समाजस्थानीय सरकार

धुवाङ् स्वास्थ्य चौकीमा मानसिक रोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६३ जना लाभान्वित

प्यूठान । ऐरावती गाउँपालिका–४ कैरन स्थित धुवाङ् स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क मानसिक स्वास्थ्य शिविरबाट ६३ जना लाभान्वित भएका छन् । कालिका विकास केन्द्र नेपाल र स्ट्रोम फाउण्डेसनको सहयोग तथा ऐरावती गाउँपालिकाको आयोजनामा विशेषज्ञ सेवा सहितको मानसिक स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ४७ महिला र १६ पुरुष गरी ६३ जनाले मानसिक स्वास्थ्य सम्बन्धी समस्या पहिचान, स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा लिएका हुन् ।

शिविरको उद्घाटन ऐरावती गाउँपालिका–४ का कार्यवाहक वडाध्यक्ष मिना रोकाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा नं. ५ का कार्यवाहक वडाध्यक्ष मोहन बोहोरा, प्यूठान अस्पताल बिजुवारका मानसिक रोग विशेषज्ञ डा. आभास योगी तथा ऐरावती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले मानसिक स्वास्थ्यको महत्व, मानसिक स्वास्थ्य सम्बन्धी समस्या समयमै पहिचान गर्नुपर्ने आवश्यकता तथा उपचार र परामर्श सेवामा यस्ता शिविरको भूमिकाबारे धारणा राखेका थिए ।

शिविरमा चिन्ता तथा आत्तिने समस्या (Anxiety), डिप्रेसन, माइग्रेन, अनिद्रा, सिजोफ्रेनिया, Unspecified Psychosis, मदिरा सेवन सम्बन्धी विकार, छारे रोग (Epilepsy) तथा Conversion Disorder लगायतका मानसिक तथा स्नायु प्रणाली सम्बन्धी समस्याको परीक्षण र परामर्श गरिएको थियो ।

प्यूठान अस्पताल बिजुवारका मानसिक रोग विशेषज्ञ डा. आभास योगीले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी आवश्यक उपचार तथा परामर्श प्रदान गर्नुभयो । शिविरमा सहभागीलाई निःशुल्क स्वास्थ्य परीक्षण, आवश्यक औषधि तथा परामर्श सेवा उपलब्ध गराइएको कालिका विकास केन्द्र नेपालका कार्यक्रम संयोजक विनोद पोख्रेलले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भए पनि विशेषज्ञ सेवा तथा परामर्शमा सहज पहुँच नहुँदा धेरै व्यक्ति उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।

समयमै मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान गरी उचित उपचार र परामर्श उपलब्ध गराउनुका साथै समुदायमा मानसिक स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न शिविरले योगदान पुर्‍याएको आयोजकको भनाइ छ ।

कार्यक्रम सञ्चालन धुवाङ् स्वास्थ्य चौकी कैरनका इन्चार्ज दिपक केसीले गर्नुभएको थियो ।

Related Articles

Back to top button