प्यूठान । प्यूठान नगरपालिका–६ माझकोट खोलिगाउँका देवेन्द्र जी.एम.ले विश्वका तीन देशको सीमाक्षेत्रमा अवस्थित ७ हजार ४६२ मिटर अग्लो माउन्ट जोङसोङ (Jongsong Peak) को सफल आरोहण गरेका छन् । हाल भारतीय सेनामा कार्यरत जी.एम.ले चुनौतीपूर्ण हिमाली यात्रामा अर्को महत्त्वपूर्ण सफलता हासिल गर्दै आफ्नो जन्मभूमि प्यूठानको पहिचानलाई अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा विस्तार गरेका हुन् ।
नेपाल, भारत र चीनको सीमाक्षेत्र नजिक कञ्चनजङ्घा हिमशृङ्खलामा अवस्थित जोङसोङ हिमाल उच्च हिमाली भूगोल, अत्यधिक चिसो, पातलो अक्सिजन र कठिन मौसमी अवस्थाका कारण चुनौतीपूर्ण मानिन्छ । यस्तो हिमालको सफल आरोहणले जी.एम.को पर्वतारोहणप्रतिको लगाव, शारीरिक क्षमता र साहसिक यात्रालाई थप उचाइ दिएको छ ।
एक दर्जनभन्दा बढी हिमाल आरोहण, दुई कीर्तिमानी संस्थाबाट सम्मानित
सानैदेखि साहसिक गतिविधि र पर्वतारोहणमा विशेष रुचि राख्ने जी.एम.ले भारतीय सेनामा कार्यरत रहँदै आफ्नो रुचिलाई निरन्तरता दिँदै आएका छन् । उनले हालसम्म भारतका एक दर्जनभन्दा बढी पर्वतहरूको सफल आरोहण गरिसकेका छन् ।
उनको पर्वतारोहण यात्रा व्यक्तिगत रुचिमा मात्रै सीमित छैन । भारतका २८ राज्यका अग्ला पर्वतहरू ३०० दिनभित्र आरोहण गर्ने महत्त्वाकांक्षी लक्ष्य पूरा गर्दै उनले कीर्तिमानी उपलब्धिसमेत हासिल गरेका छन् ।
उक्त उपलब्धिका लागि उनी वर्ल्ड बुक अफ रेकर्ड्स (World Book of Records) र इन्डिया बुक अफ रेकर्ड्स (India Book of Records) बाट सम्मानित भएका छन् ।
सीमित समयभित्र फरक–फरक भौगोलिक अवस्थाका उच्च पर्वतहरूको आरोहण गर्नु सामान्य चुनौती होइन । यसका लागि निरन्तर शारीरिक अभ्यास, यात्राको व्यवस्थापन, मौसम अनुसारको तयारी, मानसिक दृढता र उच्च आत्मविश्वास आवश्यक पर्छ । जी.एम.ले यिनै चुनौती पार गर्दै पर्वतारोहणमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् ।
अबको लक्ष्य : सगरमाथा, ल्होत्से र नुप्से
जोङसोङ हिमालको सफल आरोहणपछि जी.एम.ले आफ्नो आगामी लक्ष्य विश्वकै सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से र नुप्से हिमाललाई बनाएको उहाँले बताउनुभयो ।
आगामी वर्ष यी तीनवटै हिमाल आरोहण गर्ने योजना सहित अहिले पूर्वतयारी तथा विशेष प्रशिक्षण (प्रि–ट्रेनिङ) मा जुटिरहेको उहाँले जानकारी दिनुभयो ।





