाझ पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
जन्मभूमिको सम्झना र आफ्नो गाउँठाउँप्रतिको आत्मीयतालाई प्रस्तुत गर्ने गीतले स्थानीय कला, संस्कृति र पहिचानको प्रवर्द्धनमा समेत योगदान पुर्याउन सक्ने देखिन्छ । गीत तथा भिडियोले प्यूठानका पर्यटकीय गन्तव्यप्रति दर्शकको चासो बढाउनुका साथै जिल्लालाई चिनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट गीत–संगीतको पहुँच विस्तार भइरहेको समयमा स्थानीय भूगोल, संस्कृति र सम्पदालाई समेटेर निर्माण गरिने यस्ता सिर्जनाले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
‘जन्म ठाउँ’ गीतको भिडियो यहाँ हेर्नुहोस् :











